कांग्रेसको महाधिवेशन २०८३ मंसिरभन्दा अगाडि हुन्छ : महामन्त्री थापा

द एभरेष्ट पोष्ट
३२ जेठ २०८२ १४:२६
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभन्दा अगाडि हुन्छ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८३ मंसिरभन्दा अगाडि नै हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६, क काठमाडौंले आयोजना गरेको कार्यक्रममा थापाले सबै नेताहरू मिलेर महाधिवेशन सार्न प्रयास गरेपनि पार्टीको महाधिवेशन २०८३ मंसिरभन्दा अगाडि नै हुने बताएका हुन्। त्यसभन्दा पछाडि महाधिवेशनलाई धकेल्न खोजे अदालतले नै रोक्ने उनले बताए।

थापाले महाधिवेशन अघि क्रियाशील सदस्य र विधान संशोधनको काम सक्नुपर्ने धारणा राखे। उनले पार्टीको विधान संशोधन गर्दा क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने जिकिर गरे।

प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था भए पार्टीमा चुलिएको गुटबन्दी आफै हटेर जाने उनको भनाइ छ। थापाले विधान संशोधन गर्दा पार्टीमा धेरै संख्यामा रहेका समितिका बारेमा पनि पुनर्विचार गर्नुपर्नेमा जोड दिए।

क्रियाशील सदस्यका विषयमा थापाले असार मसान्तभित्र क्रियाशील सदस्यको नवीकरण गर्ने कार्य सम्पन्न गरी नयाँ क्रियाशील सदस्य थप गर्ने प्रक्रियामा अघि बढ्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस