अमेरिकामा डाटा साईन्समा नेपाली युवाको छलाङ

हिन्दी फिल्म ‘ओमशान्ति ओम’ मा शाहरुख खानको चर्चित डायलग छ, –“अगर तुम दिल से चाहो तो पूरी कायनात तुम्हें उससे मिलाने की कोशिश में लग जाती है ।
यो भनाई विश्व प्रसिद्ध उपन्यासकार पाउलो कोएल्होको चर्चित उपन्यास द अल्केमिष्टको ‘ह्वेन यु वान्ट समथिङ्ग, अल द युनिभर्स कन्स्पाईर्स ईन हेल्पिङ यु एचिभ ईट’ को अनुवादित अंश थियो । जसलाई चर्चित बनाए, शाहरुखले ।
‘यदि तिमीले मनबाट केही चाह्यौ भने सारा ब्रह्माण्ड तिमीलाई त्यो दिलाउने प्रयत्नमा लाग्दछ ।’ के साँच्चै होला त ? उनी सोच्थे ।
मनमा थियो, ईञ्जिनियर बन्ने सपना । मुटुमा गढ्यो, शाहरुखको डायलग ।
उनी संसारको भर भने परेनन् । हो, उनले सपना मात्र पछ्याएनन् । मिहिनेत गरे । र त, सपनाले उनलाई पछ्यायो । पुरा गरी छाडे, चिताएको कुरा । ती भाग्यमानी हुन्, धर्मराज उपाध्याय ।
२०४२ साल चैत २९ गते बझाङको चैनपुर नगरपालिका–७ सुत्यामा जन्मिएका उनी नन्दलाल र धनादेवीका दोस्रो सन्तान थिए । उनीभन्दा पहिले जन्मिएका सन्तानको न्वारान नहुदै मृत्यु भयो । त्यसपछि उनी जन्मिए । उनीपछि तीन भाई, एक बहिनी ।
बुवाले स्कुल देख्न पाएनन । यद्दपि पढ्न नपाएका बुवामा सन्तान पढाउनु पर्छ भन्ने चेत थियो । बुवाको त्यही चेतले उनी विद्यालय जान पाए । गाउँकै स्कुलमा कखरा सिके । डिलबगरको विद्यालयमा एक देखि चार कक्षासम्म पढे । बाढीले विद्यालय बगायो । उनी पाँच कक्षामा सुवेडाको सुनी पिपलचौर माविमा भर्ना भए । सुत्याबाट विद्यालय ओहोर दोहोरमै दैनिक चार घण्टा लाग्थ्यो । सेती नदीमाथिको झोलुंगे पुल थियो । त्यही पार गरेर उनी स्कुल जान्थे ।
२०५७ साल जेठ महिनामा ८ कक्षाको परीक्षा चल्दै थियो । सेती नदीमा उर्लिएको बाढीले झोलुंगे पुल बगायो । गणित विषयको परीक्षा रोकियो । रोकिएको परीक्षा चैनपुरस्थित बालमन्दिरमा दिए । झोलुंगे पुल बगाएपछि विद्यालय जान सकस भयो । बुवाले उनको पढाई प्रभावित हुन दिएनन् । उनलाई खप्तड हुदै दुई दिन पैदल हिडेर सिलगढी पु¥याए । र चढाए, सिलगढी नाचन्थलीबाट धनगढी जाने बसमा । उनलाई एकजना आफन्तको जिम्मा लगाएर बुवा बझाङ फर्किए । उनी धनगढी पुगे ।
उनी ९ कक्षामा धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालय भर्ना भए । छेउमै थियो, ठूलो बुवाको घर । त्यही बसेर २०५८ सालमा एसएलसी पास गरे ।
प्लस टुमा कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहीबाट प्लस टु र स्नातक सके । र, सिद्धनाथ विज्ञान क्याम्पसबाट एमएस्सीको पढाई पुरा गरे ।
विहान क्याम्पस पढ्थे । दिउँसो निजी विद्यालयमा पढाउथे । एसएलसीपछि सिद्धार्थ बोर्डिङ स्कुल जुगेडामा पढाउन थाले । तलब थियो, सात सय ७५ रुपैया । उनी क्याम्पसबाट सोझै विद्यालय जान्थे । साईकलमा ४५ मिनेट लाग्थ्यो । स्नातक पढ्न थालेपछि त्यहाँको जागीर छोडे । स्टोन ब्रिज ईंगलिस स्कुलमा पढाउन थाले । तलव बढेर पाँच हजार पाँच सय रुपैया पुग्यो । डेढ वर्षपछि पुगे, डडेल्धुरा । तुफानडाँडास्थित ज्ञानोदय बोर्डिङ स्कुलमा गणित पढाउन थाले । अनुभवले खारिदै गए । पारिश्रमिक बढ्दै गयो । त्यहाँ उनको तलव नौ हजार पाँच सय रुपैया पुग्यो । क्याम्पस नगएरै स्नातकको परीक्षा दिए । पास भए । सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातकोत्तरमा भर्ना भए । डडेल्धुरा छोडे ।
२०१० मा स्टेपिङ स्टोन ईंगलिस स्कुमा पढाउन थाले । केही समय क्रिसेण्ट कलेजमा पढाए । प्राईभेटबाट स्नातकोत्तरको परीक्षा दिए । २०१३ मा स्नातकोत्तरको पढाई पुरा गरे । डीभी परेपछि जागीर छोडे । उनको तलव थियो, १२ हजार पाँच सय रुपैया ।
२०१२ मा उनलाई डिभी प¥यो । सेप्टेम्बर २०१३ मा अमेरिका पुगे । गन्तव्य थियो, बोष्टन । बोस्टन पुगे । जहाँ थियो, ठूलो बुवाको परिवार । उनले सेभेन ईलेभनको स्टोरमा काम पाए । पद, सेल्स म्यान । प्रतिघण्टाको पारिश्रमिक १२ डलर ।
कोजेन डेटा सोलुसन कन्ट्रयाक्ट कम्पनीको अफरपछि करारमा जागीर खान शिकागो गए ।शिकागोमै रहदा उनले जर्जियामा कक्स कम्युनिकेशनमा करारमा जागीर पाए । त्यहाँबाट उनी बोष्टन गए । १४ फेब्रुअरी जर्जिया उडे । उनका साथमा थियो, एउटा क्रेडिट कार्ड । जसमा ८० डलर थियो । र थियो, श्रीमतीले दिएको २५० डलर ।
जर्जियामा बस्ने कहाँ ? ठेगान थिएन । सबै बन्द भएपनि अमेरिकामा वालमार्ट बन्द हुदैन । कही बास नमिले वालमार्टमा रात बिताउने सोचेका थिए । यद्दपि बोष्टन छोड्नु अघि जर्जियामा भाडाका लागि एउटा घरमा रिक्वेष्ट गरेका थिए ।
जर्जियाका लागि जहाजमा चढ्दै गर्दा उनले मनमनै सोचे, नेपालीको घरमा कोठा मिलोस । दुई हप्तासम्म खाना । दुई हप्तामा सबै चुक्ता गर्नेछु ।
विमानस्थलमा झरे । संयोगले उनलाई त्यही बेला कल आयो । कल गर्ने महिला थिईन ।
तपाईलाई कोठा चाहिएको छ ? महिलाले सोधिन ।
छ,–उनले भने ।
अहिले कहाँ हुनुहुन्छ ? महिलाले अर्को प्रश्न गरिन् ।
प्रत्युत्तरमा उनले भने, बिमानस्थलमा ।
केही मिनेटको कुराकानीमा महिला भाडामा कोठा दिन मात्र सहमत भईनन् । आफ्नो श्रीमानलाई बिमानस्थलमा लिन पठाउने बताईन । कहाँ बस्ने ? अन्यौल थियो । कोठा मिल्ने भयो । ढुक्क भए । सम्पर्कको माध्यम मोवाईल थियो । त्यही अफ भयो । एक स्टोरमा चार्ज गरे । एकछिनपछि महिलाले पुनः कल गरिन । व्यस्तताका कारण श्रीमान आउने नसक्ने सुनाईन । र, एक जना भाईलाई पठाईन । राति ११ बजे उनी बिमानस्थलबाट बाहिर निस्के ।
उनी भोकै थिए । खाना पकाएर घरबेटी पर्खिरहेका थिए । खाना खाए । उनले आफूसंग पैसा नभएको सुनाए । र गरे, दुई हप्तामा कमाएर भाडा तिर्ने प्रतिबद्धता ।
दोस्रो दिन अफिस जानु पर्ने । ४५ मिनेटको बाटो । न गाडी । न खल्तीमा व्यालेन्स । बस चढेर अफिस पुगे । काममा खटिए । सबै खाजा खान गए । उनी भोकै ।
दोस्रो दिन एक जना साथी बनाए । जसले खाजा खुवाए । तेस्रो दिन अर्कै साथीले । यसरी १५ दिन बिते । उनी मिहिनेती थिए । ईमान्दार पनि । जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्थे । उनी पार्ट टाईम जागीरे थिए । हप्तादिनमै फुल टाईमर भए । एक वर्षको करार थियो ।
चार महिनासम्म उनी कसैको सम्पर्कमा रहेनन । यतिसम्म कि बोष्टनमा बस्ने श्रीमती निलमको समेत सम्पर्कमा पनि थिएनन् । चार महिनापछि उनकी श्रीमतीले साथी मार्फत उनलाई सम्पर्क गरिन् । साथीले उनी सकुशल रहेको जानकारी दिए । र, काममा व्यस्त भएकोले शंका नगर्न आग्रह गरे ।
चौथो महिनापछि उनी जर्जियाबाट डेनभर कोलोराडो गए । शुरु गरे, ट्राभल पोर्टको जागीर । त्यहाँ उनले तीन महिना काम गरे । लिड डेटा ईञ्जिनियर एण्ड आर्किटेक्ट ईञ्जिनियरका रुपमा २०१५ सेप्टेम्बरसम्म त्यहाँ काम गरे ।
२०१५ को अन्त्यमा सिटी अफ होप मेडिकल सेन्टरबाट अफर आएपछि उनी क्यालिफोर्निया पुगे । जो संसारकै ठूलोमध्येको एक क्यान्सर सेन्टर हो । काम गरेको नौ महिनामा सात पटक उनको पदोन्नती भयो । म्यानेजर भए । त्यसपछि डाईरेक्टर अफ डेटा म्यानेजमेण्ट अफ एनालिटिक्स । डेटा मेनेजमेण्टको सम्पूर्ण जिम्मेवारी उनले पाएका थिए ।
प्रतिघण्टा १२ डलरबाट शुरु भएको जागीरे जीवनको शुरुवात । उनी मासिक १५ हजार डलर बुझ्न थालिसकेका थिए । अनुभवले खारिदै गए । पदसंगै उनको सेवा सुविधा थपिदै गयो ।
सेप्टेम्बर २०१९ मा ह्याकनस्याक मेरिडियन हेल्थको अफरमा उनी न्यूजर्सी पुगे । उनले त्यहाँ डाईरेक्टर अफ डेटा म्यानेजमेण्ट अफ एनालिटिक्सको नियुक्ति पाए । उनी २३ वटा अस्पतालको डाटा रणनीति बनाउथे । सम्पूर्ण डाटाको व्यवस्थापन र विश्लेषण गर्थे । झण्डै २५ मिलियन भन्दा बढिको प्रोजेक्ट उनले लिड गर्थे ।
त्यहाँ मार्च २०२२ सम्म काम गरे । त्यसपछि २०२२ मा युनाईटेड हेल्थ गु्रपमा जोडिए । यो अमेरिकाको ठूलो मध्येको एक हेल्थ केयर कम्पनी मात्र होईन, बीमा कम्पनी पनि हो । विश्वकै पाँचौ धनी हेल्थ ग्रुपका रुपमा रहेको युनाईटेड हेल्थ ग्रुपमा उनले डाईरेक्टर अफ डेटा म्यानेजमेण्ट अफ एनालिटिक्सको भूमिकामा दुई वर्ष काम गरे ।
त्यहाँ ३० मिलियन डलरको प्रोजेक्टको नेतृत्व गर्ने मौका पाएका उनले कम्पनीको १० मिलियन डलर जोगाए । साथै नयाँ प्रोसेसको आविष्कार समेत गरे । जहाँ उनको मातहतमा १०० भन्दा बढि कर्मचारी काम गर्थे ।
जुन २०२४ मा उनी संघीय सरकार अन्तर्गत रहेको मेरिल्याण्डको सिल्भर स्प्रिङस्थित फुड एण्ड ड्रग एडमिनिष्ट्रेसनमा जोडिए । जहाँ उनले आईटी विशेषज्ञ तथा डाईरेक्टरको जिम्मेवारी पाए । अमेरिकामा उनी यो तहमा काम गर्ने संभवत एक्लो नेपाली हुन् । फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन अन्तर्गत ८० हजार कर्मचारी कार्यरत छन् । उनको मातहतमा म्यानेजर र डेभोलपरहरु छन् ।
ईलेक्ट्रोनिक मेडिकल रेकर्डस्(ईएमआर) सिष्टममा उनको दख्खल छ । ईएमआरको नयाँ एप्लिकेशन बनाए । कतिपय एप्लिकेशनको आधुनिकिकरण समेत गरे ।
भनिदैछ, अवको युग आर्टिफिसियसल ईन्टिलिजेन्स (एआई) हो । डाटा साईन्स विना एआईको अस्तित्व नै छैन्, उनी भन्छन्, एआई नै डाटा साईन्समा निर्भर छ । जसको फाउण्डेसन डाटा साईन्स हो ।
डाटा साईन्समा उनी र उनी जस्ता युवाहरुले गरेको अध्ययन, खोज र आविष्कारले एआईको आधार निर्माण गरेको हो । डाटाको सुरक्षा, आधुनिकिकरण, स्टोरेज र उत्कृष्ट भर्सनको खोज तथा अनुसन्धान जारी छ । र त, कार्यालय समयपछि पनि त्यसैमा घोत्लिरहन्छन् ।
……….
कतिपयले भन्छन्, काममा यति व्यस्त भए कि पढाईलाई निरन्तरता दिन पाएन । उनी अपवाद थिए । जागीरसंगै एमबीए र पीएचडीसंगै गरे । त्यो पनि एकै वर्ष ।
कोलोराडोको डेनभरस्थित अमेरिकन एकेडेमी अफ प्रोजेक्ट म्यानेजमेण्टबाट प्रोजेक्ट म्यानेजमेण्टमा मास्टर्स गरे । युनिभर्सिटी अफ फिनिक्सबाट कम्युटर साईन्स र ईनफरमेशन टेक्नोलोजीमा मास्टर्स गरे ।
उनले २०२२ मा एसपोर्ड युनिभर्सिटी एरोजेनाबाट बिजनस एडमिनिष्टे«सनमा एमबीए गरे । र, २०२४ मा युनिभर्सिटी अफ कुम्बरल्याण्ड केन्टुकीबाट डेटा साईन्स एण्ड एडभान्स एनालिटिक्स ईन मोडर्न हेल्थ केयर सिष्टममा पीएचडी सके ।
उनीसंग संसारका ख्यातिप्राप्त विश्वविद्यालयहरु हार्वर्ड र स्ट्यानफोर्डको सर्टिफिकेट छ । साथै अमेरिकाको सबैभन्दा ठूलो हेल्थ केयर ग्रुपमा काम गरेको अनुभव पनि । तिनै सर्टिफिकेट र अनुभवले उनलाई संघीय सरकार अन्तर्गत रहेको हेल्थ ग्रुपको उच्च ओहोदामा पु¥यायो । उनले सरकारको हेल्थको डाटा सिष्टम मात्र हेर्दैनन । उनले स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण सफ्टवेयर डेभलप गर्छन् । ईएमआर सिष्टमलाई एडभान्स बनाए । डाटाको सुरक्षा र आधुनिकिरणका लागि नयाँ फिचरहरु थपे । रिभ्यु र एप्रुभल प्रोसेसलाई सहज बनाए ।
डाटाको सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । ह्याकरहरु सिष्टमभित्रै छिरेर डेटा नियन्त्रणमा लिन्छन् । र, करोडौ डलरको बार्गेनिङ गर्छन् । डाटामाथि नियन्त्रण गुमाउदा हेल्थ केयर ग्रुपहरुले वर्षेनी ठूलो क्षति बेहोर्छन् ।
दुई वर्षअघि उनलाई अमेरिकाको ठूलो मध्येको एक हेल्थ ग्रुपले हायर गरे । पछि थाह पाए, कम्पनीले डेटामाथि नियन्त्रण गुमाएपछि उनलाई हायर गरेको रहेछ । उनले डेटाको सुरक्षाका लागि सिष्टम डेभोलप गरे । र, डेटाहरु रिकभर गरे ।
उनले एपीक, सेर्नर, एलस्क्रिप्टस्, मेडीटेक लगायतका संसारका आधुनिक ईएमआर सिष्टमको कार्यान्वयन गरेका छन् ।
उनी स्वतन्त्र हेल्थ केयर नियामक अमेरिकी संस्था एड्भाईजरी बोर्ड अफ हेल्थ केयर कँग्रेस( ईवीजी)को बोर्ड सदस्य छन् । द ज्वाईन्ट कमिसन हेर्छन् ।
त्यस बाहेक उनी गोल्डन की–द ईन्टरनेशनल सोसाईटी र द नेशनल सोसाईटी अफ लिडरसीप एण्ड सक्सेसको बोर्ड मेम्बर हुन् । सर्वोत्कृष्ट विद्यार्थी मात्र यसको बोर्ड सदस्य हुन पाउने प्रावधान छ ।
…………
उनी त्यो परिवेशमा जन्मिए । जहाँ मान्छेका सपना हुदैनथे । बस्, दुई छाक पेटभरी खान पाए पुग्यो । विद्यालय जान दुई घण्टा हिड्नु पथ्र्यो । परिवारको खर्च जुटाउन उनका बुवाले हिडेरै ब्रह्देव र धनगढीको चक्कर काटेका थिए ।
