एसीसी यू–१६ : नेपाललाई सिंगापुरले दियो १३९ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई जितका निम्ति १३९ रनको लक्ष्य दिएको छ ।
मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि १३८ रन बनायो । सिंगापुरका कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । ओपनर आहान भुधानभामले ३८ रन जोडे । अर्का ओपनर रोशन अरुन ११ बनाउँदै आउट भए ।
सिंगापुलाई १३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपीन शर्माले चार विकेट लिए । सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक/एक विकेट लिए ।
एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।