दार्चुला र बैतडीमा नेपाल-भारत सीमा बहत्तर घण्टा बन्द हुने

दार्चुला। आगामी साउन ८ र १२ गते (जुलार्ई २४ र २८) भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनको सुरक्षाका लागि नेपालतर्फ दार्चुला र बैतडी जिल्लास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
भारतको पिथौरागढ जिल्लाको आयोजनामा मङ्गलबार पिथौरागढमा भएको नेपाल–भारत समन्वय बैठकमा दार्चुला र बैतडीका भारतसँग जोडिएका सीमानाकाका झोलुङ्गे पुलहरू जुलाई २१ अर्थात् आगामी साउन ५ गते बेलुकीदेखि जुलाई २४ अर्थात् साउन ९ गते बिहानसम्म बन्द गर्ने बैठकमा सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतका लागि मतदान हुने पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीले बताउनुभयो । निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै नेपाल–भारत सीमानाका जोड्ने झोलुङ्गे पुलहरू सिल गर्ने दुई देशका सुरक्षा अधिकारी र स्थानीय प्रशासन कार्यालय प्रमुखबिच सहमति भएको उनले बताए ।
दार्चुला जिल्लासँगको सीमानाकामा रहेका भारतीय झोलुङ्गे पुलहरू अस्कोट, द्वालीसेरा, जोलजीवी, बलुवाकोट, धार्चुला, एलागाड, रोङ्गती, नाला एलागड, मलघट्टे, गस्कु, गब्र्याङ र सीता पुल बन्द गर्नेबारे बैठकमा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यस्तै साउन ९ गते बेलुकीदेखि साउन १२ गते बिहानसम्म बैतडीको झुलाघाटमा रहेको झोलुङ्गे पुल बन्द गरिने उनले बताए । जुलाई २४ मा धार्चुला, डिडिहाट र कनालिछिनामा मतदान हुँदै छ भने जुलाई २८ मा बिनु मुनाकोटमा मतदान हुने धार्चुलाका स्थानीय राकेश तिवारीले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई ध्यान दिँदै सीमानाका बन्द गर्ने सहमति भएको बताइएको छ । बैठकमा दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भारतको पिथौरागढ जिल्लाका डिएम र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।