कतिपय मान्छे असफलताको दोष आफ्नो भूगोल र परिवेशमाथि थोपर्छन । उनले भूगोललाई दोष दिएनन् । परिवार र परिवेशप्रति उनको गुनासो कहिल्यै रहेन । एसएलसीसम्मको पढाई निशुल्क थियो । एसएलसीपछि पनि उनी परिवारका लागि बोझ भएनन् । पढाईसंगै जागीर शुरु गरे । आफ्नो सम्पूर्ण खर्च आफै जुटाए । बुवाले खर्च पठाउनु परेन ।
डीभीमा अमेरिका पुग्ने नेपालीले सही मार्ग निर्देशक पाउदैनन् । उनलाई पनि सही बाटो देखाउने कोही थिएनन् । त्यही कारण नेपालीहरु उवर, ग्याँस स्टेशन, रेष्टुरेण्टमा सिमित हुने गरेको उनको बुझाई छ । उनले पनि शुरुवाती दिनमा सेभेन ईलिभेनको स्टोरमा काम गरे । तर उनी त्यसैमा अल्झिएनन् । उनले काम गरे । संगै पढाईलाई पनि निरन्तरता दिए । जसले उनलाई अमेरिकामा उच्च तहमा पु¥यायो । उनले प्राप्त गरेको सफलतामा उनकी पत्नी निलमको दरो साथ र सहयोग छ ।
ग्याँस स्टेशन, रेष्टुरेण्ट थुपार्नु मात्र होईन, जिन्दगी । जिन्दगी कसरी बाँच्यो ? व्यालेन्समा बाँच्नु पर्छ । बैंकमा व्यालेन्स भएर के गर्ने ? समाजमा बस्छ । सामाजिक छैन । पैसा कमाएको छ । प्रतिष्ठा छैन् । बंगला छ । पहिचान छैन् । व्याँलेन्स छ । तर डाक्टरले मुख बार्न भनेको छ । त्यो जिन्दगी, के जिन्दगी ?
जिन्दगी गुजार्ने कि बाँच्ने ? जिन्दगी त बाँच्ने हो, उनी भन्छन्, तर कस्तो जिन्दगी बाँच्ने ? बैभवपूर्ण र कि अभावग्रस्त ? बाँच्नका लागि पनि मिहिनेत त गर्नैपर्छ ।
‘मिहिनेत नगरी राजा बन्न त राजाकै छोरो भएर जन्मिनुपर्छ । बाँकी मान्छेले त राजा बन्न पनि मिहिनेत गर्नैपर्छ ।’ उनले अन्तिममा सफलताको सुत्र सुनाए ।
……………
उर्लिएर बग्ने सेती । त्यही छेउमा उनको घर । सपनामा पनि सेती सुसेल्थ्यो । आँखा खुल्यो कि सेती देखिन्थ्यो । घर छेउमै उनको बुवाको पसल । हटारुको आराम गर्ने । किनमेल गर्ने त्यही पसल थियो । चैनपुर जोड्ने सडक बन्यो । उधुम चल्ने पसलको व्यापार घट्यो ।
डीभीले डो¥याएर सुत्याबाट अमेरिका पुगे । संसारकै ठूला स्वास्थ्य संस्थाहरुको उच्च ओहोदामा रहेर काम गरे । अध्ययन र अवसरका क्रममा थुप्रै राज्य चहारे । तीन वर्षदेखि फ्लोरिडामा ट्विन्स रिभर छेउमा बस्दै आएका छन् । वस्ती छ, समाजको सुगन्ध छैन् । जहाँ सम्बन्धमा आत्मियता छैन । बर पिपलका चौतारी छैनन्, मनका भारी बिसाउने । छैनन्, सञ्चो विसञ्चो सोध्ने आफन्तहरु । मूर्दा वस्तीहरु । जहाँ मान्छे छन्, जीवन छैन । सुख छ । खुशी छैन ।
उनी फर्केर बालापन पुग्छन्, जहाँ माछा मार्नुको बेग्लै आनन्द हुन्थ्यो । सम्झनामा बग्छ, सेती नदी । उर्लिएर आउछ, बाहुली गाड ।
कहाँ सेती नदी ? कहाँ ट्वीन्स रिभर ? नोष्टाल्जिक हुन्छन्, ओहो ! पोल्ने घाम पनि त आफ्नै आँगनको प्यारो । फर्किएर फेरि कहिले पुगिएला सुत्या ?
सेतीका माछाको स्वाद फ्लोरिडामा खोज्छन् । मिलोस कहाँ ? कहाँ सुत्या ? आगो पैचो लिएर हुर्केको समाज ? कहाँ फ्लोरिडा ? जहाँ मान्छेको मृत्यु सरकारी आँकडामा सिमित हुन्छ । मलामी पाउने भाग्य यहाँ कहाँ ? फेरि पनि यो बैभवले संसारभरीका मान्छेलाई तानिरहेको देख्दा उनी चकित पर्छन् ।
………………….
मान्छे कहाँ जन्मियो ? कस्तो परिवार, परिवेश र भूगोलमा ? सफलता त्यसले निर्धारण गर्दैन । असफल मान्छेहरु परिवार, परिवेश र भूगोललाई दोष दिन्छन् । उनी पृथक थिए । उनले कसैलाई दोष दिएनन् । हो, भूगोलले मान्छेको क्षमता र संभावनालाई छेक्न सक्दैन । त्यसको उदाहरण हुन्, उनी । भनिन्छ, हरेक सफल व्यक्तिको पछाडि संघर्षको कथा हुन्छ, संघर्ष बिना सफलताको अस्तित्व हुदैन । उनको सफलता पनि संघर्षको परिणाम हो ।
उनले अभाव झेले । भोक सहे । गलेनन । थाकेनन । भएनन्, बिचलित । उनी अरुले बनाएको बाटोमा हिडेनन् । आफ्नो बाटो आफैले बनाए । र बनाए, पृथक पहिचान । उनलाई ग्याँस स्टेशन थप्ने रहर कहिल्यै जागेन । उनले अध्ययनलाई जीवनको ध्येय बनाए । सिकाईलाई जीवनको पाठशाला । र त, थपे हरेक वर्ष विश्वविद्यालयका सर्टिफिकेटहरु । जसलाई थन्क्याएनन, दराजमा । तिनकै अनुभवमा अमेरिकाको स्वास्थ्य क्षेत्रमा डाटा साईन्समा नयाँ आयामहरु थपिरहे । यो क्रम जारी छ । उनलाई नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो सिकाई, अनुभव, ज्ञान र अन्तर्राष्ट्रिय सम्बन्ध सदुपयोग गर्ने धोको छ । सरकारसंग हरेक नागरिकको स्वास्थ्य अवस्थाका बारेमा सूचना कहिले होला ? स्वास्थ्य संस्थाहरु डिजिटल युगमा कहिले प्रवेश गर्लान ? उनी घोत्लिन्छन् ।
शाहरुखको भनाईमा संसारमा एक मात्र धर्म छ । त्यो हो, कडा मिहिनेत । हो, सपना देखेर मात्र पुरा हुदैन् । त्यसलाई पुरा गर्न मिहिनेत गर्नै पर्छ । शाहरुखलाई फ्लो गर्ने उनी भन्छन्, यु ह्याभ टु वर्क हार्ड ।
शाहरुख जीवनको कठिन घडीमा एक्लै थिए । मुम्बईको भीडमा कस्ले सोधोस ? कसले खोजोस ? भोक, प्यास, अनिन्द्रा उनको साथी थिए । शाहरुखलाई एकदिन शहर नै किनिदिने झोक चलेछ ।
उनलाई पनि त्यस्तै झोक चल्छ, कहिलेकाही ।