मनसुनजन्य विपदबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी

द एभरेष्ट पोष्ट
५ असार २०८२ १४:०२
मनसुनजन्य विपदबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी

कञ्चनपुरः  मनसुन सक्रिय हुँदै जाँदा यस वर्ष विपद् जन्य घटनाबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी थालिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले नौ वटै पालिकामा मनसुन जन्य विपदका घटनाबाट जोगिन पूर्व तयारी थालिएको हे। कञ्चनपुरको दक्षिणी क्षेत्र र दोधाराचाँदनी नगरपालिकामा बाढी र डुबानको समस्या अत्यधिक हुने भएकाले ती पालिकाहरूमा स्वयम् सेवक खटाइ उनीहरूलाई तालिम उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दोधारा चाँदनी नगरपालिकामा ५२ स्वयम् सेवक, लालझाँडी गाउँपालिकामा ५० स्वयम सेवक र लालझाडी गाउँपालिकामा २७ जना स्वयम् सेवकलाई पूर्व तयारी तालिम उपलब्ध गराइएको बताए। बाढी प्रभावित बस्ती, समुदाय र व्यक्तिको पहिचान गरी विपदको समयमा घर छोड्न र डुबानबाट जोगाउन सहज हुने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ।

स्वयम् सेवकहरुलाई आवश्यक सामग्री उपलब्ध गराउन पनि पालिकाहरूसँग छलफल भएको उहाँले बताउनुभयो । विपद् आएका बखत उनीहरूले समयमै डुबानमा परेकाको उद्धार गर्ने, उचित स्थानमा सार्नै र बाढी प्रभावित क्षेत्रको समयमै सूचना प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्व तयारी तथा विपद प्रतिकार्य योजना २०८२’ अपडेट गरेको छ, जुन साउन १ गतेदेखि लागू हुने जनाइएको छ । ‘हरेक पालिका, गैरसरकारी संस्था र सुरक्षा निकायमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ,’’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘‘पालिकामा रहेको सामुदायिक प्रतिकार्य समूहलाई तत्पर रहन आग्रह गरेका छौँ।’’

बाढी प्रभावित क्षेत्रमा कटान र डुबानको समस्या निवारण गर्न कटान रोक्न पूर्व तयारी थालिएको उहाँले बताए। हाल महाकाली नदीमा नेपाली सेनाले गाइडबण्ड निर्माणको काम गरिरहेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा पालिकाहरूले तटबन्ध निर्माणको काम गरिरहेका जनाइएको छ।
विपदबाट जोगिन बन्दोबस्त सामग्रीको तमतयार अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। विपद प्रतिकार्य योजनामा पहिचान गरी त्यसै अनुरूप आवश्यक परेको बेला संयन्त्र परिचालन गरिने उहाँले बताए।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुरले जिल्लाका विभिन्न ६ स्थानमा विपद् बेस क्याम्प खडा गरेको छ।, मनसुन जन्य विपदमा परेकाको तत्कालै उद्धारका लागि बेस क्याम्पस खडा गरिएको सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हेर्ड क्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार, शुक्लाफाँटा नगरपालिका १२ कालागौडी, गड्डाचौकी, भुजेला, कृष्णपुर नगरपालिका ५ सीमरी, बेलौरी नगरपालिका १० भुडा र दोधाराको कुतियाकभरमा विपद् बेस क्याम्प खडा गरिएको छ। प्रति बेस क्याम्पमा १० जना जनशक्ति परिचालन गरिने उहाँको भनाइ छ। हाल जिल्लामा विपद्सम्बन्धी तालिम गरेका ४० जना जनशक्ति उपलब्ध रहेका छन।

उहाँका अनुसार, जिल्लामा विपद् सूचक तयार गर्नै योजना पनि अगाडि बढाइएको छ। हाल १२ सय विपद् सूचक तयार गरिएको शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिए। उनले भन्ने ‘‘प्रत्येक वडामा २५ सूचकका दरले ९३ वटै वडामा २३ सय विपद् सूचक तयार गर्दे छौँ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस