नेपाली यू-१९ क्रिकेटका तीन खेलाडीले भारतमा एक महिने प्रशिक्षण लिने

काठमाडौं । नेपाली यू–१९ क्रिकेट खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले भारतमा एक महिने प्रशिक्षण लिने भएका छन् ।
नेपालस्थित भारतीय राजदूतावासले घोषणा गरेको ‘नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’अन्तर्गत तीन खेलाडीलाई भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिने लामो व्यावसायिक क्रिकेट प्रशिक्षणमा पठाउन लागिएको हो ।
सन् २०२५ को जुन महिनामा घोषणा गरिएको उक्त फेलोशिप कार्यक्रमले नेपाली क्रिकेट प्रतिभाको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको राजदूतावासले जनाएको छ ।
१५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म हुने उक्त प्रशिक्षण कार्यक्रमको अवसरमा भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले आज खेलाडीहरूसँग भेटघाट गरेका छन् । उक्त भेटघाटमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि सहभागी थिए ।
भेटका क्रममा राजदूत श्रीवास्तवले खेलाडीहरूलाई शुभकामना दिँदै क्रिकेटजस्तो साझा चासोका माध्यमबाट नेपाल–भारतबीचको जनता–जनताको सम्बन्धलाई थप मजबुत बनाउन खेल कूटनीति महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे ।
राजदूतावासका अनुसार उक्त पहलले नेपाली युवाहरूको सीप विकासमा मात्र होइन, दुई देशबीचको आपसी सम्बन्धमा समेत सघाउने अपेक्षा गरिएको छ । प्रशिक्षणले खेलाडीहरूको व्यावसायिक क्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।