अमेरिकाले यूएसएड अन्तर्गतका सबै अन्तर्राष्ट्रिय पद खारेज गर्ने, हजारौं कर्मचारीको बिचल्ली

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले आगामी सेप्टेम्बर महिनासम्ममा यूएसएड अन्तर्गत रहेका सबै अन्तर्राष्ट्रिय पदहरू खारेज गर्ने योजना बनाएको छ ।
द गार्डियन पत्रिकाले अमेरिकाको विदेश मन्त्रलायबाट यस विषयमा जारी परिपत्र मंगलवार सार्वजनिक गरेको थियो । गार्डियनका अनुसार, यूएसएड अन्तर्गत अमेरिकाबाहिर रहेका सबै कर्मचारीको पद खोसिनेछ । त्यसका साथै, यही जुन १५ बाट यूएसएडले गरिरहेको विदेशी सहायता कार्यक्रमको जिम्मेवारी विदेश मन्त्रालयले लिने जानकारी विदेशमन्त्री मार्को रुबियोले दिएका छन् ।
ट्रम्प प्रशासनको यस कदमले यूएसएडका हजारौं कर्मचारी निकालिने भएका छन् । १०० भन्दा बढी देशमा यूएसएडका ठेकेदार, विदेशी नियोगका अधिकारी र यूएसएडका कर्मचारीहरूको पद गुम्ने भएको हो ।
विभिन्न देशमा रहेका अमेरिकी दूतावासका चिफ अफ मिशनहरूलाई आगामी चार महिनाभित्र पदमा कटौतीका विषयमा तयार रहन भनिएको द गार्डियन पत्रिकाले लेखेको छ ।
ट्रम्प प्रशासनले पहिले नै यूएसएडको विदेश सहायता सम्झौतामध्ये लगभग ९० प्रतिशत कटौती गरिसकेको छ । लगभग १० हजार कर्मचारी रहेको यूएसएडमा मार्च महिनासम्ममा जम्मा २९४ जना कर्मचारी मात्र थिए ।
डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल चलाउन थालेदेखि नै यूएसएडविरुद्ध असहिष्णुता देखाइरहेका छन् । आफ्नो कार्यकालको पहिलो दिनमा नै उनले अन्तर्राष्ट्रिय विकास सहायतामा ९० दिनको रोक लगाएका थिए । यूएसएडमा भएका कमजोरी तथा अमेरिकाको विदेशनीतिसँग त्यसको संगति रहे नरहेको विषयमा मूल्यांकन गर्नका लागि उनले उक्त रोक लगाएका थिए ।
यूएसएडले वामपन्थी नीतिहरू अपनाइरहेको र अमेरिकाको विश्वव्यापी छवि उजिल्याउन योगदान नगरेको भन्दै ट्रम्पले लगातार आलोचना गर्दै आएका छन् ।