स्पेन प्रकरण : सूची तयार पार्दै सीआईबी– अध्यागमन र राहदानी विभागमा पत्राचार

द एभरेष्ट पोष्ट
२ साउन २०८२ १७:१०
स्पेन प्रकरण : सूची तयार पार्दै सीआईबी– अध्यागमन र राहदानी विभागमा पत्राचार

काठमाडौं । प्रहरीले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन गएर नफर्किएका नेपालीहरुमाथिको अनुसन्धान सुरु गरेको छ ।

गत सोमबार मात्रै गृह मन्त्रालयले स्पेनमा सहभागी भएर नफर्किएकाहरुमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होविन्द्र बोगटी नेतृत्वको टोली बनाएको थियो ।

सोही टोलीले मंगलबारदेखि नै स्पेनमा गएकाहरुको सूची तयार पार्ने काम थालेको हो ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार स्पेनमा गएकाहरुको विवरणका लागि प्रहरीले अध्यागमन विभाग र राहदानी विभागलाईसमेत पत्राचार गरेको छ ।

ती अधिकारीले भने, ‘‘हामीले पहिलो चरणमा स्पेन गएकाहरुको सूची तयार पारिरहेका छौँ । उनीहरु कसरी कार्यक्रमका लागि स्पेन पुगे ? केका आधारमा स्पेनको भिसा प्राप्त गरे ? त्यस्ता कति जना नेपालीहरु छन् ? त्यसको तथ्यांक निकाल्ने काम भइरहेको छ ।’’

प्रहरी अधिकारीको प्रारम्भीक अनुसन्धानबाट करिब ६० देखि ७० जनाको हाराहारीमा नेपालीहरु स्पेन पुगेको आशंका छ । कतिपय नेपाली भारतबाट समेत गएको आंशका प्रहरीले गरेको छ । नेपालीहरुलाई भिजिट भिसामा पठाउन विभिन्न एनजीओ आइएनजीओहरुले नक्कली कागजात तयार पारेको आंशका प्रहरीले गरेको छ ।

कार्यक्रममा जाने नेपालीहरुको संख्या अधिक देखिएपछि शंकास्पद ५५ जनाको भिसा त्यही बेला रद्ध गरिएको थियो ।

प्रहरीले सुरुवाती अनुसन्धानमा स्पेन पुगेकाहरुको सूची तयार पारेर दोस्रो चरणमा स्पेन जान भिसा प्रक्रिया मिलाउने विभिन्न संस्थामाथि अनुसन्धान गर्ने र तेस्रो चरणमा पक्राउको प्रक्रियामा पुग्ने तयारी गरेको छ । भिजिट भिसाका नाममा नक्कली कागजात तयार पारेर पठाउन खोज्ने गिरोहमा निर्मम अनुसन्धान हुने सीआईबीको तयारी छ ।

३० जुनदेखि २ जुलाईसम्म भएको कार्यक्रमका लागि सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत स्पेन पुगेका थिए । सोही कार्याक्रममा स्पेन पुगेर नेपाल नफर्किएका नेपालीहरुबारे संसदमै आवाज उठेपछि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले सीआईबीलाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस