बाढी पहिरो र डुबानजस्ता प्राकृतिक विपदका घटना हुँदा उद्धार तथा राहत वितरणमा जुट्न आह्वान : रास्वपा

काठ्माण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो र डुबानजस्ता प्राकृतिक विपदका घटना हुँदा उद्धार तथा राहत वितरणमा जुट्न आह्वान गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई बाढी, पहिरो र डुबानजस्ता घटनाको उद्धार तथा राहत वितरणमा सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।
मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्न थालेको छ । यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको भन्दै अर्यालले विपद्को घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत उनले अपिल गरेका छन् ।