गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

द एभरेष्ट पोष्ट
४ असार २०८२ १६:०२
गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका छन् ।
मध्य गाजा पट्टीको सालाह अल-दिन स्ट्रिटमा बुधबार बिहानै सहायताका लागि पर्खिरहेका मानिसमाथि इजरायली आक्रमणमा ११ जना प्यालेस्टिनी मारिएको र करिब एक सय जना घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् । मध्य गाजा पट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएर गरिएको आक्रमणमा छ जना मारिएका छन् भने अन्य घाइते भएका छन् ।

दक्षिणी गाजा पट्टीमा, खान युनिसको अल-मवासी क्षेत्रको अल-अत्तारमा विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली विमानले आक्रमण गर्दा तीन भाइसहित पाँच प्यालेस्टिनी मारिएको र अन्य धेरै घाइते भएका छन् । गाजा सहरमा, सहरको दक्षिणपूर्वमा अल-जेइटाउन छिमेकमा रहेको अली बिन अबी तालिब मस्जिद नजिकैको घरमा इजरायली आक्रमणमा आठ जना नागरिकको मृत्यु र अन्य धेरै घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ५५ हजार चार सय ९३ पुगेको छ भने एक लाख २९ हजार तीन सय ३२० जना घाइते भएका छन् । जनवरी १९ देखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिना रोकिएपछि इजरायली कब्जाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । यद्यपि, अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गर्दै इजरायलले बारम्बार आफ्ना सर्तहरू उल्लङ्घन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस