युक्रेनमाथि रुसको थप हवाई हमला, किभमा कम्तीमा सात जनाको मृत्यु

द एभरेष्ट पोष्ट
९ असार २०८२ १४:४४
युक्रेनमाथि रुसको थप हवाई हमला, किभमा कम्तीमा सात जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।
युक्रेनी आन्तरिक मामिला मन्त्री इहोर क्लिमेन्कोका अनुसार रुसले गरेको मिसाइल र ड्रोन आक्रमणले आवासीय क्षेत्र, अस्पताल र खेलकुद पूर्वाधारलाई क्षति पुर्‍याएको छ ।

किभका मेयर भिटाली क्लिच्कोका अनुसार राजधानीको एक बहुमञ्जिला आवासीय भवनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने किभमा मात्र २२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ ।

युक्रेनी वायु सेनाले पछिल्लो आक्रमणमा ३५२ वटा ड्रोन र १६ वटा मिसाइल प्रयोग गरिएको जनाएको छ । जसको मुख्य निशाना किभ क्षेत्र नै रहेको थियो । युक्रेनको आपतकालीन सेवा विभागले सार्वजनिक गरेको भिडियोमा एक उच्च आवासीय भवनमा आगो लागेको र त्रसित नागरिकलाई उद्धार गर्दै बाहिर ल्याइरहेको दृश्य देखिन्छ ।

स्थानीय अधिकारीहरूका अनुसार एक भूमिगत मेट्रो स्टेशनको प्रवेशद्वार पनि क्षतिग्रस्त भएको छ । आक्रमणको त्रासबीच धेरै नागरिकले रातभरी मेट्रो स्टेसनमै शरण लिए ।

राजधानीभन्दा दक्षिणतर्फ रहेको बिला त्सेर्कभा शहरमा पनि एक अस्पतालमा ड्रोन आक्रमण हुँदा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसअघि मंगलबार राति गरिएको अर्को रूसी आक्रमणमा किभमा कम्तीमा २८ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका थिए । यो आक्रमण २०२२ फेब्रुअरीमा शुरू भएको रूस–युक्रेन युद्धपछिको राजधानीमाथिको सबैभन्दा ठूलो आक्रमणमध्ये एक मानिएको छ ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार लन्डन प्रस्थान गर्दै छन् । उनले त्यहाँ बेलायती नेतृत्वसँग द्वन्द्व र सुरक्षा सहायता सम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस