मस्कको स्टारलिंकलाई भारतमा लाइसेन्स प्रदान

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् ।
पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ ।
सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिंकका मालिक स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताए । ‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भन्नुभएको छ,’ मन्त्रीले मङ्गलबार मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भने ।
यो भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणा पछि आएको हो । स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन् ।
भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भएता पनि टेक उद्यमीको इलेक्ट्रिक सवारी साधन निर्माता टेस्लाले देशमा प्रवेशको तयारी गरिरहेको छ ।