यलाको सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचित

द एभरेष्ट पोष्ट
८ असार २०८२ ९:१४
यलाको सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचित

न्यूयोर्क, २२ जुन ।

नेपाली कवि रजन महार्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यला (Ode to Yala) न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ।

निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यला (पाटन)—काठमाडौँ उपत्यकाको ऐतिहासिक शहरको सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ।

पारिवारिक वातावरणमा सम्पन्न भएको विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविकीचार वर्षीया छोरी अरलानी, पत्नी अस्मिता र ससुरा अमृत मान महार्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरिन्।

कार्यक्रममा कवि महार्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे।

कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यला को सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पारे ।

उनले कवि महार्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे। “ओड टु यला मार्फत्,” उनले भने, “महार्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) का प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, रजिन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे।

वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जा पनि थिए।

निराला पब्लिकेशन्सको संयोजनमा फुडमाण्डुमा सम्पन्न विमोचन कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो ।   ओड टु यला अहिले अमेजन, फिलिपकार्ट, र दराजमा उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

अफ्रिकामा एकलब्य

२९ साउन २०८२ ८:१५

खोज्नुहोस