प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

द एभरेष्ट पोष्ट
२५ असार २०८२ १२:४८
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कांस्य पदक विजेता विजय सिञ्जालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरियो ।

यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौं एसियन कबड्डी च्याम्पियन (महिला) मा कांस्य पदक विजेता खेलाडी मनमति बिष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ । यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलंकाको भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ ।

उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो । साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस