अमेरिकाले पहिलो पटक एफ ३५ लडाकु विमान फिलिपिन्स पुर्यायो

काठमाडौं– अमेरिकाले फिलिपिन्समा पहिलो पटक एफ ३५ अत्याधुनिक लडाकु विमान परिचालन गरेको छ । चीनको बढ्दो प्रभावसँगै दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकाले फिलिपिन्समा एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।
हालै अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिंटन फिलिपिन्सको राजधानी मनिलास्थित बन्दरगाह पुगेको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार यससँगै अमेरिकाले पहिलो पटक फिलिपिन्समा पाचौँ पुस्ताको अत्याधुनिक एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।
ती लडाकु विमानले फिलिपिन्सको वायुसेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने कार्यक्रम छ । जुलाई ७ देखि १८ सम्म सञ्चालन हुने उक्त अभ्यासलाई ‘कोप थन्डर २५–२’ नाम दिइएको छ ।
अमेरिका र फिलिपिन्सबीच लामो समयदेखि रक्षा सन्धि कायम छ । यसअनुसार फिलिपिन्सको सार्वभौमिकताको रक्षा गर्न अमेरिकाले सहयोग पुर्याउँदै आएको छ ।