भाउजुको हत्यामा संलग्न देवर सार्वजनिक, अनुसन्धान गर्ने प्रहरी टिम पुरस्कृत हुने
 
                                 कैलाली ।  कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा आफ्नै भाउजुको हत्या गरेको अभियोगमा पक्राउ परेका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेपछि २० वर्षीया सुत्केरी तुलसी नाथको हत्यामा संलग्न देवर नवीन नाथलाई आज सार्वजनिक गरिएको हो ।
गत शुक्रबार बिहान आफ्नै घर अगाडिको नालामा मृत फेला परेकी तुलसीको मृत्यु रहस्यमय बनेको थियो। अनुसन्धानपछि सुतिरहेको अवस्थामा राति १२ बजेतिर तुलसीको नाक, मुख र घाटी च्यापेर हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले जानकारी दिए।
प्रहरीका अनुसार हत्या पश्चात नवीनले सुनका गरगहना निकालेर शव नालामा फालेका थिए। ती गरगहना घर नजिकै ढुंगामुनि लुकाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतक तुलसीले हत्या हुनु भन्दा १६ दिनअघि मात्रै छोरालाई जन्म दिएकी थिइन्। शिसुलाई कुनै क्षति नपुगेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमान रोजगारीका लागि भारतमा रहेका छन् । घरमा कोही नभएको अवस्थामा तुलषीको हत्या भएको थियो। प्रहरीका अनुसार नवीन नाथविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले घटनाको सफल अनुसन्धान गरेबापत इलाका प्रहरी कार्यालय मालाखेतीको अनुसन्धान टोलीलाई भोलि पुरस्कृत गरिने घोषणा गरेका छन्। ‘घटना निकै जटिल र संवेदनशील थियो। तर डिएसपी रणबहादुर चन्दको कमान्डमा खटिएको ९ जनाको टोलीले उत्कृष्ट अनुसन्धान गरेर दोषी पहिचान गर्न सफल भएको छ,’एसपी राणाले भने, ‘यस अनुसन्धान टोलीलाई हामि भोलि पुरस्कृत गर्ने छौ ।।’

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     