इजरायली हवाई आक्रमणमा २१ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । मङ्गलबार राति र बुधबार बिहान गाजा पट्टीको देइर अल–बलाह क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परेर २१ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । प्यालेस्टाइनको यस क्षेत्रको अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेको छ ।
इजरायलको नाकाबन्दी र लामो समयदेखिको सैन्य कारबाहीका कारण करिब २० लाख जनसङ्ख्या भएको गाजाले भोकमरीको सामना गरिरहेको छ । राहत सामग्री वितरणको क्रममा हिंसा पनि बढेको छ ।
मङ्गलबार राति पहिलो आक्रमण गाजा शहरको उत्तर–पश्चिम क्षेत्रमा रहेको एक घरमा भएको थियो । शिफा अस्पतालका अनुसार यसमा ६ बालबालिका र दुई महिलासहित १२ जनाको मृत्यु भएको छ ।
दोस्रो आक्रमण उत्तरी गाजाको ताल अल–हवा क्षेत्रको एक अपार्टमेन्टमा भएको थियो, जसमा छ जनाको मृत्यु भएको थियो । मृतकहरूमा एक गर्भवती महिलासहित तीन बालबालिका र दुई महिला थिए । यस आक्रमणमा आठ जना घाइते भएका थिए ।
तेस्रो आक्रमण गाजा शहरको नासेर क्षेत्रमा रहेको पालमा भएको थियो, जसमा तीन बालबालिकाले ज्यान गुमाए । इजरायली सेनाले यी आक्रमणहरूबारे कुनै टिप्पणी गरेको छैन ।
मे महिनादेखि गाजामा खाना लिन खोज्दा एक हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले मङ्गलवार भनेको थियो । धेरैजसो मृत्यु अमेरिकी समर्थित राहत वितरण केन्द्रहरू नजिकै भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यस युद्धमा अहिलेसम्म ५९ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको मन्त्रालयले बताएको छ ।
यो मन्त्रालय हमास प्रशासनको हिस्सा हो, तर यसमा काम गर्ने कर्मचारीहरू पेशेवर डाक्टर र स्वास्थ्यकर्मी हुन् । संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूले यसको मृत्युको तथ्याङ्कलाई सबैभन्दा भरपर्दो मान्छन् ।