बेलायतकी पूर्वसांसदले खुलाइन् १० वर्षसम्म शोषणमा परेको कुरा

एजेन्सी : बेलायतकी पूर्वसांसद केट निभेटनले आफ्ना पूर्व पति तथा पूर्वसांसद एन्ड्रयु ग्रिफिथ्समाथि १० वर्षसम्म यौन शोषण र घरेलु हिंसा गरेको गम्भीर आरोप लगाएकी छन्। बेलायती टिभी च्यानल आईटिभी१मा प्रसारित वृत्तचित्र ‘ब्रेकिङ द साइलेन्स : केटको स्टोरी’ मा उनले आफ्नो वैवाहिक जीवनमा भोगेका भयानक अनुभवहरू खुलासा गरेकी हुन्।
केटले वृत्तचित्रमा बताएअनुसार ग्रिफिथ्सले उनलाई सुतिरहेको बेला बारम्बार बलात्कार गरेका थिए। भावुक हुँदै उनले भनेकी छन्, म सुतिरहेको बेला उसले मसँग जबरजस्ती यौनसम्पर्क गर्थ्यो। कहिलेकाहीँ म सहन्थें, तर कहिलेकाहीँ म रुन्थें। त्यसपछि रिसाएर उसले मलाई ओछ्यानबाट लात हानेर निकाल्थ्यो। म रुन्थें, डराउँथें, तर उसले भन्थ्यो–कसैले तिमीलाई विश्वास गर्दैन, म सांसद हुँ, प्रहरी पनि मसँग छ।’
केट र ग्रिफिथ्सको विवाह सन् २०१३ मा भएको थियो। तर ५ वर्षपछि सन् २०१८ मा उनीहरू अलग भएका थिए। केटले एक हृदयविदारक घटनाको उल्लेख पनि गरेकी छिन्। उनकी दुई हप्ताकी छोरी रोइरहेकी थिइन्, ग्रिफिथ्सले संसद जान तयारी गर्दै बच्चालाई ‘चुप लाग, हरामी’ भन्दै कराएका थिए। यो घटनाले उनको मनमा गहिरो चोट पुगेको उनले बताएकी छन्।
केटले समाजमा रहेको गलत धारणालाई चुनौती दिँदै भनेकी छिन्, ‘मानिसहरू सोच्छन् कि घरेलु हिंसा केवल गरिब वर्गमा हुन्छ, तर यो जोसुकैलाई हुन सक्छ। मध्यम वर्गका मानिसहरूमा पनि यस्ता घटना हुन्छन्।’ सन् २०२१ मा बेलायतको पारिवारिक अदालतले ग्रिफिथ्सले केटमाथि बलात्कार र बारम्बार शारीरिक हिंसा गरेको ठहर गरेको थियो।
अदालतले ग्रिफिथ्सले केटलाई मानसिक यातना दिएको कुरा पनि स्वीकार गरेको छ। तर केटले अलग भएपछि पनि ग्रिफिथ्सले कानुनी प्रणालीको दुरुपयोग गर्दै उनलाई ५ वर्षसम्म सताइरहेको बताएकी छिन्। उनले भनेकी छन्, ‘हजारौं महिलाहरूले यस्तै पीडा भोग्छन्। तर अदालतले पनि उनीहरूलाई पूर्ण सुरक्षा दिन सक्दैन।’
आईटिभी१ र आईटिभीएक्स मा प्रसारित ‘ब्रेकिङ द साइलेन्स : केटको स्टोरी’ ले केटको व्यक्तिगत कथामात्र होइन, बेलायतका पारिवारिक अदालतहरूले हरेक वर्ष ३० हजारभन्दा बढी घरेलु हिंसाका मुद्दाहरूमा गर्ने कमजोर निर्णयहरूलाई पनि बाहिर ल्याएको छ।