सफलताको चाङमा उभिएका शौभाग्य

द एभरेष्ट पोष्ट
२९ जेठ २०८२ २३:३४
सफलताको चाङमा उभिएका शौभाग्य

दीर्घराज उपाध्याय

भनिन्छ, एउटा सफलताका पछाडि कैयौं असफलता लुकेका हुन्छन् । बाटोका मोड जस्तै हुन्, असफलता । आईरहन्छन । मोडहरुलाई पार गरेर अघि बढ्नेहरु सफल हुन्छन् । नसक्नेहरु त्यही मोडमा हराउछन् ।

शौभाग्यलाल श्रेष्ठ अपवाद थिए । उनी पटक पटक असफल भए । असफलतालाई पैतालामुनी कुल्चिएर उनी अघि बढिरहे । हुन् पनि, मान्छे एउटै असफलतबाट आत्तिन्छ । निराश हुन्छ । भाग्य सराप्छ । तर उनी न निराश भए । न गले । न आत्तिए । उनले उल्टै असफलताको चाङलाई सिढि बनाए । र उभिए, सफलताको शिखरमाथि ।

बासंग पटक्कै मेल नखाने उनको केमेष्ट्रि । सफल हुन नसक्ने उनी । उनको असफलता नस्वीकार्ने पिता ।

मान्छेका जीवनमा पछाडिबाट धकेल्ने । हात तान्ने । कोही न कोही हुनपर्छ । तव मान्छे कठिन घडीमा पनि सहजै अघि बढ्छ । उनका लागि बा थिए । जसले कहिले रोकिन दिएनन् । बा भरोसा । बा तागत । बाको दरिलो आड । बाले पछाडि फर्किन दिएनन् । र त, उनले कहिल्यै पछाडि हेर्न परेन ।

२००९ साल साउन १२ गते कृष्ण पञ्चमीमा जन्मिएका उनी कनकलाल श्रेष्ठ र सावित्री श्रेष्ठका माहिला सन्तान थिए । उनीभन्दा अघि एक दाई, एक दिदी थिईन । पछि एक भाई ।

उनको जन्म तत्कालिन काठमाण्डौं – २६ कमलपोखरी (हाल– १) मा भएको थियो । हाल सिटी सेन्टर रहेको ठाउँमा गोठ थियो । त्यही गोठ उनको जीवनको पहिलो पाठशाला थियो । दिउँसो त्यहाँ पढाई हुन्थ्यो । एक जना पुरेतले पढाउथे । उनले त्यहाँ छ महिना पढे ।

२०१४ सालमा उनी मण्टेश्वरीमा भर्ना भए । हाल जहाँ विश्वज्योती हल छ । पारीपट्टि मण्टेश्वरी । मण्टेश्वरीको पूर्वपट्टि ईञ्जिनियरिङ स्कुल थियो । स्कुल जादा हरेक दिन ईञ्जिनियरिङ स्कुलको साईनबोर्ड देख्थे । त्यही साईन बोर्ड हेर्दा हेर्दै उनभित्र हुर्किएको थियो, ईञ्जिनियर बन्ने सपना ।

एउटा बहुचर्चित भाषणमा मार्टिन लुथर किङले भनेका थिए, मसंग एउटा सपना छ ।

मान्छेले बाँचेको जीवन, भोगाई, परिवेश र आवश्यकताहरुले सपनाको निर्माण गर्छ । उनको त्यो सपना जातीय समानताको थियो । अन्ततः उनले त्यो सपना पुरा गरीछाडे ।

त्यस्तै एउटा सपना शौभाग्यभित्र पनि हुर्किएको थियो । उनलाई सपनाको मूल्य थाह थिएन । देख्नलाई के को मूल्य ? उनले ईञ्जिनियर बन्ने सपना देखे ।

मण्टेश्वरी स्कुलमा थिईन, चन्द्रकला किरण गुरुआमा र दामोदर गुरुवा । गुरु आमा र गुरु बाका अगाडि को देखा परोस ? डर र सम्मान उस्तै ।

उनका बा शिक्षक थिए । बाले शान्ति विद्या गृहमा लैनचोरमा भर्ना गरिदिए । योगनाथ प्याकुरेल हेडसर थिए । मण्टेश्वरीबाट सोझै ४ कक्षामा भर्ना भए । अरु कक्षा पढ्नै परेन । उनी सबैभन्दा सानो थिए । सबैले पिट्थे । लुक्न छेउको कन्या स्कुल जान्थे । कमलपोखरीबाट हिडेर ४० मिनेटमा स्कुल पुग्थे ।

२०१६ सालमा ५ कक्षामा दरवार हाईस्कुलमा भर्ना भए । स्कुलमा खाजा दिन्थ्यो । खाजामा जलेवी, स्वारी, बम्बईसन (गुँदपाक) मिल्थ्यो । सबै निशुल्क । परीक्षा शुल्क भने दुई रुपैया ।

