अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान अचानक आएको बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिका अझै सम्पर्कमा आउन सकेका छैनन् ।
केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार थप व्यक्तिहरू हराइरहेका हुनसक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्नसक्ने सम्भावना छ ।
टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार ग्वाडालुपे नदीको पानीको सतह एकै चोटी २६ फिट (करिब ८ मिटर)ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन छन् ।
शिविरका प्रमुखले पठाएको सन्देश अनुसार बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्धार कार्य जारी रहेको छ । उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ । किनभने धेरै सडक अवरुद्ध अवस्थामा छन् ।
विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानव निर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।