समयको ऐनामा संवेदनाको प्रस्ट अनुहार

डा. नवराज लम्साल ।
‘कविता जीवनको समालोचना हो ।’ प्रसिद्ध लेखक मैथ्यु आर्नल्डको यो भनाइ कविता जगत्मा निकै चर्चित छ । जीवन र जीवनकै समालोचनाको जगमा कविताले जीवनकै कुरा गर्ने हो । मनोविनोद र आनन्द पनि जीवनकै रङ हो तर जीवनको जीवनतत्व बाँच्नुसँग छ । जिउँदै मृत्यु राखेर आँखामा मान्छे कसरी जिउँछ ? यतिखेर म कवि दीर्घराज उपाध्यायको नयाँ कवितासङ्ग्रहका हरफहरूसँग छु । उनी जीवन बाँच्न कठिन भएर पनि जिजीविषा साँचेर बाँच्नका लागि संघर्षरत नागरिकका पक्षमा छन् । मृत्यु नजिक पुगेका नागरिकको चूडान्त संवेदना टपक्क टिपेर उनले जीवनसँग मात्र होइन, मृत्युसँग पनि यसरी सम्वाद गरेका छन् ।
…र
मृत्युले भन्यो, म छु नि त,
तिमीहरूको सरकार पो छैन ।
/ मृत्युले भन्यो, म छु नि त
कवि उपाध्याय निकै लामो समयदेखिका क्रियाशील पत्रकार पनि हुन् । उनको कविता लेखन पत्रकारिताभन्दा जेठो छ तर पत्रकारितामा पनि उनले जेठो पहिचान बनाएका छन् । विद्युतीय वा छापा माध्यम, सबैतिर छपक्क । उनी सतही समाचारको सियोमा तेन्द्रातुन्द्री धागो उन्दैनन् । देशभित्र र कतिपय मुद्दामाथि देशबाहिरबाट उनले गरेको रिपोर्टिङ र लेखेको फिचर आफैँ पनि कुनै कविताभन्दा कम छैन । पत्रकारिताको त्यही कथ्यबोध र कविताको संवेदनाको दोभानमा गम खाएर उनी मान्छेका कवितामा जिउँदो उभिएका छन् ।
नदीलाई साथ दिइरहने किनार
जसको छैन आफ्नो कुनै परिचय
र, छैन छुट्टै अस्तित्व
नदीको नाममा बाँचिरहने त्यो किनार
न नदीमा मिसिन पाउँछ
न बग्न पाउछ, नदीझैँ ।
/ मीठो भ्रम
समाचार लेख्दा लेख्दै कविता र कविता लेख्दा लेख्दै समाचारतिर मन विभक्त हुँदा कवि मन कस्तो हुन्छ ? यो दीर्घ र दीर्घजस्तै कविहरूको सामुहिक समस्या हो । धेरै कविलार्ई सञ्चारकर्मले छपक्क छोपेझैँ लाग्छ । दीर्घ पनि त्यसैमध्ये एक हुन् । मैले एक पटक कविहरू मोहराज शर्मा, रूपेश श्रेष्ठ र दृष्टिवाणी धिताललाई सोधेको थिएँ । उनीहरू क्रमशः एपी वान, कान्तिपुर र प्राइम टिभीका पत्रकार पनि हुन् । उनीहरू सबैले मैलाई सोधे – रेडियो नेपालको समाचार प्रमुख भएर बिहान, बेलुकी ७ बजेको समाचार पढिरहँदा तपाईँलाई कस्तो लाग्छ ? म निरुत्तर थिएँ । कैलालीमा पुगेको बेला अनौपचारिक कुराकानीमा कवि उपाध्यायलाई पनि सोधेँ । उनी मुस्कुराए मात्रै । शालीन र भद्र स्वभाव, सात्विक जीवनशैली र परोपकारी भावना, संवेदनापूर्ण हृदय र सकारात्मक चेतनाका यी तन्नेरी कवि आफैँमा एक कविता हुन् । उनी कविताजस्तै जीवन बाँचिरहेका छन् । उनको कविता साधना पच्चीस वर्षभन्दा जेठो छ । लाग्छ, उनी कवि हुनभन्दा बढी मान्छेको पीडालाई सुललित हरफमा उन्न र अक्षरमा जीवन बुन्न कवितासँग खेल्छन् ।
आमा यो शहरमा बाँदर पनि भोकै भए
हामी पनि भोकै भयौँ
बादर र हाम्रो जीवनको मूल्य
उस्तै उस्तै भयो,
न प्यास कसैले सोध्यो
न भोक कसैले सुन्यो ।
/ आमा म आउँदैछु
आजका कविताले कथ्य र शिल्प दुवैलाई नयाँ आकार दिएका छन् । कवितामा तन्नेरी उपस्थिति जति बलबान् छ, लेखन पनि त्यत्तिकै सशक्त छ । आजका कविता सुन्दरीको शोभा, सौन्दर्य, वैँस र वसन्तसँग मात्र होइन, मान्छेको जीवनसँग नजिकै हुन खोज्छ । श्रम, श्रमिक, सीमान्तकृत नागरिक र तिनका पसिना कविताका सीमा र सामथ्र्य हुन् । फूलको थुँगा, पात र त्यहाँ बस्ने भमरासँग मात्र होइन, फूलको बोट, जरा, त्यही फूल हुर्काउने माली र माटोसँग पनि गहिरो चासो राख्छन् आजका कवि । फूल मन पराउने असल कविले माली कसरी भुल्नु ? माली मजदूर, उसको जीवन, परिवार र परिवारहरूको पनि परिवार पूर्ण देश कसरी बिर्सनु ? कवि उपाध्याय सुन्दर सुदूर पश्चिममा बसेर देशको पूर्णता छामिरहेछन् । सिंहदरबार नियालिरहेछन् र शासकहरूको कुरूप अनुहारमा अक्षरको सिस्नुपानी बर्साइरहेछन् ।
सरकारले करोडौँ खर्चेर घण्टाघर बनायो
त्यही घण्टाघर मुन्तिर
मृगौला फेल भएर
मृत्यु पर्खेर बसेको
नागरिकको उपचारका लागि
सरकारसँग बजेट थिएन ।
/ ईश्वरका नाममा बजेट चढाउनेहरू
देश भूगोलमात्र होइन, देश माटोको आकार र देखिने नक्सामात्र पनि होइन । देश देश हुन सुखी नागरिक, पहिचानको देश र देशको पहिचान चाहिन्छ । कवि उपाध्यायलाई थाहा छ, देश बलियो हुन इतिहासको ज्ञान, संस्कृतिको विरासत र पौरस्त्य दर्शनको जगमा उठेको जीवनचक्रको जग पनि बलियो हुनुपर्छ । सैपाल र अपी हिमालको फेदमा बसेर शिरमा खप्तड र आँगनमा शुक्ला फाँटा हुर्काइरहेको माटोले कसरी भुल्छ र त्यहाँ आमा, हजूर आमाले गाएको मागल, घरघरको स्वस्तीवाचन र समवेत स्वरमा देउराली घन्कने लोकजीवनका अवयव ? उनलाई वन चाहिन्छ, वनेली चाहिन्छ, संस्कृतिको सुवासमा प्रसारित भइरहेको नेपालीपन चहिन्छ । आज संसारले झेलेको विश्वव्यापी उष्णता, पग्लँदो हिमाल र फडानीमा परेको जङ्गलको घाउ उनको छातीमा छ । कोरोना कालमा सार्थक पत्रकारिता गरेर नागरिकको जीवन बचाउन अहोरात्र क्रियाशील यी पत्रकारलाई पत्रकार मात्रै भन्नु पनि अन्याय हो र आगैसँग जस्तो तिनै कथ्यहरूसँग खेल्ने यी कविलाई कवि मात्रै भन्नु पनि अन्याय हो । उनी आफैँ दुनियाँको न्यायका खातिर चिन्तित छन्, कवि भएर पत्रकार भएर । उनको चिन्ता प्रकृति र संस्कृतिको फेरिँदो रूपमाथि पनि उत्तिकै सशक्त छ ।
छोडिसक्यो, कागले सन्देश ल्याउन
बास्न छोडिसके भालेहरू
क्वैलीले भन्न छोड्यो, को हो, को हो
ओहो ! मेरो पहाड ।
/ तिमी कहिले फर्कन्छौँ ?
मूलतः आमा र आमाहरूको आँसु देखेर नेपाल आमासमक्ष एउटा कविले गरेको काव्यात्मक निवदेन हो यो सङ्ग्रह । कविताहरू विद्रोहजस्ता तर विनम्र, सीमाहीन भावनाजस्ता तर सम्हालिएका, गालीजस्ता तर तर्कपूर्ण, सरलजस्ता तर सुगठित, वर्णनजस्ता तर सम्प्रेष्य छन् । उनको लेखनको मूल विशेषता यही हो । उनको कत्थ्य र शिल्पमा नयाँपन छ ।
लामो समयदेखि साहित्य र कवितामा जम्दै आएका दीर्घको सुदीर्घ छातीभित्र धसिएको गहिरो अनुभूति अक्षरमा सर्लक्क कुँदिएको छ । समाजको काखमा बसेर उनी सम्पूर्ण समाज, समय र संवेदना बुनिरहेछन् र मैथ्यु आर्नल्डले कविताका लागि भनेझैँ समाजको समालोचना गरिरहेछन् । उनी यही समय र समाजका संवेदनशील कवि हुन् । लाग्छ, उनको उज्यालो परिचयलाई अब कुनै वादलले छेक्ने छैन ।