अहमदाबाद विमान दुर्घटनामा एकमात्र जीवित यात्रु

द एभरेष्ट पोष्ट
३० जेठ २०८२ २१:१८
अहमदाबाद विमान दुर्घटनामा एकमात्र जीवित यात्रु

अहमदाबाद, १२ जुन ।

गुजरातको अहमदाबादमा १२ जुन २०२५ मा भएको एयर इंडिया फ्लाइट AI-171 को दुर्घटनामा एक मात्र जीवित यात्रुको पुष्टि भएको छ।

४० वर्षीय बेलायती भारतीय नागरिक विष्वश कुमार रमेश विमानको इमरजेन्सी विन्डोबाट बाहिर निस्केर जीवित बच्न सफल भएका छन्। उनी सीट ११ ए मा सवार थिए र इमरजेन्सी एक्सिटको नजिकै रहेकोले भाग्न सजिलो भएको बताएका छन्। उनले आफू होशमा आउदा लाशको थुप्रोमा रहेको र त्यहाँबाट भागेर बाहिर निस्किएको बताएका छन् । उनी अहिले अस्पतालमा उपचाररत छन्।

पत्रकारसंगको कुराकानीमा अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले दुर्घटनामा एक मात्र जीवित यात्रुको पुष्टि भएको जानकारी दिएका हुन्।

विमान टेकअफ गरेको केही सेकेन्डमै मेघाणी नगर क्षेत्रमा दुर्घटनामा परेको थियो। विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दल सदस्य थिए। दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। ४१ जना घाइते भएका छन्।

प्रहरी आयुक्त मलिकले बताए अनुसार, घटनास्थलबाट अहिलेसम्म २०४ जनाको शव फेला परिसकेको छ। यद्यपि, उनले अझै पनि केही बाँचेकाहरू भेटिने सम्भावना रहेको बताए, तर त्यसबारे हालसम्म ठोस विवरण छैन।

मृतकहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक थिए।

विमानको टुक्रा एक मेडिकल कलेजको होस्टलमा खसेपछि आसपासको क्षेत्रमा पनि आगलागी भएको छ। कम्तीमा ५ जना स्थानीय बासिन्दाको मृत्यु जमिनमै भएको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। घाइतेलाई नजिकका अस्पतालमा पठाइएको छ र राहत कार्यमा स्थानीय प्रशासन र सुरक्षा बल संलग्न छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायतका प्रधानमन्त्री कियर स्टारमरले शोक व्यक्त गरेका छन्। एयर इंडिया र टाटा समूहले मृतकका परिवारलाई  ८६,००० युरो क्षतिपूर्ति र घाइतेलाई पूर्ण चिकित्सा सहयोगको घोषणा गरेका छन्।

यो दुर्घटना बोइङ ७८७ ८ ड्रीमलाइनरको पहिलो ठूलो दुर्घटना हो। बोइङ कम्पनी र भारतीय नागरिक उड्डयन मन्त्रालय यस घटनाको अनुसन्धानमा सक्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस