कुलदेउता खुसी पार्ने’ अन्धविश्वासले ज्यान गुमाइरहेछन् कमलाहरू

द एभरेष्ट पोष्ट
२९ असार २०८२ २०:२९
कुलदेउता खुसी पार्ने’ अन्धविश्वासले ज्यान गुमाइरहेछन् कमलाहरू

कैलाली : शुक्रबार छाउगोठमा सर्पको डसाइबाट कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी ३० वर्षीया कमला आउजीको ज्यान गयो । कमलाको पक्की घर पनि छ । घरदेखि २० मिटरको दूरीमा छाउगोठ छ, तर जीर्ण पानी धरधरी चुहिने । त्यसैले उनी छाउ बार्न भन्दै घरभन्दा झन्डै सय मिटर पर रहेको जेठानीको छाउगोठमा सुत्न गइन् ।

राति १० बजेतिर छाउगोठबाट एक्कासि आवाज आयो, ‘दिदी मलाई मलाई बचाऊ, साँपले मारिहाल्यो ।’ सीता आउजी (मृतककी जेठानी) आत्तिँदै गोठ पुग्दा कमला होसमा थिइनन् । सीताका अनुसार झुल लगाएर सुतेकी कमला गर्मी भएपछि झुलबाहिर टाउको निकालेर सुतेकी थिइन् । सर्पले उनको गालामै टोकेको थियो ।

कमला होसमा नआएपछि उनलाई अस्पताल लग्ने कुरा भयो । घरमा नाबालक छोराहरूबाहेक अरु कोही थिएनन् । न त उनको साथमा पैसा थियो । सीताले १३ हजार रुपैयाँ दिएपछि कमलालाई सेती प्रादेशिक अस्पताल धनगढी लगियो । झन्डै २ घण्टापछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

राति दुई बजेतिर स्वास्थ्य अवस्था झन बिग्रिँदै गएपछि डाक्टरले सघन उपचार कक्ष (आईसीयू)मा राख्न पर्छ भने । तर अस्पतालमा आईसीयू खाली थिएन । बिहान ४ बजेतिर मात्र कमलालाई आईसीयूमा राखिएको मृतकका जेठाजु शिद्ध आउजीले बताए । शनिबार राति ८ बजे उपचारकै क्रममा कमलाको मृत्यु भयो ।

छोराहरूको भविष्य बनाउन भन्दै फर्किएकी थिइन्

कमलाको परिवार समयदेखि भारत बस्दै आएको छ । उनी पनि परिवारसँगै भारतमा मजदुरी गर्थिन् । कच्ची घरलाई पक्की बनाउने उनको सपना थियो । श्रीमान्‌सँगै मजदुरी गरेर त्यो सपना पूरा गरिन् ।

उनको अर्को सपना थियो : छोराहरूलाई पढाएर ठूलो मान्छे बनाउने । गत वैशाखमा मात्रै छोराहरू पढाउने भन्दै भारतबाट घर आएकी कमलाले ३ महिना नबित्दै अकालमै ज्यान गुमाइन । उनका तीन छोरा छन्, ५, १२ र १५ वर्षीय । घरमा कोही नभएपछि उनको दाहसंस्कार पनि भएको छैन । शव सेती प्रादेशिक अस्पतालमै छ । आफन्तका अनुसार कमलाका श्रीमान् र सासू-ससुरा सोमबार बिहान मात्र कञ्चनपुर आइपुग्दैछन् । आउजीको परिवार अछामबाट बसाइँ सरेर कञ्चनपुर आएको हो ।

सर्प मार्न भन्दै भत्काइयो छाउगोठ

कमलाको मृत्युपछि उनी सुतेको सीता आउजीको छाउगोठ भत्काइएको छ । ‘कुप्रथा’का रूपमा रहेको छाउ बार्ने चलन बन्द होस् भन्नै अझै चाहँदैनन् स्थानीय । गोठ पनि सर्प खोज्नलाई भत्काइएको बताउँछन् उनीहरू । तर सर्प भने भेटिएन । छाउँ हुँदा घर बसे कुलदेउता रिसाउने सीताको भनाइ छ । ‘हामी त मान्दैन थियौँ । तर देउता रिसाउँदा छन् । मान्छे काम्छन् । घरमा नराम्रो हुन्छ । आखिर मान्छेभन्दा ठूला त देउता हुन्, के गर्नू,’ छाउमै बस्दा देउरानी गुमाएकी उनी यस्तो ‘विश्वास’ राख्छिन् ।

सीताको घरनजिकै अछामबाटै बसाइँ सरेकी चम्फा बुढाको घर छ । उनको छाउगोठ झन डरलाग्दो झाडीमा छ । त्यो गोठमा महिनावारी हुँदा उनकी नन्द र उनी बस्छन् । जाहाँ बत्तीसमेत छैन । उनको सोच पनि सीताको भन्दा फरक छैन । ‘ज्यानको माया त सबैलाई हुन्छ नि । तर पनि देउताका लागि बस्नुपर्छ । छाउमा घरभित्र पसे त सबै परिवार कामिहाल्छन् नि,’ उनी भन्छिन् । अछामबाट मान्छे मात्र बसाइँ सरेका छैनन्, छाउगोठ पनि सँगै ल्याएका छन् ।

गत वर्ष मात्रै कृष्णपुर नगरपालिकाले चारवटा छाउगोठ भत्काएको थियो । तर स्थानीयले फेरि बनाए । कृष्णपुरका मेयर हेमराज ओझा भन्छन्, ‘जति भत्काए पनि उनीहरू पुन: बनाइहाल्छन् । यो कुप्रथाले समाजमा जरा गाडेर बसेको छ । यसलाई उखेल्नैपर्छ ।’

अहिले पनि कृष्णपुर नगरपालिकामा सयभन्दा बढी छाउगोठ छन् । जसमा सबैभन्दा बढी अछामबाट बसाइँ सरेर आएकाहरूको संख्या छ । नगरले छाउगोठ भत्काइरहन्छ, स्थानीयले बनाइरहन्छन्, श्रृंखला यस्तै जारी छ ।

छाउगोठ भत्काउन नगरपालिकाको अल्टिमेटम

कमलाको मृत्युपछि कृष्णपुरले नगरपालिका क्षेत्रभित्र अझै पनि कायम रहेका छाउपडी गोठ भत्काउन सूचना निकाल्दै १५ दिनको ‘अल्टिमेटम’ दिएको छ । छाउगोठ नहटाउनेलाई १० हजार जरिवाना तिराउने नगरपालिकाको चेतावनी छ ।

सूचनामा छाउपडी गोठ भत्काउने कामको निगरानी सम्बन्धित वडा कार्यालयमार्फत गरिने भनिएको छ । साथै, निर्देशनको पालना नगर्ने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

पत्रमा भनिएको छ, ‘कृष्णपुर नगरपालिकामा अझै पनि केही स्थानमा अवैध छाउपडी प्रथा कायमै रहेको पाइएकाले, सबै वडामा रहेका

यस्ता गोठहरू १५ दिनभित्र भत्काइदिनुहुन अनुरोध छ । आदेशको अवज्ञा गरेमा जनही १० हजार जरिवाना लागु गरिने छ।’

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरका रूपमा लिएको छ । साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा आज पनि महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।

२०६३ सालयता मात्रै छाउगोठमा घटेका घटनामा अछाममा १४ जना महिला तथा किशोरी , डोटीमा २ जना र बाजुरामा ३ जना गरी र हालै कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको देखिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस