युरोपेली सङ्घ र मेक्सिकोले अगस्टदेखि ३० प्रतिशत ‘ट्यारिफ’को सामना गर्नुपर्ने ट्रम्पको भनाइ

द एभरेष्ट पोष्ट
३० असार २०८२ ५:४८
युरोपेली सङ्घ र मेक्सिकोले अगस्टदेखि ३० प्रतिशत ‘ट्यारिफ’को सामना गर्नुपर्ने ट्रम्पको भनाइ
जुड शीरिन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो अगस्टदेखि युरोपेली सङ्घ र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ (अमेरिकाले उसका आयातमा लगाउने शुल्क) लगाउने घोषणा गरेका छन्।

उनले अमेरिकाका यी व्यापार साझेदारहरूले जबाफी कदम चाल्ने निर्णय गरेमा त्यस्तो कर झन् चर्काउने चेतावनीसमेत दिएका छन्।

सत्ताइस सदस्य भएको युरोपेली सङ्घले यसै साताको सुरुमा १ अगस्टअगावै वासिङ्टनसँग सम्झौताबारे सहमति जुट्ने आशा गरेको थियो।

यसै साता ट्रम्पले जापान, दक्षिण कोरिया, क्यानडा र ब्रजिलबाट आउने सामानमा पनि अगस्ट १ देखि नयाँ ट्यारिफ लगाइने पनि बताएका थिए। अमेरिकाका कैयौँ साना साझेदारहरूलाई पनि यो साता यसै प्रकारका पत्र पठाइएको बताइएको छ।

शुक्रवार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनलाई पठाइएको पत्रमा ट्रम्पले लेखेका छन्, “हामीले युरोपेली सङ्घसँगको आफ्नो व्यापार साझेदारीबारे वर्षौँ चर्चा गरेका छौँ र हामी तपाईँका ट्यारिफ तथा गैरट्यारिफ नीति तथा व्यापार बाधाहरूबाट उत्पन्न दीर्घकालीक, ठूलो तथा लगातारको व्यापार घाटाबाट टाढिनुपर्ने निष्कर्षमा पुगेका छौँ।”

“दुर्भाग्यवश हाम्रो सम्बन्ध पारस्पारिकताबाट निकै टाढा रहेको छ,” उक्त पत्रमा अगाडि लेखिएको छ।

युरोपेली सङ्घ र मेक्सिकोलाई पठाइएको पत्रमा ट्रम्पले कुनै व्यापार साझेदारले अमेरिकाविरुद्ध आयात शुल्क लगाएर जबाफ दिने कोसिस गरेमा अमेरिकाद्वारा लगाइने भनिएको ३० प्रतिशतको ट्यारिफमाथि समान प्रतिशतले कर थप्ने चेतावनीसमेत दिएका छन्।

युरोपेली सङ्घ लगातार ट्रम्पको आलोचनाको केन्द्रमा छ।

अप्रिल २ मा उनले युरोपेली सङ्घ तथा अमेरिकाका अन्य दर्जनौँ व्यापार साझेदारका उत्पादनहरूमाथि २० प्रतिशत ट्यारिफ लगाउने प्रस्ताव गरेका थिए।

व्यापार वार्ता रोकिएसँगै उनले युरोपेली सङ्घबाट हुने आयातमा ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।

ट्यारिफ जनाउने साङ्केतिक तस्बिर

तस्बिर स्रोत,Reuters

वाशिङटन र ब्रसेल्सले ९ जुलाईको समयसीमाअगावै सहमतिमा पुग्ने आशा गरेका थिए तर प्रगतिबारे कुनै घोषणा गरिएको छैन।

‘युएस ट्रेड रेप्रिजन्टेटिभ’ कार्यालयका अनुसार अमेरिकाले सन् २०२४ मा युरोपेली सङ्घसँग २ खर्ब ३५ अर्ब ६६ करोड डलरबराबरको व्यापार घाटा बेहोरेको थियो।

भोन डेर लायनले “अगस्ट १ सम्म सम्झौताको दिशामा काम गर्न” सङ्घ अहिले पनि तयार रहने बताएकी छन्।

“विश्वका केही अर्थतन्त्रले मात्रै युरोपेली सङ्घको स्तरको खुलापन र निष्पक्ष व्यापारिक अभ्यासप्रतिको प्रतिबद्धताको बराबरी गर्न सक्ने” उनको वक्तव्यमा भनिएको छ।

“युरोपेली सङ्घको हितको रक्षा गर्न हामी आवश्यक सबै कदमहरू चाल्ने छौँ, जसमा आवश्यक परेमा समान कारबाहीको उपाय अपनाउने विषय पनि सामेल छ।”

फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोँले ट्रम्पको घोषणाप्रति आफ्नो ‘निकै कडा असहमति’ रहेको जनाएका थिए।

यी फ्रान्सेली नेताले सहमति नजुटेको खण्डमा ‘विश्वसनीय जबाफी कारबाहीको तयारीलाई तीव्र पार्न’ युरोपेली सङ्घलाई सुझाव दिएका छन्।

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ‘उचित सहमति’ हुन सक्ने विश्वास व्यक्त गर्दै “एट्लान्टिकका दुई पाटोबीच व्यापार युद्ध सुरु गर्नुको कुनै अर्थ नहुने” एक वक्तव्यमार्फत् बताएकी छन्।

त्यस्तै डच प्रधानमन्त्री डिक स्कोफले अमेरिकासँग “पारस्पारिक लाभकारी” सम्झौतामा पुग्न युरोपेली सङ्घ “एकजुट र दृढ रहनुपर्ने” सामाजिक सञ्जालमार्फत् बताएका छन्।

जर्मनीको गाडी उत्पादकहरूको सङ्घले जर्मन कार निर्माता तथा आपूर्तिकर्ताहरूका निम्ति बढ्न सक्ने लागतबारे चेतावनी दिएको छ। उसले व्यापार सङ्घर्ष अझै चुलिन सक्ने बताउँदै त्यसलाई दु:खद भनेको छ।

आशा

मालबाहक पानीजहाज

तस्बिर स्रोत,Getty Images

मेक्सिकोको नेतृत्वलाई पठाइएको पत्रमा ट्रम्पले उत्तर अमेरिकालाई “लागूऔषध ओसारपसारको खेलमैदान” बन्न नदिन उक्त देशले पर्याप्त कार्य नगरेको उल्लेख गरेका छन्।

“सीमालाई सुरक्षित पार्न मेक्सिकोले मलाई सघाउँदै आएको छ तर उसले गरेका कार्य पर्याप्त छैनन्,” उनले अगाडि भनेका छन्।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनाबाउमले सम्झौतामा पुग्न सकिने विश्वास व्यक्त गरेकी छन्।

“हाम्रा सहकर्मीहरूले हिजो गरेको चर्चाका आधारमा हामी अमेरिकासँग एउटा सम्झौतामा पुग्न सक्ने छौँ र निस्सन्देह उत्तम स्थिति हासिल गर्ने छौँ भन्ने विश्वास लिएका छौँ,” उनले शनिवार भनिन्।

“हामी अमेरिकासँग काम गर्न सकिने र नसकिने मुद्दाहरूबारे स्पष्ट छौँ,” उनले थपिन्, “साथै एउटा कुरा जसमाथि कहिल्यै छलफल हुने छैन, त्यो हो हाम्रो देशको सम्प्रभुता।”

त्यसअघि शनिवार नै मेक्सिकोको अर्थ तथा विदेश मामिला मन्त्रालयले एउटा संयुक्त वक्तव्यमार्फत् ट्रम्पको ट्यारिफलाई ‘अनुचित कदम’ भनेका थिए।

सन् २०२० को अमेरिका–मेक्सिको–क्यानडा सम्झौताअन्तर्गत मेक्सिकोबाट आउने सामानहरूमा अगस्ट १ देखि लागु हुने भनिएको ट्यारिफ छुट हुन्छ वा हुँदैन भन्ने ट्रम्पको पत्रमा खुलाइएको छैन। ह्वाइट हाउसले क्यानडाका हकमा भने त्यसो हुने बताएको थियो।

यसै साताको आरम्भमा ह्वाइट हाउसले क्यानडालाई एउटा पत्र पठाउँदै ३५ प्रतिशत ट्यारिफ लगाउन धम्की दिएको थियो।

शनिवारसम्ममा ट्रम्प प्रशासनले युरोपेली सङ्घ तथा अन्य २४ देशमाथि नयाँ ट्यारिफ नियमको प्रस्ताव गरेको छ।

अप्रिल ‍१२ मा ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोले “९० दिनमा ९० सम्झौता” सुनिश्चित गर्ने लक्ष्य तय गरेका थिए।

छलफल जारी रहेको अवस्थामा हालसम्म राष्ट्रपतिले संयुक्त अधिराज्य र भियतनामसँगका त्यस्ता दुई सम्झौताका रूपरेखा सार्वजनिक गरेका छन्।

वीवीसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस