नेपालमा कोरोना बढेसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ । छिमेकमा कोरोना भाइरसको महामारी तीव्र रूपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीव्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता डा बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन् ।
पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडीटी परीक्षण गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भए पनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको डा बुढाथोकीले बताए ।
प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए ।
उनले भने, ‘हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो समयमा संक्रमण बढेपछि र केही मृत्युको घटना भइसकेपछि भारतमा भएको संक्रमण ढिलो वा छिटो १० दिन १५ दिनमा नेपालमा पनि आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं । र, पूर्व तयारीका क्रममा सबैभन्दा पहिलो कुरा भारतबाट नेपालमा संक्रमण नछिरोस् भनेर १७ वटा स्थल नाका र तीन वटा हवाई नाका त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत बनाएका छौं ।’
कोरोना उपचारमा स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव छैन
डा बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने बताए । आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेट भित्र काम शुरु गर्ने गरी तयारी अवस्थामा रहेको बताए । देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताए । कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको बताए ।
संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्नसक्ने गरी तयारी गरिएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरहरुलाई पनि एक्टिभेट गरिसकेका छौं । र निदानका लागि र मोनिटरिङका लागि देशभरिका ६ सय भन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्रबाट र प्रदेशले मनिटरिङ गरिरहेको छ । कुनै कारणवस संक्रमण फैलिइ हाल्यो भने त्यो संक्रमणलाई थप संक्रमण नफैलियोस्, थप धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखेका छौँ । साथै प्रत्येक वडामा भएका र्यापिड रेस्पोन्स टिमहरु, भोलि इमर्जेन्सी मेडिकल टिम मोबिलाइज गर्नुपर्यो भने पनि त्यसलाई तयारी अवस्थामा राखेका छौँ । तर सरकारको स्रोत, साधन, सरकारको पूर्वाधार हामी सबैलाई थाहा छ । ९० हजारदेखि एक लाखसम्म अस्पतालमा जाँदा त सरकारी संरचनाले र सरकारको पूर्वतयारीले थाम्छ । तर त्यसभन्दा माथि अस्पताल जानुप¥यो भने हामीसँग भएको शैया, जनशक्ति संरचना, पूर्वतयारी र सरसामानले थाम्न नसक्ने भएकाले हामीले आम मानिसलाई संक्रमण दर घटाइदिन जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस्, धेरै भीडभाड भएको क्षेत्रमा नगइदिनुस्, मास्क लगाएरमात्र हिँड्ने गरिदिनुस्, साबुन पानीले हात धुने गर्नुस्, प्रभावित क्षेत्रबाट आएका आफन्तलाई एक साता क्वारेन्टाइनमा राखेरमात्र घुलमिल गर्नुस् भनेका छौँ । त्यसमा आम नेपालीले शतर्कता अपनाइदिनुभयो भने हाम्रो पूर्वतयारीले कोभिडलाई परास्त गर्नसक्छौँ ।’
मनसुनी प्रकोप र कारोना संक्रमण बढे समस्या आउन सक्ने
नेपालमा मनसुजन्य रोगको संक्रमण हरेक वर्ष तीव्र रुपमा बढिरहेको छ । विगत केही वर्षयता मनसुनका समयमा झाडापखाला, श्वासप्रश्वास, टाइफाइड, हैजाजस्ता रोगको संक्रमण घातक रुपमा देखिएको छ । प्रवक्ता डा बुढाथोकीले मनसुनका समयमा देखिने पानीजन्य रोग र संक्रमण तथा कीटजन्य रोग र संक्रमण डेङ्गी, मलेरियाजस्ताको संक्रमण फैलने जोखिमलाई मध्यनजर गरेर पनि पूर्वतयारीको काम गरिरहेको बताए ।
मनसुनी प्रकोप र कारोना संक्रमणका बारेमा सचेत रहन आम नागरिक पनि अग्रसर हुनुपर्ने बताए । सरकार एक्लैको पहलले मात्र संक्रमण रोक्न सम्भव नभएकाले आम नेपाली नागरिक पनि सचेत र सक्रिय भएर सोहीअनुरुप सचेतना अपनाइदिन प्रवक्ता डा बुढाथोकीले आग्रह गरे । नागरिकले सचेतना पनि नअपनाउने र सरकारको आग्रह पनि नमान्ने हो भने सरकारसँग उपलब्ध सिमित श्रोत साधनले सबैको उपचार गर्नसक्ने अवस्था रहेको बताए ।
उनले भने, ‘मनसुनजन्य रोगहरु हुन्, चाहे पानी प्रदुषित भएर फैलने रोगहरु हुन्, चाहे खाल्डाखुल्डीमा पानी जमेर लामखुट्टे बढेर लामखुट्टेबाट उत्पन्न हुने डेङ्गी जस्ता रोगहरु हुन् । ती सबैलाई पनि एउटै स्वास्थ्य संस्था र पूर्वतयारीले सम्बोधन गर्नुपर्ने भएकाले आम नेपाली नागरिकले जनस्वास्थ्यका मापदण्ड, स्वास्थ्यमा सचेतना, खानेपानी शुद्ध र खानेकुरा बासी सढेगलेका नखाने, फास्टफुड नखाने, मद्यपान धुम्रपान नगर्ने, लागुपदार्थ सेवन नगर्नेजस्ता कुराहरु गरिदिनुभयो भने अहिले कोभिडले बढाएको चुनौति सँगसँगै हाम्रो मनसुन र मौसमले बढाउने चुनौतिलाई पनि न्युनिकरण गर्नसक्छौं ।’
स्वास्थ्य सामग्रीको अभावमा राहत उद्धार प्रभावित हुँदैन
विभिन्न प्रकोपको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग भर्चुअल र प्रत्यक्ष बैठकहरु गरिरहेको बताए । विपद्को पूर्वतयारी र राहत उद्धारको लागि आवश्यक सामग्रीको मौज्दातहरुमध्ये स्थानीय तहले कति किन्ने राख्ने। प्रदेशले कति किन्ने राख्ने र संघले कति किन्ने राख्नेबारे पनि टुंगो लागिसकेको बताए । विगतमा जस्तो सामग्रीको अभावमा काम नै रोकिने अवस्था नआउने बताए । कुन क्षेत्रमा, कहाँ कस्तो विकटता छ, त्यसको अध्ययन गर्न र त्यहाँ रहेका जनप्रतिनिधिकै संलग्नतामा ¥यापिड रेस्पोन्स टीमहरु गठन गरी देशभर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको बताए । साथै विपद्मा परेकाहरुको तत्काल उद्धार कार्यका लागि मन्त्रालयको हटलाइन नम्बर, हेलो स्वास्थ्यका नम्बरमा, प्रदेश स्तरका आकस्मिक सेवाका सम्पर्क नम्बर र स्थानीय तहका आकस्मिक सेवाका सम्पर्क नम्बरमा खबर गरेर सेवा लिन दिन सकिने बताए ।
उनले भने, ‘हामी कहाँ भौगोलिक रुपले हिमाल, पहाड र तराईका विविध कठिनाईहरु छन् । जसले गर्दा बाटो वा सवारी साधन अथवा अन्य केहीपनि उपलब्ध नहुनसक्ने वा बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसको पूर्वतयारीका लागि हामीले २५ वटा हव हस्पिटलमै इमर्जेन्सी लजिष्टिकका ट्यांकरहरु पनि राखेका छौं । त्यस्तै जिल्ला अस्पतालहरु र अन्य स्वास्थ्य संस्थाहरु निजी, सहकारी र सरकारी सबैलाई विपद्का लागि इमर्जेन्सी लजिष्टिकहरु पहिले नै भण्डारण गरेर राख्नुस् । त्यहाँका क्यान्टिनहरुलाई पनि कम्तिमा १५ दिन पुग्नेगरी भण्डारण गर्न लगाउनुस् भन्ने किसिमले तयारी गरेका छौं । हामीले त्यहीअनुसार मेचीदेखि महाकालीसम्मका सबै सेटेलाइट हस्पिटल र हव हस्पिटललाई पनि तयारी गरिसकेका छौं ।’
डा बुढाथोकीले अहिलेको मनसुनमा विगतको वर्षभन्दा धेरै गर्मी हुने र धेरै वर्षा हुने आँकलन आइरहेकोले त्यसैअनुसार काम गर्नसक्ने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । नेपालको पश्चिम—उत्तरका क्षेत्रहरुमा एकातिर जलवायु परिवर्तनका कारण अधिक वर्षा हिउँ पहिरो जाने जोखिम छ भने तराई क्षेत्रमा अत्यन्त गर्मी भएर हिट वेभ र हिट स्ट्रोकको जोखिम रहेकोले मन्त्रालयले अलग्गै रणनीति बनाएर काम गरिरहेको बताए ।
विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवले नयाँ रुपमा रेस्पोन्स गर्नलाई मातहतका निकायलाई निर्देशन दिइएको बताए । मनसुन सक्रिय रहेको सडक बाटो बिगार्ने अवरोध हुने अवसथालाई ध्यानमा राख्दै स्वास्थ्यको आकस्मिक सेवा राहत उद्धारको लागि बाटोबाट सम्भव भए बाटोबाट र सम्भव नभए हवाई मार्गको माध्यमबाट, नेपाली सेनाको सहयोगमा र विभिन्न निकायसँग सहकार्य गर्ने र गृह मन्त्रालयसँग पनि विपद्सँग सहकार्य गरेर हेलिकप्टरमार्फत पनि सेवा पुर्याउने गरी कार्यढाँचा तयार गरिएको उनले बताए ।