कैलालीका टेकेन्द्रले फलाए १५ लाखको केरा

द एभरेष्ट पोष्ट
१३ साउन २०८२ १४:५३
कैलालीका टेकेन्द्रले फलाए १५ लाखको केरा

कैलाली -पछिल्लो समय नगदेबालीबाट मनग्गे आमदानी गर्न सकिन्छ भन्ने कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले प्रमाणित गरेका छन् । उनले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बेचे। ‘‘समयमै उत्पादन हुँदा ४७ लाखको केरा बेचें, फुटकर बेचेको हिसाब राखेको छैन’’, उनले भने, ‘‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा १५ लाख रूपैयाँसम्म कमाएको छु।’’

धामीले १९ बिघामा केरा खेती गरेका छन्। यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादन गर्दै छन्।

१४ वर्षदेखि केरा खेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै छन्। यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ। आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’’, उनले भने, ‘‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न किनिदिने गरेको छ।’’

धामीले केरा खेतीमा बहुबाली खेती गर्दै छन्। ‘‘केराभित्र तोरीखेती गरेर २४ कुइन्टल फल्यो, अहिले केराबारीमा सुर्खानी लटरम्म फलेको छ’’, उनले भने, ‘‘कामदार अभावमा टिप्न सकेको छैन। केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ।’’

धामीसँग नियमित १२ कामदारले रोजगार पाएका छन्। त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ। ‘‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरू बालीमा छैन’’, उनी भन्छन्, ‘‘बाली बिमामा समस्या छ। तोकिएका कम्पनी बिमा गर्न मान्दैनन्। बिमा गरेका किसानले क्षतिपूर्ति पाएका छैनन्। अहिले मैले चाहेर ५० लाखको मात्र बिमा गरेको छु। निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ। बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ।’’

अहिले कैलालीका किसानले बारीमा ४० देखि ४५ मा केरा बेच्दै छन् तर बजारमा ८० रूपैयाँ बढीमा बिक्री हुन्छ। केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन्। मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस