कतै पनि सग्लो र धोएको मुला जस्तो पार्टी भेटिंदैन : बिष्णु पौडेल

काठमाडौं- सत्तारुढ नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम रहेको बताएका छन्।
समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताएका छन्। यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उनले स्पष्ट पारे।
नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन्। ‘कतै पनि सग्लो पार्टी भेटिंदैन । धोएको मुला जस्तो, गंगाजल जस्तो पार्टी भेटिंदैन’ उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ।’ एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधीको माध्यमबाट समाधान गरिने उनले बताए।
उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए। भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले बैधानिक रुपमा सच्याउनु पर्ने, कार्यन्वयन गर्न भएका अफ्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशन देखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भने, ‘केन्द्रीय कमिटीले विधानमा संसोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्द । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं।’ उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उनले जनसंगठनलाई निर्देशन दिए । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’
उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए। ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौं मानिस सडकमा आउँथे । अहिले किन मानिसह शिथिल भएका छन् ?’ उपाध्यक्ष पौडेलले भने, ‘आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन् । उनीहरुले यो भूमिका निवार्ह गर्नु पर्दछ।’ उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको शसक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले २०४६/०४७ सालका जनसंगठन, २०६२/०६३ सालका जनसंगठन धेरै शसक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसंगठन पनि सुस्ताएको बताए।