अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा ११ वटा विधामा पुरस्कार घोषणा

द एभरेष्ट पोष्ट
५ साउन २०८२ ७:१९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा ११ वटा विधामा पुरस्कार घोषणा

मेरिल्याण्ड(अमेरिका), ३ साउन ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले (अनेसास) ११ वटा विधामा पुरस्कार घोषणा गरेको छ । अनेसासका तर्फबाट शनिवार हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरिएको हो । कूल ११ हजार छ सय डलर राशीका ११ वटा पुरस्कारका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

शनिवार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक एवं विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नामावली घोषणा गरे ।

दुई हजार एक सय डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको सन्त्रासका साठी दिन उपन्यासले प्राप्त गरेको छ ।

अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गरे ।

एक हजार डलर राशीको अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्गमय पुरस्कार डा. तुलसी आचार्यको स्वप्न भूमि उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बाँकी नै छन् लाई प्रदान गरिने भएको छ ।

त्यसैगरी साँस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा. दुर्गाबहादुर घर्तीको साँस्कृतिक अध्ययन,अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा) जगन्नाथ पौडेलको बग्दा बग्दै कविता संग्रह,अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभास, अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्वधुन, अनेसास नारायण पाण्डे उत्कृष्ट कथा पुरस्कार अखण्ड भण्डारीको उपन्यास वोरालाई प्रदान गरिने छ ।

यसैगरी अनेसास लक्ष्मण सत्याल गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत वाल साहित्य पुरस्कार वाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिका संयोजक तीर्थराज पाण्डेयले घोषणा गरिएका पुरस्कार आगामी लक्ष्मी जयन्तीमा प्रदान गरिने जानकारी दिए ।

शनिवार आयोजित अनेसासको वार्षिक साधारण सभा तथा भानु जयन्तीमा पुरस्कारहरु घोषणा गरिएको हो ।

साधारण सभामा विओटीका महासचिव प्रकाश नेपालले भवन खरीदलगायतका विषयमा, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाले वार्षिक प्रतिवेदन, विओटीका कोषाध्यक्ष नेत्रवन्धु पोख्रेलले प्रस्तुत गरेको विओटीको खर्च तथा आम्दानी प्रतिवेदन प्रतिवेदन पारित भयो ।

कार्यक्रममा अध्यक्ष सर्वज्ञ वाग्ले, विओटीका अध्यक्ष पदम विश्वकर्मा, पूर्व अध्यक्ष गोवद्र्धन पूजा, पूर्व विओटीका अध्यक्ष डा. श्याम कार्की, रोहिणी शर्मा, तीर्थराज अधिकारी, गीता खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस