छाउगोठका कमलाको मृत्यु : थियो पक्की घर, भयो देउता रिसाउने डर

भानुभक्त आचार्य,
कैलाली । अघिल्लो वर्षमात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका चार वटा छाउगोठ भत्काएको थियो । तर अझै २ सय भन्दा बढी यस्ता छाउगोठ नगर क्षेत्रमा छन् । ती मध्येकै छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पले डसेर मृत्यु भयो ।
पालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी गरेको वडामा नै छाउगोठमा सुत्दा महिलाको मृत्यु भएको हो । कमलाले भारतमा मजदुरी गरेर बनाएको पक्की घर छ । घरमा उनका ६, ८ र १२ वर्षीय छोराहरू छन् ।
आफैले बनाएको पक्की घरमा आफ्ना साना छोराहरूलाई एक्लै छोडेर नजिकैको छाउगोठमा सुत्न गएकी कमलालाई मध्यरातमा करेत सर्पले टोकेको थियो । सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकलाई खबर गरिन् । कमलालाई डसेको करेत सर्प उनको बिस्तरा नजिकै रहेको अवस्थामा स्थानीयले भिडिओ पनि बनाएका थिए । कमला त्यसमा रुँदै हुन्छिन् ।
कञ्चनपुरको कृष्णपुरमा सर्पको टोकाइबाट गम्भीर हुँदै गएकी कमलालाई अटो रिक्सामा राखेर कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएपनि उनको ज्यान भने जोगिएन ।
आफ्नै पक्की घर हुँदा पनि कुप्रथाका कारण कमला छाउगोठमा बस्न गएको र त्यहिनै उनको मृत्युको कारण बनेको कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा बताउँछन् । ‘आफैले बनाएको घर थियो । घरमा साना छोराहरू बाहेक अरू कोही थिएनन् महिनावारी हुँदा आफ्नो राम्रो घर छोडेर बाहिर गोठका बस्न जानु हुँदैन थियो ’ उनले भने ‘एकरातलाई सन्तान छोडेर छाउगोठ जाँदा सधैँका लागि सन्तान छुटे ।’
कृष्णपुर नगरपालिकाले छाउगोठकै कारण घटना भएको भन्दै छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले १५ दिनभित्र सबै छाउगोठ अनिवार्य रूपमा भत्काउन सार्वजनिक निर्देशन जारी गरेको छ। छाउगोठ नराख्ने व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना गरिने र कानुनी कारबाही अघि बढाइने बताइएको छ। कृष्णपुरमा अझै करिब २ सयको हाराहारीमा छाउगोठ हुनसक्ने नगरप्रमुख ओझा बताउँछन् । आफूहरूको १५ दिने सूचनामा सबै छाउगोठ भत्कने मेयर ओझाले विश्वास व्यक्त गरेका छन् ।
‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रूपमा देखा परेको थियो । त्यसपछि वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुप¥यो ’ नगरप्रमुख ओझा भन्छन्, ‘ अहिले १५ दिनको सूचना जारी गरेर छाउगोठ भत्काउन भनेका छौँ भत्काइएन भने जरिमाना गराउँछौँ । ’
छाउपडीलाई गैरकानुनी घोषणा गरिँदै २०७४ सालको मुलुकी अपराध संहिताले छाउगोठ बसाल्ने वा बस्न बाध्य पार्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखेको छ। सार्वजनिक ओहदामा बसेका व्यक्तिले यस्तो गरे दोब्बर सजाय हुने व्यवस्था पनि छ। तर कानुन कार्यान्वयनका हिसाबले छाउपडी अझै पनि सुदूरपश्चिमको सामाजिक संरचनामा गढिएको छ।
प्रदेश प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिममा ७ हजार ५४५ छाउगोठ भत्काइएका थिए, जसमध्ये कञ्चनपुरमै २३० वटा छन्। छाउगोठ भत्काएपनि महिनावारी हुँदा छाउगोठमा बस्ने अन्धविश्वास अझै भत्किएको छैन ।
कैलालीको मोहन्यालमा केही समयअघि छाउगोठमा बसेकी महिलालाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो। गोदावरी, धनगढीमा मात्रै होइन ग्रामीण क्षेत्रमा अझै धेरै अन्धविश्वास रहेको पाइन्छ ।
कैलाली कञ्चनपुर जस्ता तराइका जिल्लाहरूमा त महिनावारी हुँदा छाउगोठमा बस्दा ज्यान गुमाउनु परेको घटना सार्वजनिक हुन्छन् भने पहाडी जिल्लाको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।