कुशासनको पक्षपोषक सरकारको पतन अनिवार्य छ : माधव नेपाल

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओली नेतृत्वको अहिलेको सरकारको पतन अनिवार्य भएको बताएका छन्। शुक्रवार कार्यालय आलोकनगरमा आयोजित विद्यार्थीको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताएका हुन्।
उनले ओली नेतृत्वको सरकारले देशलाई राम्रोसँग हाँक्न नसकेको टिप्पणी गरे। अध्यक्ष नेपालले सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको दाबी गरे ।
‘जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन । त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन । यो सरकार जनमुखी होइन, जनविरोधी हो, अध्यक्ष नेपालले अगाडि भने,
‘यस्तो सरकार जुन सुशासनको पक्षधर होइन, कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खालि हामीले समय पर्खिनुपर्ने हुन्छ । आत्तिनुपर्ने केही आवश्यकता छैन।’
भ्रष्टाचार गरेको प्रमाण छैन
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूले भ्रष्टाचार गरेको दाबी निराधार भएको बताए। पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालमा मुद्दा दायर गरेको अवस्थामा नेपालले आफू ‘नबिराउनु, नडराउनु’ मान्यतामा अडिग रहेको उल्लेख गरे।
अध्यक्ष नेपालले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु ।’
उनले आफू किहल्यै पनि बदलाको भावनाबाट नचलेको बताए।