नेपाल-स्पेनबीच सांस्कृतिक कूटनीतिक सहकार्यको समझदारी

द एभरेष्ट पोष्ट
२६ असार २०८२ १६:१७
नेपाल-स्पेनबीच सांस्कृतिक कूटनीतिक सहकार्यको समझदारी

बार्सिलोना । नेपाल र स्पेनबीच सांस्कृतिक कूटनीति, अन्तर्राष्ट्रिय संवाद र शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

म्याड्रिडमा मंगलबार आयोजित समारोहमा स्पेनी कूटनीतिक प्रतिष्ठान ‘अकाडेमिया दे ला डिप्लोमेसिया देल रेइनो दे एस्पान्या’ र ‘द डिप्लोम्याट नेपाल (एम्ब्यासडर्स क्लब)’ बीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रम स्पेनको प्रतिष्ठित संस्था ‘इन्स्टिटुतो दे इन्जिनिएरोस दे एस्पान्या’ मा सम्पन्न भएको थियो ।

नेपालका लागि स्पेनस्थित राजदूत शनिल नेपाल, एसिया-प्रशान्त क्षेत्रका डीन तथा भारतका लागि स्पेनस्थित राजदूत दिनेश पटनायक, विभिन्न देशका कूटनीतिज्ञ, स्पेनी सरकारका वरिष्ठ अधिकारी, संस्कृति तथा शिक्षा क्षेत्रका अगुवा व्यक्ति र दुबै संस्थाका प्रतिनिधिहरू थिए ।

समझदारीपत्रमा अकाडेमीका कार्यकारी अध्यक्ष सान्तियागो भेलो दे अन्तेलो र नेपालका लागि पूर्वराजदूत तथा ‘द डिप्लोम्याट नेपाल’ की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेका थिए ।

समारोहमा बोल्दै डा. ढकालले कूटनीतिको परिभाषा फराकिलो भएको बताउँदै भनिन्, ‘आजको कूटनीति केवल सरकार र दूतावासमा सीमित छैन, यो जन-जनको मन, माटो र विचारसँग जोडिने संवादको माध्यम हो, नेपालजस्तो सानो राष्ट्रले पनि विश्व शान्ति, संवाद र विश्वासको प्रेरणा दिन सक्छ भन्ने हाम्रो विश्वास हो ।’

त्यस्तै, अध्यक्ष भेलो दे अन्तेलोले सहकार्यलाई दुई देशबीचको साझा भविष्य निर्माणतर्फको प्रतिबद्धता भन्दै भने, ‘हामी विचार, संस्कृति र ज्ञानमार्फत सन्देश फैलाउन सँगै काम गर्नेछौं ।’

समझदारीअनुसार दुवै संस्थाले संयुक्त सम्मेलन, अनुसन्धान तथा प्रकाशन सञ्चालन गर्ने, नेपाल-स्पेनबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने जनाईएको छ ।

यस्तै युवा कूटनीतिज्ञ र अनुसन्धानकर्ताका लागि तालिम तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने,साथै नैतिक, सांस्कृतिक र आर्थिक कूटनीति सशक्त बनाउँदै दुई देशबीच जनस्तरसम्मको सम्बन्ध बलियो बनाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस