सुन्दर सुदूरपश्चिम कल्याण समाजको आयोजनामा कोपेनहेगनमा ग्रिल कार्यक्रम सम्पन्न

कोपेनहेगन, (डेनमार्क) २५ असार ।
सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको आयोजनामा कोपेनहेगनमा तेस्रो ग्रीष्मकालीन ग्रिल कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने र नेपाली सांस्कृतिक रीतिरिवाजलाई विदेशमा पनि जीवित राख्ने उद्देश्यले आयोजना गरिएको ग्रिल कार्यक्रममा डेनमार्कमा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
सांगीतिक प्रस्तुति समेत रहेको ग्रिल कार्यक्रममा स्वादिष्ट नेपाली परिकारको स्वाद र बालबालिकाका रमाइला खेलहरुले सबैलाई आकर्षण गरेको थियो ।
सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्क अध्यक्ष कृष्ण धानुकले ग्रिल कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिदै संस्कृति, परम्परा र भाषा जगेर्नाका लागि समाजले सबैसंग हातेमालो र सहकार्य गर्ने बताए ।
समाजका महासचिव निरज कठायत तथा पदाधिकारीहरूले ग्रिल कार्यक्रममा सहभागी भएकाहरुलाई स्वागत गरे । कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमले आपसी सद्भाव बढाउने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।