आन्तरिक राजस्व कार्यालय डडेल्धुराले गर्‍यो कर संकलनमा वृद्धि

द एभरेष्ट पोष्ट
१२ साउन २०८२ १४:१४
आन्तरिक राजस्व कार्यालय डडेल्धुराले गर्‍यो कर संकलनमा वृद्धि

डडेलधुरा : डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्लाको कर संकलन गर्ने आन्तरिक राजस्व कार्यालय डडेलधुराले अघिल्लो आर्थिक वर्षको तुलनामा कर संकलनमा वृद्धि भएको जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत रोशन झाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा कुल १३ दशमलव ३८ प्रतिशतले कर संकलन वृद्धि भएको हो ।

आन्तरिक राजस्व कार्यालय डडेलधुराले डडेलधुरासहित सुदूरपश्चिमका अन्य तीन जिल्लाको कर संकलन गर्दै आएको छ। सुदूरपश्चिमका चार जिल्लामा कार्यक्षेत्र रहेको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा कर संकलनमा वृद्धि गरेको हो।

कर अधिकृत झाका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले संकलन गर्ने विभिन्न कर शीर्षकहरूमा अघिल्लो वर्षको तुलनामा वृद्धि देखिएको छ। विशेषगरी ब्याज करको वृद्धि दर अत्यन्त उच्च रहेको छ। झाका अनुसार ब्याज करमा १०६ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ, जुन अन्य शीर्षकहरूको तुलनामा सबैभन्दा बढी हो।

त्यस्तै, आयकरमा पनि १३ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिले व्यक्तिगत तथा साझेदारी व्यवसायहरूबाट तिर्ने करमा सुधार आएको देखाएको छ। व्यक्तिहरूको आयस्रोत पारदर्शी हुँदै गएको र आय विवरण खुलाएर कर तिर्ने अभ्यासमा क्रमशः सुधार देखिएको उनले बताए। मूल्य अभिवृद्धि कर (भ्याट) मा १ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ, जुन अपेक्षाकृत न्यून भए पनि बजारमा भइरहेको कारोबार तथा बिक्रीमा कर प्रणालीको प्रभावकारी कार्यान्वयन भएको विश्वास गरिएको छ।

यसैगरी, बहाल करमा पनि सामान्य वृद्धि भएको छ। झाका अनुसार ० दशमलव ३५ प्रतिशतले बहाल कर बढेको छ। अन्तःशुल्कतर्फ २० दशमलव १८ प्रतिशतले वृद्धि भएको छ। यो शुल्क विशेषतः विलासिताजन्य सामग्री, मदिराजन्य वस्तु, सवारीसाधन लगायतका वस्तुमा लाग्ने भएकाले उपभोग हुने वस्तुहरूको आयात वा खरिदमा वृद्धि भएको अनुमान गर्न सकिन्छ।

कर शीर्षकहरूमा देखिएको वृद्धि कर प्रणालीप्रतिको जनचेतना, अनुगमन तथा प्राविधिक सुधारको परिणाम भएको कर अधिकृत झाको विश्वास छ। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई १ अर्ब १५ करोड ५७ लाख ८२ हजार रुपैयाँ कर संकलन गर्ने लक्ष्य दिइएको थियो। त्यसअनुसार ९४ करोड ९४ लाख २७ हजार रुपैयाँ संकलन भएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८७ करोड १ लाख २७ हजार रुपैयाँ मात्र कर संकलन भएको थियो। झाका अनुसार यसपटक ७ करोड ९३ लाख रुपैयाँले कर संकलन बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

अख्तियारको बेरुजु शून्य

१३ साउन २०८२ १५:१८

खोज्नुहोस