सार्वजनिकस्थलमा यौन हिंसा : विद्यालयमै सुरक्षित छैनन् बालिका

कैलाली : गत चैत ७ गते कैलालीकी एक सात वर्षीया बालिका विद्यालयमै बलात्कृत भइन्। सोही विद्यालयमा अध्ययनरत बालकबाट कक्षा कोठामै उनीमाथि बलात्कार भयो। विद्यालय छुट्टीपछि रगताम्य अवस्थामा घर पुगेकी उनलाई आमाले सोध्दा आफूमाथि आफ्नै स्कुलमा पढ्ने किशोरले जबरजस्ती गरेको बताइन्।
पीडित बालिकाकी आमाले विद्यालयका शिक्षक, व्यवस्थापन समिति र प्रहरीसम्म पुगेर न्यायको ढोका ढकढक्याइन । तर पीडक आफ्नै गाउँको भएको र आरोपितको भविष्य बिग्रने भन्दै विभिन्न प्रलोभनमा पारेर घटना गाउँमै मिलाउने प्रयास भयो।पछि विभिन्न सङ्घसंस्थाको पहलमा बालिकालाई सुरक्षित स्थानमा राखी न्यायिक प्रक्रिया अघि बढेको भए पनि न्याय पाउनेमा अन्यौलता नै छ ।
केही महिना अगाडि कैलालीकै अर्को विद्यालयमा शिक्षकद्वारा दुई छात्रामाथि गरिएको बलात्कार प्रयासको घटना बाहिर आयो। यो घटनामा पनि विद्यालय र अभिभावक बीचको छलफलपछि दुई पक्ष बीच मिलापत्र भयो। विद्यालय व्यवस्थापन समितिको विज्ञप्ति, आरोपित शिक्षकले दिएको स्पष्टीकरण र व्यवस्थापन समितिको पुनः स्पष्टीकरण सोधेको विज्ञप्ति स्थानीय संचारमाध्यममा आए पनि यो घटना अझै कानुनी प्रक्रियामा गएको छैन ।
यी दुई प्रतिनिधि घटनाले विद्यार्थीका लागि सबैभन्दा सुरक्षित स्थान हुनुपर्ने विद्यालय नै असुरक्षित बनेको देखिन्छ । विशेषगरी बालिकाका लागि यो अवस्था अझ चिन्ताजनक बनेको छ । शिक्षक जस्तो जिम्मेवार व्यक्तिबाटै यौन दुर्व्यवहार हुने अवस्था र विद्यालय परिसरमै यस्ता जघन्य अपराध हुँदा समेत न्यायिक प्रक्रिया अगाडि बढ्न नसक्नु अत्यन्त गम्भीर विषय भएको महिला अधिकारकर्मी गौरी चौधरी बताउँछिन् ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) को पछिल्लो तीन महिनाको तथ्यांकले कैलालीमा यौन दुर्व्यवहार र बलात्कारका घटना बढ्दै गएका देखाउँछ । समुदायमा घटेका बलात्कार जस्ता जघन्य अपराधका घटना प्रायः गुपचुप राखी गाउँमै मिलापत्र गरिएको देखिन्छ । त्यहाँ नमिलेका केही घटना प्रहरी समक्ष आइपुगे पनि विभिन्न तवरले दबाइने प्रवृत्ति छ ।
ओरेकको तथ्यांक अनुसार ०८१ माघदेखि चैतसम्म कैलालीमा ३४ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । तीमध्ये ३८ प्रतिशत १३ घटना यौन हिंसाका रहेका छन् । विशेषगरी यौन हिंसाका घटनामध्ये सबैभन्दा धेरै ५४ प्रतिशत (७ घटना) वैवाहिक बलात्कारका छन् । बलात्कारका ३, सामूहिक बलात्कारका २ र बलात्कार प्रयासको १ घटना भएको तथ्यांक छ । यहीँ अवधिमा घरेलु हिंसाका १४, सामाजिक हिंसाका ५ घटना भएका छन् भने २ जना महिलाको हत्या भएको छ ।
हिंसाबाट प्रभावितको उमेर समूह हेर्दा २५ देखि ३५ वर्षसम्मका महिला सबैभन्दा धेरै पीडित छन् । जसको संख्या २९ प्रतिशत छ । यस्तै १६ देखि २५ उमेर समूहका २६ प्रतिशत, ३५ देखि ४५ उमेर समूहका १६ प्रतिशत, ४५ वर्ष भन्दा माथिका १३ र १६ वर्षमुनिका हिंसा पीडित बालिकाको संख्या १६ प्रतिशत रहेको छ ।
यौन हिंसाका घटनापछि पीडितलाई न्याय दिनुपर्ने कानुनी प्रक्रिया अपनाउनुको साटो सामुदायमै मिलापत्रमार्फत टुङ्ग्याउने अभ्यास भइरहेको देखिन्छ । यस्तो प्रवृत्तिले बालिका र महिलाको आत्मबल, शिक्षा र सार्वजनिक जीवनको सक्रियतामा प्रत्यक्ष असर पार्ने ओरककी सुदूरपश्चिम प्रदेश संयोजक सपना थापा बताउँछिन् । पीडितलाई न्याय नपुग्दा भविष्यमा अझै धेरै महिला र बालिका हिंसाको चक्रमा पर्ने खतरा रहेको उनले बताइन् ।
लैङ्गिक हिंसालाई व्यक्तिगत घटना होइन, संरचनागत समस्या भनेर सम्बोधन नगरेसम्म दीर्घकालीन समाधान सम्भव नभएको अधिकारकर्मी गौरी चौधरी बताउँछिन् । पितृसत्तात्मक सोच, महिलामाथि नियन्त्रणको मानसिकता र कानुनी कमजोरी यस्ता समस्याका मुख्य जरा भएको चौधरीको तर्क छ । राज्य, समुदाय, विद्यालय र न्यायिक संयन्त्र सबैले मिलेर सुरक्षित, उत्तरदायी र बालिकामैत्री वातावरण बनाउनुपर्ने चौधरीको भनाइ छ ।
यौन शिक्षा प्रारम्भिक तहदेखि पाठ्यक्रममा समावेश गर्नुपर्ने, लैङ्गिक समानतामा आधारित शिक्षण पद्धति विकास गर्नु र प्रभावित मैत्री न्यायिक प्रक्रिया सुनिश्चित गरे मात्र महिला हिंसाका घटना रोकिने उनको बुझाइ छ । जिल्ला प्रहरी कैलालीका डीएसपी राजकुमार सिंह कतिपय घटना भने गाउँमै मिलाउने गरिएको पाइएकाले प्रहरीमा सबैको जानकारी नआउने बताउँछन् ।
सार्वजनिक स्थलमा हुने यौन हिंसा रोक्न प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । उनका अनुसार यस्ता घटनाबाट बच्नका लागि किशोर–किशोरी स्वयं सचेत रहन आवश्यक छ । प्रहरी समक्ष आउने उजुरी मात्रै प्रहरीको पहुँचमा पर्ने भएकाले धेरैजसो घटना बाहिर नआएको हुन सक्ने उनले बताए ।