इजरायलले गाजामा हवाई मार्गबाट राहत सामग्री खसाल्न सुरु गर्‍यो

द एभरेष्ट पोष्ट
१२ साउन २०८२ १२:०३
इजरायलले गाजामा हवाई मार्गबाट राहत सामग्री खसाल्न सुरु गर्‍यो

काठमाडौँ, ११ साउन : इजरायली सेनाले विमानबाट गाजा पट्टीमा मानवीय सहायता सुरु गरेको छ । धेरै हप्ता देखिको अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीको समस्या पछि सेनाले यो कदम चालेको हो ।

हवाईजहाजबाट खसाइएको सहायतामा पीठो, चिनी र डिब्बाबन्द खाद्य वस्तुहरू भएका प्याकेज आदि भएको आइतबार बिहानको एक विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले भनेको छ ।

यसअघि इजरायलले संयुक्त राष्ट्रसङ्घ (युएन)का गाडीहरूको लस्करलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो । महिनौँदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरू सामूहिक भोकमरीको चपेटामा परेका छन् ।

भोकमरीका कारण केही दिनयता दिनहुँ मानिसको मृत्यु भइरहेको खबर आएको थियो । यसैबिच इजरायलले जानाजानी भोकमरी फैलाउन खोजेको आरोप अस्वीकार गरेको थियो । आफ्नो एउटा पोस्टमा आईडीएफले गाजामा मानवीय सहायता सुधार गर्न नयाँ कदम चाल्ने बारेमा जानकारी दिएको थियो ।

‘खाद्य वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको हो । त्यसकारण संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूले सहायता वितरणमा सुधार गर्ने र सहायता हमाससम्म नपुगोस् भन्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ’ पोस्टमा भनिएको छ ।

यसलाई किन अपर्याप्त भनियो ?

सहायता एजेन्सीहरूले इजरायलले गाजामा राहत सामग्री हवाईजहाज मार्फत खसाल्नुलाई ध्यान भड्काउन यसो गरेको आरोप लगाएका छन् । यसले गाजामा बढ्दो भोकमरी सङ्कटलाई समाधान गर्न नसक्ने एजेन्सीहरूले बताएका छन् ।

राहत सामग्री हवाईजहाज मार्फत खसाल्दा कहिल्यै पनि आवश्यक मात्रा वा गुणस्तरीय सहायता प्रदान गर्न नसकिने अन्तर्राष्ट्रिय उद्धार समितिका किरोन डोनेलीले भने । संयुक्त अरब इमिरेट्स (युएई) र जोर्डनले आगामी दिनहरूमा आफूले गाजा पठाउन खोजेको सहायता हवाईमार्फत खसाल्ने अपेक्षा गरिएको बताएका छन् ।

हजारभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र मानव अधिकार समूहहरूले गाजामा ठुलो मात्रामा अनिकालको चेतावनी दिएका छन् । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शनिबार कुपोषणका कारण थप पाँच जनाको मृत्यु भएको बताएको छ ।

युद्ध सुरु भएयता खान नपाएर गाजामा मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसमा ८५ बालबालिका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस