युवा पलायन रोक्न प्रविधिमैत्री र रोजगारमुखी शिक्षा आवश्यक : सांसद राई

द एभरेष्ट पोष्ट
५ साउन २०८२ १३:२७
युवा पलायन रोक्न प्रविधिमैत्री र रोजगारमुखी शिक्षा आवश्यक : सांसद राई

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद माया राईले नेपालमा बढ्दो युवा पलायन रोक्न शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएकी छन्।

रासससँगको कुराकानी उनले मुलुकमा पर्याप्त मात्रामा रोजगारीको अवसर नहुँदा युवा विदेशिन बाध्य भएको बताइन्। ‘अहिले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सहर पस्नेको संख्या बढ्दो छ,त्यसपछि सहर हुँदै विदेश जाने क्रम तीव्र हुँदै गएको छ,’ सांसद राईले भनिन्,‘यसलाई रोक्न शिक्षा प्रणाली प्रविधिमैत्री,व्यावहारिक र रोजगारमुखी बनाउनु आवश्यक छ।’

सांसद राईले सरकारी विद्यालयप्रति आम जनताको विश्वास घटिरहेको बताइन्। उनले भनिन्,‘राजनीतिक दलका नेताका छोराछोरी निजी विद्यालयमा पढ्छन्,सरकारी विद्यालयमा सर्वसाधारणका मात्रै सन्तान छन्। यति मात्रै होइन,सरकारी विद्यालयका शिक्षकहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमै पठाइरहेका छन्।’

उनले शिक्षकमै राजनीतिक पार्टीको सक्रिय सदस्यता लिएर काम गरिरहेको अवस्थालाई पनि आपत्तिजनक भन्दै यसले शिक्षा क्षेत्रमा गम्भीर असर परेको बताइन्। ‘शिक्षक राजनीतिमा संलग्न हुनु अब अन्त्य हुनुपर्छ,’ उनले भनिन्,‘सरकारले शिक्षामा सुधार ल्याई रोजगारी सिर्जना गर्ने नीतिमा जोड दिनुपर्छ। रोजगारी नभएसम्म विदेशिने बाध्यता हट्दैन।’

रोजगारीको अवसर सिर्जना गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकमै उत्पादनशील उद्योग तथा व्यवसायमा लगानी बढाउनुपर्ने उनको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस