नेपाली महिला फुटबल टीम आज बंगलादेशसँग भिँड्दै

काठमाडौं– नेपाली महिला फुटबल टीमले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि सोमवार बंगलादेशसँग भिँडन लागेका हो ।
यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६ः४५ बजेदेखि प्रारम्भ हुँदैछ ।
हालसम्म बंगलादेशले सबै पाँच खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले चार जीत तथा एक हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बाध्य भएको थियो ।
यद्यपि, राउण्ड रोविन लीगको अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ । किनभने, अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले तीन अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनु अनिवार्य छ । त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ । त्यसमा पनि, यस्तोमा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ ।
हालसम्म पाँच खेलमा नेपालले कुल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ । दुवै टीमले समान ४ गोल खाएका छन् । नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो ।
अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोल अन्तरमा पनि उ एक गोलले अघि रहेको छ । तर, आज जित्नै पर्ने दवावका बीच नेपाली महिला फुटबलर मैदानमा उत्रदैँछन् ।