सुदूरपश्चिमको प्रतिव्यक्ति आय बढ्यो, आर्थिक वृद्धिदर सबैभन्दा कम

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
मन्त्री थापाका अनुसार सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय गत आर्थिक वर्षको भन्दा वृद्धि भएको छ । सुदूरपश्चिम प्रदेशमा गत वर्ष एक हजार १२२ प्रतिव्यक्ति आय रहेकोमा चालु वर्ष एक हजार १५३ अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री थापाले बताए । सुदूरपश्चिममा २.७६ प्रतिशतले प्रतिव्यक्ति आय वृद्धि भएको हो ।
चालु आर्थिक वर्षमा राष्ट्रिय प्रतिव्यक्ति आय भने एक हजार ४९६ अमेरिकी डलर रहने अनुमान गरिएको छ । ‘परम्परागत कृषिमा निर्भरता, कमजोर औद्योगिक उपस्थिति र युवा जनशक्तिको आन्तरिक र बाह्य पलायनजस्ता कारणले प्रदेशको प्रतिव्यक्ति आय उल्लेख्य वृद्धि हुन सकेको छैन,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
यस्तै, चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । आर्थिक वर्ष ०८०-८१ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब छ अर्ब ७५ करोड थियो । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको योगदान ७.०३ प्रतिशत रहने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी तृतीय क्षेत्रले हिस्सा ओगटेको छ । ‘कुल गार्हस्थ्य उत्पादनको ५२.७५ प्रतिशत हिस्सा रहेको यस क्षेत्रको प्रमुख योगदानकर्ता सार्वजनिक प्रशासन, व्यापार र यातायात क्षेत्र रहेका छन्,’ आर्थिक सर्वेक्षणमा भनिएको छ । प्राथमिक क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान चालु आर्थिक वर्षमा ३४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । द्वितीय क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा १२.३ पतिशत ओगटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री थापाले चालु आर्थिक वर्षमा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत रहने अनुमान गरएको बताए । मन्त्री थापाका अनुसार उक्त आर्थिक वृद्धिदर सात प्रदेशमध्ये सबैभन्दा कम हो ।