३१ अंकले बढेर नेप्से २७६२ बिन्दुमा

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.०८ अंक अर्थात् १.१३ प्रतिशत बढेर २७६२.८८ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से २५.८९ अंकले बढेको थियो भने बुधबार २२.०४ अंकले उकालो लागेको थियो ।
शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजारको पक्षमा आएपछि सेयर बजारमा आइतबार बिहानदेखि नै सकारात्मक छाएको थियो ।
आइतबार प्रिओपन सेसनमै ३५ अंकले बढेको नेप्से २७९८ बिन्दुसम्म पुगेको भएपनि बन्द हुने समयमा भने केही सम्हालिँदै २७६२ मा रोकिएको हो ।
आइतबार नेप्सेमा कुल ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार नेप्सेमा कारोबारमा आएकामध्ये १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ ।
आइतबार एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा जीवन विकास लघुवित्तको सेयर मूल्य ९.६१ प्रतिशतले उकालो लागेको छ ।
बजार उच्च अंकले बढ्दा पनि हिमालयन हाइड्रोपावरको सेयर मूल्य भने ९.९३ प्रतिशते घटेको छ । आइतबार बैंकिङ समूहको सेयर मूल्य ३.३७ प्रतिशत र लघुवित्त समूहको ३.५० प्रतिशतले बढेको छ ।