तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्याे रुस

एजेन्सी । रुसले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । योसँगै रुस तालिबानको सत्तालाई मान्यता दिने विश्वको पहिलो देश बनेको छ ।
रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले साहसपूर्ण भन्नुभएको बीबीसीले जनाएको छ । काबुलमा रहेका रुसी राजदूत डिमित्री झिर्नोभले तालिबान सरकारलाई मान्यता दिने निर्णयबारे जानकारी गराउनुभएको मुक्तकीले बताएका छन ।
सन् २०२१ को अगस्टमा सत्तामा पुनर्स्थापित भएयता तालिबानले अन्तर्राष्ट्रिय मान्यता तथा लगानीका निम्ति कोशिश गरिरहेको छ । तर अफगानिस्तानमा मानव अधिकार हनन निरन्तर भइरहेका कारण तालिबानले मान्यता पाउन सकेको छैन ।
सन् २०२१ मा काबुलमा रहेका दूतावास बन्द नगर्ने थोरै देशमध्ये रुस एक थियो । क्षेत्रीय सुरक्षा र आर्थिक विकासका लागि काबुलसँग वार्ता विस्तार गर्न महत्त्वपूर्ण रहेको रुसले टेलिग्राममा लेखेको थियो ।
सन् २०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सहमतिमा हस्ताक्षर गर्ने पनि रुस पहिलो देश थियो । त्यतिखेर रुसले अफगानिस्तानमा तेल, ग्यास र गहुँ आपूर्ति गर्न सहमति जनाएको थियो ।
यो वर्षको अप्रिलमा रुसले आतङ्ककारी सङ्गठनहरूको सूचीबाट तालिबानलाई हटाएको थियो । तर दुई देशबीचको इतिहास चाहिँ निकै जटिल छ ।
सन् १९७९ मा सोभियत युनियनले अफगानिस्तानमा अतिक्रमण गरेको थियो । नौ वर्ष लामो युद्धमा सोभियत युनियनका १५ हजार सैनिक मारिएका थिए । त्यतिखेर काबुलमा सोभियत युनियन समर्थित सरकार स्थापना गर्ने कामले रुसलाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्यायो । अन्ततः सन् १९८९ को फेब्रुअरीमा सोभियत युनियन अफगानिस्तानबाट फिर्ता भएको थियो ।