समाचार लेखेकाे विषयमा मेयरबाट धम्की खेपेका पत्रकार झुन्डिएको अवस्थामा मृत फेला

द एभरेष्ट पोष्ट
५ साउन २०८२ १२:०९
समाचार लेखेकाे विषयमा मेयरबाट धम्की खेपेका पत्रकार झुन्डिएको अवस्थामा मृत फेला

काठ्माण्डौँ- रौतहटका पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

कटहरिया नगरपालिका- ५ का ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूले तत्कालै नजिकैको स्वास्थ्य चौकी हुँदै गरुडास्थित ग्राण्डी अस्पताल पुर्‍याएका थिए । तर, उपचारका क्रममा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।

प्रजापति कटहरिया म्युजिकल एफएममा पत्रकारका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार उनी केही दिनदेखि पारिवारिक तनावमा थिए । साथै जेठको अन्तिम सातामा समाचार सम्प्रेषणको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

पारिवारिक समस्या र धम्कीका कारण मानसिक दबाबमा परेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

सुक्न थाल्यो रोपो

४ साउन २०८२ ११:३२

खोज्नुहोस