भारतबाट फर्किरहेका कोरोना सङ्क्रमितलाई सोझै घर पठाइदै
 
                                 धनगढीः भारतबाट फर्किरहेका केहीमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । विभिन्न नाकामा परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो। तर, सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको छ। जब कि नाकामा होल्डिङ सेन्टर छन्। तर, सङ्क्रमित त्यहाँ बस्दैनन्।
प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार जेठ २१ गतेदेखि हालसम्म प्रदेशमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किने शङ्कास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए। प्रदेशको मुख्य चार नाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर शङ्कास्पद व्यक्तिको परीक्षण गर्ने कार्य भइरहेको उनले बताए। चार वटै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ३५० वटा किट बाँडिएको छ । मुख्य नाकाहरू गौरीफन्टा र गड्डाचौकीमा अलि बढी र दुई वटा नाकामा आवश्यकतानुसार किट दिइएको जनाइएको छ।
जेठ २१ गते सबैभन्दा पहिले गौरीफन्टा नाकामै तीन जनामा कोरोना पुष्टि भएको थियो। कोरोना सुरु भएपछि विगतमा यही नाकाबाट सबैभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्केका थिए। भारतबाट फर्किनेबाट समुदायमा समेत कोरोना फैलिएको थियो।
सबैभन्दा बढी कोरोना सङ्क्रमणको जोखिम भारतबाट फर्किनेबाट भएपछि उनीहरूलाई केही दिनसम्म नाकामै छुट्टै होल्ड गर्नका लागि कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा होल्डिङ सेन्टर बनाइएको थियो। सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ मा निर्माण गरेको होल्डिङ सेन्टर जीर्ण बन्दै गएको छ । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन्। प्रयोगमा नआएपछि यी संरचना खुइलिनुका साथै जीर्ण बनिरहेका छन् । भारतबाट फर्किरहेका कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई भने घरमै आइसोलेसनमा बस्ने गरी पठाउने कार्य भइरहेको छ । सङ्क्रमण पुष्टि भएका व्यक्तिमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई घरमै बस्ने गरी पठाउने गरिएको जोशीले बताए।
भारतबाट फर्केका सङ्क्रमित व्यक्तिलाई सिधै घर पठाउँदा अरूमा कोरोना सर्ने जोखिम रहेको छ । त्यस्ता व्यक्तिलाई एक हप्तासम्म होल्डिङ सेन्टरमै राखेर उनीहरूको स्वास्थ्योपचार गर्न सके अरूमा सर्ने जोखिम नहुने कतिपयको बुझाइ छ। तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टरलाई प्रयोग गर्ने सन्दर्भमा कुनै पनि निर्देशन नआएको बताए।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     