भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइँदै

काठ्माण्डौँ- आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक सम्भवतः मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ । गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो ।
निर्देशक जोशीका अनुसार अदालती र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरूलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ । ‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौँ । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने ।
पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो । पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एक जना वीरेन्द्र शाही भन्ने व्यक्तिले आफ्नो अङ्कलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशीपुरमा ल्याएर फसाएको बताए ।
‘मैले केही थाहा पाइनँ मेरो दिनेश अङ्कलको फेक आइडी बनाएको रहेछ । अङ्कलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ । लगभग चार लाख ऋण नै लाग्यो । विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन । खानेकुरा पनि सुरुमा चिकेम–मटन दिने र राम्रो काम लगाइदिने भनियो । तर विभिन्न बहानामा कोठा थुनेर राखियो । यातना दिइयो । खानेकुरा पनि आलु, बेसार–पानी दिइयो । ज्यादै दुःख पायौँ ।’
घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरूको उद्धार कार्य सम्पन्न गरेको थियो ।
केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौँ,’ उनले भने ।
जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरूबाट भारतका विभिन्न सहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरूलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।