बासको कलम । माटोको मसी भाडो । नेपाली कागज । मसीमा कलम चोप्यो । लेख्यो । अहिलेजस्तो कलम, कापी आईसकेको थिएन ।

उनी ५ कक्षा पास भए । ६ कक्षामा भने उनलाई ६ विषय लाग्यो । नेपाली र संस्कृतमा पास । अरु सबैमा फेल ।

बाले शान्ति विद्या गृह लैनचौरमा ७ कक्षामा भर्ना गरि दिए । उनी त भाग्यमानी । नामै सौभाग्य । फेल भए । कक्षा दोह¥याएनन् ।  विश्वम्भरनाथ प्याकुरेल उनका मिल्ने साथी थिए । उनको रोल नम्बर ५१ । प्याकुरेलको ५२ । आठ कक्षा त्यही पढे ।

बिफर फैलियो । साउन, भदौमा पढाई भएन । परीक्षा रोकियो ।

पढे शान्ति गृहमा । बाले उनलाई प्राईभेटबाट परीक्षा दिलाए, जेपी हाईस्कुल क्षेत्रपाटीबाट । बा शिक्षक हुनुको फाईदा यहाँ पनि भयो । पास भए । ९ कक्षामा भर्ना भए । पद्मोदय स्कुलमा ।  २०२१ सालमा ।

त्यहीबाट एसएलसी दिए । दुई विषय लाग्यो । फेल भए । उनी पास कम । फेल बढि हुन्थे । एसएलसीमा पनि त्यही भयो । माघमा जाँच हुन्थ्यो । असारमा रिजल्ट आउथ्यो । उनले पुनः परीक्षा दिए । २०२३ सालमा रिजल्ट आयो । उनी पास भए ।

न्यूरोडमा परीक्षा नियन्त्रण कार्यालय थियो । रिजल्ट आउथ्यो, राससको अफिसमा । त्यहाँ रिजल्ट हेर्नेको भीड लाग्थ्यो । भीड भडकियो । रसियन भोल्गा कारमा भीडले आगो झोस्यो । कार जलेर खरानी ।

न्हयौखा क्षेत्रपाटीमा कन्या मन्दिर हाईस्कुल थियो । विहान त्यहाँ महेन्द्र रत्न पब्लिक कलेजको पढाई हुन्थ्यो । राजा महेन्द्रले त्यो स्कुल उद्घाटन गरेका थिए । २०२४ सालमा उनी महेन्द्र रत्न पब्लिक कलेजमा भर्ना भए । रत्नका छात्रहरुले कन्या मन्दिरका छात्राहरुलाई जिस्क्यायो भनेर कलेज बसन्तपुमा सारियो । कुमारी घरको अगाडि कलेज सञ्चालन हुन थाल्यो ।

उनको घरबाट कलेज पुग्न साईकलमा २५ मिनेट लाग्थ्यो । बिहान ६ देखि ८ः४० बजेसम्म चार पिरियड पढ्थे । घर जान्थे । भात खाएर थापाथली पढ्न जान्थे । थापाथलीमा टेक्निकल टे«निङ ईन्स्टिच्यूट थियो । हाल सञ्चालित ईञ्जिनियरिङ अध्ययन संस्थान त्यही हो । क्याम्पसमा एक वर्ष बेसिक टे«निङ गरे । वेल्डिङ र फोर्जिङको ।

त्यहाँ ईलेक्ट्रिक, मेकानिकल र अटोमेकानिक्सको पढाई हुन्थ्यो । उनले ईलेक्ट्रिक ईञ्जिनियरिङ रोजे । पहिलो वर्षको पढाईमा सबैलाई एउटै काम दिईन्थ्यो ।

दोस्रो वर्ष पढ्दै थिए । तथ्यांक बिभागमा अन द जब अन्तर्गत वायरिङको काम गरे । जहाँ बिजुली बिग्रियो उनी त्यहाँ जान्थे ।

२०२५ मा प्रमाण पत्र तहको पढाई पुरा गरे । नेपाल नेशनल कलेज (हालःशंकरदेव क्याम्पस) स्नातकमा भर्ना भए । दिउँसो थापाथलीमा पढ्न जान्थे । राति शंकरदेवमा । राति छ बजेदेखि ९ बजेसम्म शंकरदेवमा पढाई हुन्थ्यो । जनकनाथ प्याकुरेल र तर्कराज ओझा शिक्षक थिए ।

२६ सालमा थापाथलीबाट तीन वर्षे डिप्लोमा ईन ईलेक्ट्रोनिक्सको पढाई सके । विषय अनुसार सम्बन्धित बिभागमा पास भएको जानकारी पठाईन्थ्यो । अनि तुरुन्त जागीर मिल्थ्यो । उनी विद्युत विभाग गए । तीन दिन हाजिर लगाए । विद्युत विभाग कर्मचारी प्रशासनमा पुण्यप्रसाद निरौला शाखा अधिकृत थिए । निरौलाले उनलाई नियुक्ति पत्र दिए । सुनकोशी । त्रिशुली । हेटौडा । सिमरा र बिरगञ्ज मध्ये एक ठाउँ जानुपथ्र्यो । उनले हेटौडा रोजे ।

त्यतिबेला लोकभक्त ट्रान्सपोर्ट र हिमालयन जनता ट्रान्सपोर्टले त्रिभुवन राजपथ बस चलाउथ्यो । काठमाण्डौं–हेटौडा । हेटौडा– बिरगञ्ज । काठमाण्डौं–हेटौडा रुटको टिकट १२ रुपैया थियो । बस चढेर हेटौडा पुगे । २०२७ साल बैशाख १७ गते उनी कार्यालयमा हाजिर भए । उनको पद थियो, सुपरभाईजर । विद्युत विभागमा सुपरभाईजर पद हुन्थ्यो । त्यही पढाईको व्यक्ति भवन विभागमा ओभरसियर हुन्थ्यो ।

उनको मातहतमा सिनियर ईलेक्ट्रिसियन मातहतमा थिए । मिटर रिडिङ र टेष्टिङको काम उनले हेर्थे । त्यो बेला हेटौडा र अमलेखगञ्जमा विद्युतका ४९५ जना ग्राहक थिए । १० युनिटको चार रुपैया शुल्क तोकिएको थियो ।

उनको मासिक तलव २५० रुपैया थियो । भत्ता ६२ रुपैया ५० पैसा पाउथे ।  कोठा भाडा ३० रुपैया थियो । होटलमा खाना खान्थे । एक छाक सादा दालभात तरकारीको दुई रुपैया २५ पैसा पथ्र्यो । खाना मन परेन । स्टोप किने । आफै बनाउन थाले । जिन्दगीमा कहिल्यै खाना नपकाएका । कहिले भात काँचो । कहिले धेरै पाक्ने । विस्तारै खाना बनाउन सिके ।

विहान १० देखि ५ जागीर थियो । बीएको पढाई छोडेर आएका थिए । हेटौडामा एउटा मात्र स्कुल थियो, भुटनदेवी हाईस्कुल । सोचे, खाली किन बस्नु ? साँझ ट्युसन पढाउन थाले । प्रति विद्यार्थी शुल्क तोके, दुई रुपैया । अरुले ३० रुपैया लिन्थे । हिसाव पढाउथे । केही समयमै टोलमा उनको चर्चा हुन थाल्यो । राम्रो चामल, दाल खान पाउन थाले ।

२०२८ साल मंसिर २७ गते विहीवार युवराजको पास्नीको विदा । शनिवार सार्वजनिक विदा । शुक्रवारको क्यावी विदा लिए । तीन दिनमा फर्किने गरी काठमाण्डौं गएका उनी बीएको परीक्षामा सहभागी भए । उनकी दिदी पनि बीएको जाँच दिदै थिईन् । दिदीको नेपालीको नोट पढेर उनी पास भए । दिदी फेल । अंग्रेजीमा भने यस पटक पनि उनी फेल भए ।

त्यसपछि हेटौडा जान मन गरेनन् । सरुवा मागे । पाएनन । विद्युत कर्पोरेशन र रेडियो नेपालमा जागीरका लागि निवेदन दिए । रेडियो नेपालमा अन्तर्वार्तामा पास भए । २०२८ साल चैत पहिलो हप्ता नियुक्ति पाए । र, प्राविधिक रुपमा काम गर्न थाले । तलव थियो, २५० रुपैया । उनी सहित नेपाल रेडियोमा ८ जना प्राबिधिक नियुक्त भए ।

त्यो बेला, रेडियो नेपालमा सरोज गोपालको देउराली उकाली चढेर, बिजयपुर खोला तरेर, ज्यानलाई पर्नुप¥यो गीत खुव बज्थ्यो ।

२०२९ सालमा बीए पास भए । त्रिभुवन विश्व विद्यालयमा एमए पढ्न थाले । बिहान र साँझ रेडियो नेपालमा काम गर्थे । दिउँसो पढ्न जान्थे । बाल कार्यक्रम र हरीप्रसाद रिमालका नाटक रेकर्ड गर्थे । केही नाटकमा उनले बोले पनि ।

उनी कन्ट्रोल रुममा थिए । विहानै आएर रेडियो खोल्थे । शंखध्वनीबाट रेडियो शुरु हुन्थ्यो । सिद्धान्तराम जोशी र कल्याणी रिमालले पालैपालो भन्थे,नमस्कार यो रेडियो नेपाल हो । त्यसपछि धार्मिक कार्यक्रम शुरु हुन्थ्यो । धार्मिक कार्यक्रम सात बजेसम्म चल्थ्यो । पुरुषोत्तम सापकोटा र सहयोगी चण्डिका पौड्यालले धार्मिक कार्यक्रम चलाउँथे । लोचननिधि तिवारीले गीता प्रबचन र खेमराज केशवशरण लक्ष्य चिन्तन चलाउँथे । तिवारी गीता प्रबचन शुरु गर्दै भन्थे, भगवान कृष्णले गीतामा भएको छ, कर्म गर फलको आशा नगर ।

भक्तराज आचार्य रेडियो नेपालमा जागीरे थिए । नारायण गोपाल, बच्चु कैलाश दिउँसो गीत रेकर्ड गर्न आउथे । दीप श्रेष्ठहरु भर्खर गीत गाउन थालेका थिए ।

बासुदेव मुनालले साँझ बाल कार्यक्रम चलाउन आउथे । २०२९ सालतिर पाण्डव सुुनुवार लोकगीतको कार्यक्रम चलाउथे ।

उदित नारायण झा एसएलसी पास भएर पढ्न काठमाण्डौं आएका थिए । झा रत्नराज्यमा आईए पढ्थे । सञ्चारमन्त्री चतुर्भुज प्रसाद सिंहले झालाई रेडियोमा जागीर लगाए । झा भजन र राष्ट्रिय गीत गाउँथे ।

एमएको तीन वर्षे कोर्स थियो । एक वर्ष पढाई हुन्थ्यो । एक वर्ष दुर्गममा सामाजिक सेवा गर्नुपथ्र्याे । राष्ट्रिय विकास सेवाले सामाजिक सेवा अनिवार्य गरेको थियो ।

उनी सिन्धुपाल्चोकको ज्यामिरे गाउँ पुगे । ज्यामिरे जान पाँचखालबाट हिड्नु पथ्र्यो । दुई नदी तरेर दुई दिनमा उनी त्यहाँ पुगेका थिए । एक ठाउँमा  माझीको काँध चढेर नदी पार गरे ।

उनले त्यहाँ स्कुलमा पढाए । सामाजिक कार्य गरे । उनीसंगै थिए, सहपाठी केशर बहादुर बिष्ट । बिष्ट छ महिनापछि फर्के । उनी त्यही पढाउन थाले । उनलाई अझै सम्झना छ, डिल र दिल बहादुर दुई विद्यार्थी फेल हुने डरले स्कुल आउन मान्थेनन । उनले सम्झाए । फकाए । र, सबैलाई स्कुल जान प्रेरित गरे । एक विद्यार्थी थिए, बीरे सार्की । सार्कीले मकै छोएको भन्दै एक विद्यार्थीले फालेको मकै टिपेर उनले आए । दलित छोएको खानेकुरा खाए जात जान्छ भन्ने रुढीवादी विश्वास तोड्न उनले कोसिस गरे । उनले गाँउको प्रोफाईल पनि बनाए ।

राष्ट्रिय विकास सेवा कार्यालयको निर्देशक थिए, डा. राजेन्द्र कुमार रोङगोङ्ग । उनको कामको मूल्यांकनका लागि राष्ट्रिय विकास सेवा कार्यालयबाट गणेश बल्लभ शर्मा, बिरेन्द्रभक्त श्रेष्ठ र राजेशराज आचार्य आएका थिए । उनीहरुले स्थानीय बासिन्दासंग सोध्थे । मूल्यांकन फाराम भर्थे ।

राष्ट्रिय विकास सेवा कार्यालयले सामाजिक कार्य गरे वाफत प्रति महिना २५० भत्ता दिन्थ्यो । उनी प्रधानको घरमा ३० रुपैया भाडा तिरेर बसेका थिए ।

एमएमा नेपाली, अर्थशास्त्र, भाषाशास्त्र र अंग्रेजी विषय पढाई हुन्थ्यो । उनको व्याँचमा २१२ जना विद्यार्थी थिए । बिष्टसंगै कपिल श्रेष्ठ, नरहरी आचार्य, जयराज आचार्य र कयोदेवी यमी पनि उनको सहपाठी थिईन् । सबै विद्यार्थी एक वर्षे अनिवार्य सामाजिक सेवाका लागि समुदायमा गएका थिए । सबैले समुदायमा काम गरे ।

सबैको मूल्यांकनको परिणाम अनुसार हरीशंकर निरौला प्रथम भए । उनी दोस्रो भए । तेस्रो हुने थिए, शम्भुप्रसाद मुडभरी । रेडियो नेपालले त्यो समाचार निकै महत्वका साथ विहान ७ बजे, अंग्रेजीमा ८ बजे, ९ बजे नेपालीमा, दिउँसो २ः३० बजे, बेलुका ७ बजे र राति ८ बजे अंग्रेजीमा प्रशारण ग¥यो । समाचार सुनेका घरबेटीलाई लागेछ, उनी अञ्चलाधीश भए ।

राष्ट्रिय विकास सेवा कार्यालय हटेपछि विद्यार्थीले एक वर्ष अनिवार्य रुपमा सामाजिक कार्य गर्नुपर्ने व्यवस्था पनि हट्यो ।

उनले २०३२ मा रेडियो नेपालको जागीर छोडे । उनी प्रज्ञा प्रतिष्ठानमा बिजुली मिस्त्री पदमा काम गर्न थाले । उनको काम थियो, नाटकका लागि स्टेजको लाईट मिलाउने ।

दार्जिलिङबाट आएका मन बहादुर मुखियाले दोलखाको चिलाङ्खामा बसेर त्यहाँको बस्तुस्थितिमा आधारित ‘अनि देउराली रुन्छ’, नाटक लेखे । मुखियाको नाटक हाउसफुल हुन्थ्यो । ३, ५, १० र १५ रुपैयाको टिकट थियो । मान्छेहरु टिकट काटेर नाटक हेर्थे । नाटकको बीचमा खुव ताली बज्थ्यो ।

कमल पोखरी घर । प्रज्ञामा हाजिर लगायो । पढ्न गयो । बेलुका शो हुन्थ्यो । पढेर फर्केपछि उनी काममा जुट्थे । प्राबिधिक पाँचौ तहको जागीर । ५१० रुपैया तलव । उनी भत्ता सहित आठ सय भन्दा बढि रुपैया बुझ्थे । जवकी त्यो समय सेक्सन अफिसरको तलव ५५० थियो । एमएम पास भए । १० महिनामै प्रज्ञाको जागीरबाट राजिनामा दिए ।

अमेरिकाको बाटो खोल्ने युएसएआईडीको जागीर

एमए पास भएपछि उनले प्रज्ञा प्रतिष्ठानको जागीर छोडिसकेका थिए । नयाँ जागीरका लागि त्यहीबीच थुप्रै ठाउँमा आवेदन दिए । त्यसमध्ये एक थियो, युएसएआईडी । उनलाई युएसएआईडीमा बोलायो । टाईप सिकेको छ कि छैन भनेर सोध्यो । उनले छैन भनेपछि सिकेर आउन भनियो । न्यूरोडमा साथीको पसलमा एक महिना टाईपिङ सिके । र, जागीर खान गए । उनी १९७७ फेब्रअुरी २४ मा युएसएआईडीमा जोडिए ।

शुरुवाती दिनमा तालिम शाखामा काम गरे । अमेरिकाले नेपालबाट २५० जनालाई भारत सहित बिभिन्न देशमा शैक्षिक भ्रमण तथा तालिममा पठाउथ्यो । अमेरिका, अमेरिकन युनिभर्सिटी बेरुत(एयुवी), फिलिपिन्समा पठाउथ्यो ।

उनी लगनशील र ईमान्दार थिए । हरेक वर्ष उनको गे्रड थप हुदै गयो । अवार्ड पनि पाउदै गए । त्यहीबीच उनले राप्ती परियोजनाको (राप्ती आईआरडी प्रोजेक्ट) योजना तथा अनुगमन विशेषज्ञको रुपमा काम थाले ।

तीन वर्षपछि उनी युएसएआईडीका तर्फबाट परियोजना प्रमुख भए । सरकारका तर्फबाट रामेश्वर साह प्रमुख थिए । कृषि र पशुका क्षेत्रमा परियोजनाले काम गथ्र्यो । तुल्सीपुर–सल्यान, घोराही–प्युठान, चकचके –रोल्पा सडक विस्तार शुरु भयो । उनको कार्यक्षेत्र रुकुम, रोल्पा, सल्यान, दाङ र प्युठान थियो ।

शुरुमा उनको तलव ७९० रुपैया थियो । पछि बढेर चार हजार पुग्यो ।  १९८३ मा उनले परियोजना कार्यान्वयन कोर्सका लागि थाईल्याण्ड जाने अवसर पाए । १९८७ अप्रिलमा युनिभर्सिटी अफ पिट्सबर्गमा प्लानिङ म्यानेजमेण्टको छ महिने कोर्सका लागि अमेरिका गए । सरकारी कोटामा त्यहाँ गएका उनले शुल्क तिर्नु परेन ।

१९८९ मा खानेपानी, सिंचाई, रेसम खेतीको अध्ययनका लागि थाईल्याण्ड र ईण्डोनेशियाका गाउँहरु घुम्ने मौका पाए ।

अमेरिकी सरकारका लागि १५ वर्ष काम गरेपछि ग्रिनकार्ड मिल्थ्यो । १९९३ मा भीसाका लागि निवेदन दिए । अमेरिकामा काम मिल्ने निश्चित नभएका कारण छ महिना नेपालमै बसे । भीसाको म्याद सकियो ।

त्यहीबेला क्लार्क एटलान्टा युनिभर्सिटीले प्रजातन्त्र सुदृढिकरण परियोजनाका लागि गोरखा, दाङ र सिराहाका प्रोजेक्ट म्यानेजर खोज्यो । बायोडाटा पठाएका उनी छानिए । १९९४ मा उनी होम अफिस प्रोजेक्ट म्यानेजर भए एटलान्टा पुगे । तीन वर्षपछि परियोजना सकियो । म्याद थपिएन । १९९६ देखि न्यूयोर्क, लसएञ्जल्स, सियाटल लगायतका अमेरिकीन अध्यागमन अदालतमामा दोभाषेको काम गरे ।

२००१ मा स्टेट डिपार्टमेण्टमा जोडिएका उनी त्यसयता फ्रिलायन्सरका रुपमा दोभाषेको काम गर्दै आएका छन् ।

भर्जिनिया र वासिङट्न राज्यको सियाटलका शिक्षण संस्थाहरुले कोर्समा विदेशी भाषाहरु पनि समावेश गरेका छन् । जसमध्ये नेपाली भाषा पनि समावेश छ । त्यहाँ अमेरिकी बाहेक अन्य विदेशी भाषा जान्ने विद्यार्थीलाई क्रेडिट दिने गरिएको छ । त्यसमध्ये नेपाली भाषा पनि एक हो । उनी विद्यार्थीहरुको भाषा परीक्षण र टेष्ट डिजाईन गर्ने भूमिका पनि निर्वाह गरिरहेका छन् ।

लामो समयदेखि अध्यागमनको आश्रय (असाइलम) का केशहरुमा उनी दोभाषेको भूमिका छन् ।  ईराकमा हत्या गरिएका नेपालीका साथीहरुको बयानका क्रममा उनले दोभाषेको काम गरे ।

केही महिनायता रुकुमको आठवीसकोट र दाङका डेढ सयभन्दा बढि नेपालीको दोभाषे भए । नेपालीहरुको दोभाषे हुदाका अनौठा अनुभव छन्, उनीसंग । भन्छन्, खनाल, खत्री, वली, डिसी थर छ । तर उनीहरु नेपाली भाषा बोल्न आउदैन् । थारु भाषा मात्र बोल्न आउछ  भन्छन् ।

दलालले उनीहरुलाई जुन भाषाको अनुवादक छैन, त्यही भाषा बोल्न लगाउने गरेको पाएका छन् । मगरले नेपाली बुझ्छु भन्दैन्, खाम मगर अनुवादक चाहियो भन्छन् ।

दोभाषेको जिम्मेवारी भाषाको अनुवाद गर्ने मात्र होईन । भन्छन्, उनीहरुको सेन्टीमेन्ट, टोन, हाउभाउ बुझ्नु पर्छ । दुई भाषा बुझ्दैमा दोभाषे हुदैन ।

पहिले जागीर, अनि विवाह 

उनी २७ वर्षका थिए । २०३६ सालमा फागुन १२ गते शिक्षा दिवस । मल्लके सुन्दरकी बहिनी गंगासंग उनको मागी विवाह भयो । मल्लके सुन्दरकी बहिनी थिईन, उनकी जन्ती लिएर बांगेमुढा जादा कमलपोखरी बस्नेलाई छोरी किन दिएको होला भन्थे । कमल पोखरीमा दिउँसै स्याल कराउथे । काठमाण्डौंभित्रै कमलपोखरी दुर्गम र डरलाग्दो मानिन्थ्यो ।

परिवारले उनलाई विवाहका लागि कर गर्थे । विवाहका लागि उनका दुई शर्त थिए । पहिलो, पढाई पुरा गर्ने । दोस्रो, दरिलो जागीर खाने । दुईटै शर्त पुरा भए । उनी विवाहका लागि राजी भए । गंगाबाट दुई सन्तान जन्मिए । एक छोरा । एक छोरी । एमबीए पढेकी छोरी शैली बजेट विश्लेषक छन् । छोरा सगुन कम्प्युटर ईञ्जिनियर ।

असफलताको चाङमाथि  सफलता

सफलता त्यस्ता मान्छेहरुले प्राप्त गर्छन्, जो लक्ष्य प्रति दृढ रहन्छन्, नेपोलियनको यो भनाई उनले सधै अवलम्बन गरे । र, त उनी एउटा असफलताबाट आत्तिएनन् । न त उनी एउटा सफलताबाट मात्तिए ।

एसएलसीमा पहिलो पटक अंग्रेजीमा फेल भए । दोस्रो पटक पास । समय बदलियो । उनी पनि । अंग्रेजको देश आईपुगे । जागीर खाए, दोभाषेको । नेपालीलाई अंग्रेजीमा । अंग्रेजीलाई नेपालीमा । जुन विषयमा फेल भए । उनी त्यही भाषामा पछि पोख्त भए । असंभव केही छैन । उनी उदाहरण हुन् ।

उनी दोभाषेका रुपमा अमेरिकी सरकारको विदेश मन्त्रालय र अध्यागमन बिभागका लागि काम गर्छन । बेलाबेलामा उनी अदालतमा पनि दोभाषेको काम गर्छन् । अमेरिकी अदालतमा चलेको ईराकमा मारिएका नेपालीहरुको मुद्दामा उनी दोभाषे   थिए ।

डिपार्टमेण्ट अफ स्टेटले प्रत्येक वर्ष थुप्रै नेपालीलाई आईभीएलपीमा अमेरिका ल्याउछ । उनी आईभीएलपीका लागि पनि दोभाषेका रुपमा काम गर्दै आएका छन् ।

जव डिपार्टमेण्ट अफ स्टेट, अध्यागमन, अदालतलाई नेपाली भाषाको बीज्ञको आवश्यकता पर्छ । उनी बोलाईन्छन् । उनी दोभाषेसंगै कागजातको अनुवाद पनि गर्छन् । यद्दपि उनी एक्ला नेपाली दोभाषे भने होईनन् । यो जिम्मेवारी निर्वाह गर्ने सयजना भन्दा बढि नेपाली दोभाषेहरु छन् ।

दाईभाईलाई बाडे आफ्नो हिस्सा

राणाको पालादेखि कमलपोखरीको वैद्य परिवारको मान थियो । उनी त्यही परिवारका सन्तान थिए । कमल पोखरीमा घर र खेत थियो । मनग्गे धान उब्जनी हुन्थ्यो । राजाबाट बक्सिसमा पाएको जमीन स्वयम्भु, नैकाप, बालाजु, सैंबुटारमा थियो ।

उनलाई बुवाको सम्पत्तीको लोभ थिएन । पुख्र्यौली सम्पत्ती लिएनन । दाई र भाईलाई छोडिदिए । चारखाल अड्डामा गएर सम्पत्तीमा दावी नगर्ने भनेर सनाखत गरे । सम्पत्तीमा दावी गर्दैन भनेर सनाखत गर्न पनि उनीसंग चारखाल अड्डामा घुस मागेको कुरा उनी अझै बिर्सेका छैनन् ।

उनी स्वाभिमानी थिए । अरुको कमाईमा कहिल्यै लोभ गरेनन् । आफूले जे जती कमाए । त्यसैमा रमाए । हुन् पनि २०५० सालमा उनको मासिक तलव ३० हजार रुपैया थियो । त्यतिबेला नेपाल सरकारका सचिवको तलव त्यसको आधा पनि थिएन ।

उनी सरल छन् । सहयोगी । र, मनकारी पनि । एटलान्टाको जर्जियास्थित उनको घर बेरोजगार नेपालीहरुका लागि धर्मशाला जस्तै थियो ।

जतिबेला गैर आवासीय नेपाली संघ स्थापना भएको थिएन । नेप्लिज एशोसियसयन ईन साउथ ईष्ट अमेरिका (नासा) १९९१ मा जन्मिएको थियो । दक्षिण पूर्वी अमेरिकामा आपत, विपतमा परेका नेपालीहरुका लागि काम लाग्ने यही एउटा संस्था थियो । जो दशैं, तिहारमा नेपालीहरुको एक्लोपन र नियास्रो मेट्ने अभिभावक जस्तै थियो । नासाको स्थापना पनि विजया दशमीमा भएको थियो ।

उनी यो संस्थामा चार वर्ष सदस्य रहे । दुई कार्यकाल कोषाध्यक्ष रहे । एक एक कार्यकाल अध्यक्ष र उपाध्यक्षको भूमिकामा रहेर काम गरे । उनी नासाका सांस्कृतिक कार्यक्रमको संयोजकका रुपमा काम गर्थे । उनले २००९ र २०१७ मा निर्वाचन आयुक्तको पनि भूमिका निर्वाह गरे । २००० को जुलाईमा भएको नासाको साधारण सभाबाटै एनआरएनको अवधारणा आएको हो ।

उनी अमेरिकामा मात्र सामाजिक कार्यमा सक्रिय छैनन् । नेपालमा पनि सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनी दुई वर्षअघि सिन्धुपाल्चोक पुगे । आफूले पढाएको ज्यामिरे माविमा ६ लाखको शुभगंगा अक्षयकोष स्थापना गरे । अक्षयकोषको व्याजबाट हाल ६ जना विद्यार्थीले छात्रवृति पाईरहेका छन् ।

म्ह पूजा सञ्चालन गर्दै आएका उनी भाषा, संस्कृति, धर्म र परम्परा जगेर्नाका लागि सक्रिय   छन् । प्रवासमा आफ्नो धर्मप्रति सबैको लगाव छ । तर उनीहरुलाई हिन्दु संस्कृति र संस्कारका बारेमा जानकारी हुदैन । उनी न्वारन, पास्नी, ब्रतबन्ध विवाह, सुवर्ण कुमारसंग विवाह लगायतका संस्कार, त्यसको बिधि पनि सिकाउछन् ।

बृद्ध काया । फूलेका केश । शिथिल हुदै गएको शरीर । तर जोश उस्तै । काम गर्ने हुटहुटी उस्तै । जीवनमा उनले फुर्सद निकालेनन । फुर्सद र विदामा पनि काम गर्न छोडेनन् । निष्काम कर्म योगी । जसले फलको आशा गरेनन् । बस्, कर्म गरिरहे । धर्म र अध्यात्ममा लगाव भएका उनमा गीताको गहिरो प्रभाव छ । भगवानको कृष्णको वाणी सम्झिन्छन्, कर्म गर, फलको आशा नगर ।

उनी कर्ममा विश्वास गर्थे । न पदको घमण्ड । न पैसाको मोह । लो प्रोफाईलमा रहेर हाईप्रोफाईलको काम गरिरहे । ।

एटलान्टाको जर्जियामा उनी कमल पोखरी खोज्छन् ।  त्यो बाल्यकाल, त्यो मण्टेश्वरीको पढाई बिर्सेका छैनन  । दरवार हाईस्कुलको जलेवी, स्वारी, बम्बईसन (गुँदपाक) को स्वाद जिब्रोमा उस्तै छ । फर्किन मन छ, त्यही कमल पोखरीमा । उनी नोष्टाल्जिक हुन्छन् । रमाईला र रसिक उनी रेडियो नेपालमा उधुमसंग आफैले बजाएको हाम्रो तेञ्जिङ नोर्गे चढ्यो हिमाल चुचुरो गीत बेस्सरी याद आउछ । सम्झनामा अझै छ, सिन्धुपाल्चोकको ज्यामिरे र बीरे सार्की ।

हेर्न मन छ, ‘अनि देउराली रुन्छ’  नाटक । कुटाई खाएका बाल्यकालका सम्झनाहरु पनि कति मिठा हुन के ? उनी पीडा सम्झेर मुस्कुराउछन्, भित्रभित्रै ।

कमल पोखरीको बाटो २०२४ सालमा कालोपत्रे भएको सम्झना ताजै छ । निकै धुलो उड्थ्यो, त्यो सडकमा, उनी फर्किएर अतित सुनाउछन्, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु बिमानस्थलबाट त्यही धुलाम्ये बाटोमा विस्तारै गाडी गुडाएर शितल निवास गएका थिए ।

उनकी आमा स्कुल जान पाईनन । तर छोरा पढोस भन्ने चाहन्थिन् । उनलाई पढ्न उत्प्रेरित गरिरहिन । कतिसम्म भने, उनलाई पढाउन गहनासम्म बेचिन । उनी कसरी बिर्सिउन आमाको  प्रेम ? आमाको त्यही प्रेमले उनलाई तानिरहन्छ । र त, केही वर्ष विराएर पुग्छन्, काठमाण्डौं । जस्तो सुकै कठिन परिस्थितिमा उनी बिचलित हुदैनन् । १९९०, २०१८ र २०७२ को भूकम्प भोगेकी आमाबाटै उनमा बिचलित नहुने गुण सरेको हो ।

महात्मा गान्धीले भनेका छन्, सफलता तपाईको प्रयासमा निर्भर गर्छ, न कि नतिजामा ।

उनले जीवनमा एउटा असफलतापछि अर्को असफलता हात पारे । उनी दुःखी भएनन् । गलेनन । निराश भएनन । गान्धीले भने झै उनले प्रयास गर्न छोडेनन् । र त, उनी असफलताको चाङ पार गरेर सफलताको चुचुरोमा पुगे ।

 

2 thoughts on “सफलताको चाङमा उभिएका शौभाग्य

  1. Great! He is a good friend too among school mates. Love to read this long article about him.

    1. Thank you Murari for your complement. We never forget those golden moments that we have in our school. We were FUCHHE in the class….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस