थप ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी

द एभरेष्ट पोष्ट
२ असार २०८२ १०:५४
थप ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुटानसहित ३६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
यही जुन महिनाको आरम्भमा ट्रम्पले १२ वटा मुलुकका नागरिकलाई अमेरिका पस्न प्रतिबन्ध लगाएका थिए । ‘विदेशी आतंकवादी’ बाट अमेरिकालाई जोगाउनका लागि यो कदम आवश्यक रहेको उनको भनाइ थियो ।

अमेरिकी विदेश मन्त्रालयले ती देशले विभिन्न मापदण्ड पूरा नगरेको आरोप लगाएको छ । विश्वसनीय परिचयपत्र प्रदान गर्न सक्षम वा सहयोगी केन्द्रीय सरकारी कार्यालयकोे अभाव र आफ्नो भिसाको सर्त उल्लंघन गर्ने ठूलो संख्यामा नागरिकको उपस्थिति हुनुजस्ता मापदण्ड ती देशले पूरा नगरेका बताइएको छ ।

तर, अमेरिकाबाट निष्कासित तेस्रो देशका नागरिकलाई स्वीकार्न तयार भएमा ती देशले छुट पाउन सक्ने पनि जनाइएको छ ।

भिसा, यात्रा वा अरू प्रतिबन्धको सामना गर्न सक्ने देशको सूचीमा अफ्रिकाका २५ मुलुक समावेश छन् । सूचीमा अंगोला, बेनिन, बुर्किना फासो, केप भर्डे, क्यामरुन, आइभोरी कोस्ट, कंगो, जिबुटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मलावी, माउरिटानिया, नाइजर, नाइजेरिया, साओ टोमे, प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

केही क्यारेबियन देश पनि सूचीमा छन् । सूचीमा एन्टिगुआ र बार्बुडा, डोमिनिका, सेन्ट किट्स र नेविस र सेन्ट लुसिया छन् ।

एसियाका चार देश सूचीमा छन् । एसियाका भुटान, कम्बोडिया, कीर्गिजस्तान र सिरिया सूचीमा छन् । ओसिनियाका टोंगा, टुभालु र भानुआतु सूचीमा छन् ।

यी देशसँग बुधबार बिहान ८ बजेसम्म विदेश मन्त्रालयलाई नयाँ सर्त पूरा गर्ने कार्ययोजनाको प्रारम्भिक योजना पेस गर्न समय दिइएको जनाइएको छ । यात्रा प्रतिबन्ध यो म्यादपछि लागू हुने नहुने भन्ने स्पष्ट पारिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस