सुदूरपश्चिम सरकारको राजस्व घाटा तीन अर्ब ६५ करोड ६६ लाख
 
                                 धनगढी : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सुदूरपश्चिम सरकारको कूल आठ अर्ब ७९ करोड ५१ लाख खर्च भएको छ।
कूल विनियोजनमध्ये चालुतर्फ चार अर्ब ८६ करोड ९५ लाख र पूँजीगततर्फ तीन अर्ब ९२ करोड ५७ लाख खर्च भएको छ। सोही अवधिमा प्रदेश सरकारको बजेट बचत १० अर्ब ९८ करोड नौ लाख र राजस्व घाटा तीन अर्ब ६५ करोड ६६ लाख रहेको छ।
प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आजको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा बजेट विलम्ब गरी आएकाले खर्च प्रभावित भएको बताए। चालु आर्थिक वर्षको चैतसम्ममा कूल विनियोजनको अनुपातमा चालु खर्चतर्फ ३७.८ र पूँजीगत खर्चतर्फ २०.९ प्रतिशत खर्च भएको छ। गत आर्थिक वर्ष भन्दा चालु खर्च बढ्दा पूँजीगत खर्च घटेको छ।
प्रदेशको आन्तरिक आय एक अर्ब एक करोड २९ लाख रहेको छ। प्रदेशका स्थानीय तहतर्फ कूल ४१ अर्ब ४३ करोड खर्च भएको छ। यस अवधिमा कर राजस्वतर्फ १४.२ प्रतिशत र गैरकर राजस्वतर्फ २५.७ प्रतिशतले वृद्धि भएको मन्त्री थापाले बताए।
कर राजस्व ५६ करोड ५७ लाख र गैरकर राजस्व ४४ करोड ७१ लाख सङ्कलन भएको छ। चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय कूल गार्हस्थ उत्पादन एक हजार ४९६ अमेरिकी डलर हुने अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेश प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादनमा वृद्धि भई एक हजार १५३ अमेरिकी डलर हुने अनुमान गरिएको छ।
कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको ७.०३ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.५२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.१९ प्रतिशत रहेको बताइएको छ।
यस्तै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत, सबैभन्दा बढी गण्डकी प्रदेशको ५.५१ प्रतिशत हुने अनुमान गरिएको छ।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     