कैदी मृत्यु प्रकरणका आरोपीत सई पुर्पक्षका लागि कारागार चलान

धनगढीः जिल्ला कारागार, कैलालीमा कैदको मृत्यु प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए।
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको २ असारमा मृत्यु भएको थियो। राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
डडेल्धुराबाट जेठ २९ गते पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते शनिवार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो। अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो।
पाली प्रतिवादी रहेको मुद्दामा पुर्पक्षमा पठाइएका नाथ वादी रहेका थिए। पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र श्रीमानको कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।
सोही किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको हो। त्यसअघि नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो।