जीवित व्यक्तिलाई ‘मृत’ देखाएर रकम हिनामिनाको प्रयास

द एभरेष्ट पोष्ट
२६ असार २०८२ १२:५०
जीवित व्यक्तिलाई ‘मृत’ देखाएर रकम हिनामिनाको प्रयास

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा ‘ओखर पकेट क्षेत्र कार्यक्रम’को रकम हिनामिनाका लागि नगरपालिकाका कर्मचारीले जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागजात बनाएको पाइएको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरेनरी प्राविधिक जनसिंह धामी (नगर प्रमुख विजयसिंह धामीका छोरा समेत) को मिलेमतोमा जीवित रहेका शैल्यशिखर–६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको भनेर झूटा कागजात तयार पारेको भेटिएको हो ।

कृषि शाखा प्रमुख विष्टले जिउँदो मान्छेलाई मृत्यु भइसकेको भनी बैंकलाई खाता नवीकरणका लागि सिफारिस गरेको पाइएको छ । नगर प्रमुखका कान्छा छोरा एवं कृषक समूह अध्यक्ष जनकसिंह धामीको निवेदनका आधारमा बैंकलाई खाता नवीकरण गर्न सिफारिस गरिएको विष्टले बताए । बैंकले मृतक भनिएका व्यक्तिलाई खबर गर्दा जिउँदै भएको भेटिएपछि खाता नवीकरण कार्य रोकिएको छ ।

कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखालाई पत्र लेख्दै समूहको खातामा अब जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव वसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए । जानकीले यो नगरका ६ कृषक समूहमा ओखर पकेट कार्यक्रम आएको र त्यो कार्यक्रम हाम्रो समूहमा परेको आफूहरूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, ‘त्यसबारे अध्यक्षले हामीलाई कुनै जानकारी दिएनन्, त्यही रकम खानलाई हाम्रो मृत्यु भैसकेको कागज बनाएछन् ।’ ओखर पकेट कार्यक्रमको रकम हत्याउन कृषि शाखा प्रमुख र अध्यक्षले फर्जी काम गरेको उनीहरूले बताए ।

अध्यक्ष धामीले ओखरका बिरुवा आफ्नै खेतमा रोपेका छन् । ‘समूह निष्क्रिय रहेकाले हाम्रो समूहको खाता नवीकरण थिएन, लामो समयदेखि हाम्रो बैठक पनि बसेको थिएन,’ सचिव मञ्जुले भनिन्, ‘बैंकका कर्मचारीले मलाई चिन्ने हुँदा यस्तो बदमासी बेलैमा थाहा पाइयो । बैंकबाट फोन आएरै हामीहरूले उक्त करतुत थाहा पाएका हौं ।’

 

कृषक समूहका अध्यक्षले पेस गरेको निवेदन र माइन्युटका आधारमा बैंकलाई मृत्यु भैसकेको पत्राचार गरिएको कृषि शाखा प्रमुख विष्टले बताए । उनले विगतदेखि नै निवेदन र माइन्युटकै आधारमा कागज तयार पारिने र त्यसैगरी बैंकलाई खाता नवीकरण र व्यक्तिका नाम परिवर्तनका लागि सिफारिस पत्र लेखिएको हो । ‘समूहका अध्यक्षको जालसाजी रहेछ,’ उनले भने, ‘हामीले मृत्यु दर्ता प्रमाणपत्रको कागजपत्र खोज्नु पर्थ्यो, त्यो गरिएन ।’

दुवै पक्षलाई बोलाएर छलफलपछि आवश्यक कारबाही अगाडि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । ‘यसमा बदमासी भएको देखिन्छ । दुवै पक्षलाई बोलाएर यसबारे बुझ्ने र कर्मचारी वा जसको गल्ती भेटिन्छ, त्यसलाई कारबाही गरिनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस