पेम्बाको उडान

द एभरेष्ट पोष्ट
२४ जेठ २०८२ १८:३४
पेम्बाको उडान

दीर्घराज उपाध्याय,कोलोराडो । 

सन् १९९१ नेपालबाट अमेरिका उड्दै गर्दा पेम्बा शेर्पाको खल्तीमा थियो, दुई सय डलर । साथमा थिए, दुई थान सुकटेश, एउटा स्लिपिङ व्याग र केही थान सपना ।

यो तीन दशकमा उनले प्राप्त गरेको व्यवसायीक सफलता लोभ लाग्दो छ । सामाजिक क्षेत्रमा उनले गरेको योगदान प्रशंनीय छ ।

मान्छे कुन भूगोलमा जन्मियो त्यसले अर्थ राख्दैन । अर्थ राख्छ, उसले आफ्नो जीवन कति सार्थक बनायो ? र, सफलता त्यो होईन, उसले कति अर्थोपार्जन ग¥यो ? उसको सफलताले कतिको जीवनमा परिवर्तन ल्यायो ? त्यो महत्वपूर्ण कुरा हो । तिनै सफल व्यक्ति मध्येका हुन्, पेम्बा शेर्पा ।

सोलुखुम्बुको बिकट गाउँ स्याङ्मा । जहाँ थिएन, शिक्षाको उज्यालो । जसलाई छोएको थिएन, विकासले । टुकी र झरोमा बाँचेको जिन्दगी । चौरी गोठमा पिल्सिएका सपना । जन्मिनु अनि मर्नु, त्यही नियती ।

लुक्ला पारी स्याङ्मा । बीचमा सुसेलीदै बग्ने दुधकोशी । पेम्बा शेर्पा त्यही जन्मिए । जन्मिएको मिति कसले कसले याद गरोस ? जन्मदिन मनाउने भए पो ? पेम्बालाई यति थाह छ, उनी सन् १९७१ मा जन्मिए । त्यसबाहेक न तीथि थाह छ । न बार । एकबारको जुनीमा शेर्पाले देख्ने सपना र हिड्ने बाटो सिमित थियो । चौरी गोठ र घर । त्यही संसार थियो ।

पासाङ शेर्पा र छोक्पाका पाँच सन्तान थिए । चार छोरा र एक छोरीमा उनी काहिला थिए । पासाङका २०/२५ चौरी थिए । आलु, फापर, उवा र गहूँ बाँच्ने आधार थियो ।

स्याङ्मा गाउँमा विद्यालय थिएन् । तीन घण्टा टाढा चौरी खर्क पढ्न जानु पथ्र्यो । स्कुल जान अक्षर चिन्ने भन्दा पनि हिड्न सक्ने हुनुपथ्र्यो । उनी हिड्न सक्ने भए । दैनिक छ घण्टा ओहोरदोहोर गरेर स्कुल जान थाले । चार कक्षापछि उनले पढाईलाई बीट मारे । हिमाल चढ्न आउने पर्यटक देखेर टे«किङमा लागे । भरियाको काम शुरु गरे । जीवनमा पहिलो पटक पर्यटकको भारी बोके । ३० किलो भारीको ६० रुपैया देखे । यतिधेरै रुपैया उनले त्यसअघि कहिल्यै देखेका थिएनन् ।

आर्थिक अभाव । पढाउनु पर्छ भन्ने चेतको कमि । जतिधेरै छोरा । त्यति धेरै परिवारको आयस्रोत । अलि बुझ्ने भएपछि छोरा हिमाल उक्लिने, पर्यटकसंगै । भरिया । पथ प्रदर्शक । अनि आरोही । परिवारलाई सगरमाथा आरोहण गरेको खुशीभन्दा उसले कमाएर ल्याउने पैसा महत्व राख्थ्यो । उनी पनि अलि बुझ्ने भएपछि पढाई छोडेर हिडे, हिमालको बाटो ।

उनी पर्यटकसंगै पहिलो पटक काठमाण्डौं पुगे । पोखरा गए । ओहो ! अग्ला भवन । बिजुली । चिल्ला सडक । जीवनमा साईकल नदेखेका । जीप, कार र बसदेखेपछि उनी दंग परे । उनी पर्यटकको संगतले फाट्फुट अंग्रेजी बोल्न थाले । विदेशी भाषा अलिअलि बुझ्न थाले ।

टे«किङमा उनको अमेरिकनसंग दोस्ती भयो । तिनै दोस्तले स्पोन्सर गरे । उनी १९ का थिए । १९९१ मा अमेरिका पुगे । उनी त्यतिबेलासम्म राम्रो गाईड भईसकेका थिए । अंग्रेजी पनि बोल्न थालिसकेका थिए ।

उनले अमेरिकाको पहिलो पटक टेकेको शहर थियो, सनफ्रान्सिसको । चार हप्ता त्यहाँ बसे । र, हिडे कोलोराडो ।

त्यसपछि शुरु भयो, उनको संघर्षपूर्ण जीवन । बाँच्नका लागि उनले गाडी धोए । फूलवारीमा काम गरे । रिटेलको काम गरे । चिनजानेका कोही थिएनन । न टेलिफोन, न ईन्टरनेट । न अहिलेको जस्तो नेपालीको सञ्जाल ।

रेष्टुरेण्टमा भाडा माझ्न थाले । उनले सोचे, यसरी जीवन चल्दैन । उनले अंग्रेजी कक्षा ज्वाईन गरे । जनरल एजुकेशन डिग्री(जिईड) पढे । भाडा माझ्दै गर्दा भित्तामा टासेका नोटहरु पढ्थे । रातभरी कोठामा पढ्थे । उनलाई अझै सम्झना छ, कतिपय रात पढ्दा पढ्दै उज्यालो भएको । चराहरुले चिरबिर गर्न थाल्थे । अनि उनी सुत्थे ।

पानीसंग पाउरोटी खाएर काम गरे । कति दिन भरीपेट खान पाएनन् । घरको यादले सताउथे । भोक बुझ्ने कोही थिएन । सञ्चो बिसञ्चो सोध्ने कोही थिएन । आमाको हातको खाना सम्झिन्थे । भो, घर फर्किन्छु, उनी सोच्थे, यसरी पनि के बाँच्नु ?

मानसिक रुपमा कमजोर र हताश हुदै गएका उनले आफूलाई सम्हाले । मनलाई दरो बनाए । रातदिन नभनी खटे । पढाईसंगै कामलाई निरन्तरता दिए । विद्यालयकोे पढाई सके । थप पढ्ने ईच्छाले मेट्रो स्टेट युनिभर्सिटीमा भर्ना भए । त्यहीबाट स्नातकको पढाई सके । कोलोराडोका ठूला टे«किङ र टुर कम्पनीसंग मिलेर काम गरे । पछि आफ्नै कम्पनी शेर्पा एसेण्ट ईण्टरनेशनल खोले ।

नेपालमा अमेरिकन पर्यटकहरु लैजाने थाले । शुरुवाती वर्षमै दुई सयभन्दा बढि अमेरिकी पर्यटक नेपालमा लगे । त्यो संख्या वर्षेनी बढ्दै गयो । उनले ताञ्जनियामा अफिस विस्तार गरे । त्यसअघि काठमाण्डौंमा खोली सकेका थिए । वर्षदिनमा उनी दुई पटक ताञ्जनिया पुग्थे । अफ्रिका, पाकिस्तान, भुटान, थाईल्याण्ड, नेपालमा पनि उनी पर्यटकहरु लिएर जान्थे । युरोपीयन पर्यटकहरु पनि उनको कम्पनीसंग जोडिए ।

कुनै दिन काठमाण्डौंका लागि उडेको थाई एयरको एउटा जहाजमा ९० प्रतिशत यात्रु उनका थिए । नेपालमा माओवादीको युद्ध प्रभाव बढ्दै गयो । माओवादीको निशानामा अमेरिकन नागरिक पर्न थाले । भन्छन्, माओवादी द्वन्द्वका कारण नेपालको पर्यटन ध्वस्त भयो । काठमाण्डौंको अफिस बन्द गर्नुप¥यो । सयौ कर्मचारी बेरोजगार भए ।

उनको ६० प्रतिशत व्यापार नेपालमै हुन्थ्यो । एक वर्षमा चार पटक सम्म पर्यटक लिएर नेपाल पुग्थे । काठमाण्डौ झरेपछि उनी पर्यटक लिएर सोलु पुग्थे । स्थिति यस्तो आयो कि पर्यटकको संख्या शुन्य भयो ।  उनले यस्तो अवस्था आउला भनेर कल्पना पनि गरेका थिएनन ।

यता सेप्टेम्बर ११ को घट्नापछि अमेरिकी पर्यटकहरु असुरक्षाका कारण बाहिर जाने क्रममा ह्वात्तै घट्यो । त्यसपछि भने पर्यटन व्यवसाय उठ्नै नसक्ने गरी थला प¥यो ।

कहिलेकाही एउटा असफलताले सफलताका अन्य थुपै्र बाटाहरु खोलिदिन्छ । पर्यटन व्यवसाय ओरालो लागिरहदा उनले रियल स्टेटमा हात हाले । त्यसैबीच थुप्रै ठाउँमा घर र जग्गामा लगानी गरे । केही समयपछि घर र जग्गाको मूल्य आकाशियो । एउटै घरको मूल्य १० मिलियनसम्म पुग्यो । उनी रातारात अर्वपति भए । कोलोराडोको सबैभन्दा महंगो मानिने बोल्डरमा उनका १२ वटा घर छन् ।

त्यसैबीच २००१ मा उनले बोल्डरमा शेर्पा एडभेञ्चर एण्ड रेष्टुरेण्ट खोले । स्वादिला परिकारका कारण शेर्पा रेष्टुरेष्ट छोटो समयमै बोल्डरमा ग्राहकको पहिलो रोजाईमा प¥यो । शेर्पा खाना देखि विभिन्न देशका परिकार खान साँझपख रेष्टुरेण्टमा उद्युम भीड लाग्छ ।

रेष्टुरेण्टमा १५ जनालाई रोजगारी पाएका छन् । पेम्बाले सञ्चालन गरेका सवै व्यवसायमा ४० जनाभन्दा बढि नेपाली कर्मचारी कार्यरत छन् ।

उनले जीवनमा अभाव झेले । व्यवसायमा आरोह अवरोह बेहोरे । तर परिस्थिति जस्तो सुकै प्रतिकूल भएपनि उनले सपना देख्न छोडेनन । मिहिनेत गर्न छोडेनन । कठिन घडीमा उभिन नसक्ने संसारकै ठूलो जीव डाईनोसर त लोप भयो । उनले आफूलाई उभ्याईरहे ।

उनी फर्केर नेपालमै व्यापार गर्न चाहन्थे । तीन/चार जहाज लिएर हवाई सेवा शुरु गर्ने उनको सपना थियो । उनले एभियसन स्कुल ज्वाईन गरे । र, २००६ मा जोर्नी एभिएसन स्कुलबाट कमर्सियल फ्लाईटको कोर्ष गरे । नेपालको राजनैतिक अवस्था बिग्रिएपछि उनी निराश भए । र, त्यो सोच  त्यागे ।

२००८ मा उनले चार सीट क्षमता भएको जहाज (पाईपर एरो) किने । उनी जहाज आफै उडाउछन् । उनी आफ्नो जहाजमा ग्वाटेमाला सम्म पुगेका छन् ।

‘यो मन त मेरो नेपाली हो’ 

जहाँ रहेपनि पेम्बाको मनमा अझै स्याङ्मा छ । उनी बाल्यकालमा काठे साँघु तरेर दुधकोशी स्याङ्मा– लुक्ला ओहोरदोहोर गर्थे । बर्खामा भेलले साँघु बगाएर लग्थ्यो । पानी नघटेसम्म आवातजावत बन्द हुन्थ्यो । उनले त्यो पीडा भोगेका थिए । अमेरिकाको पहिलो कमाईबाट जोडेको २० हजार डलरले उनले सन १९९६ मा दुधकोशीमा झोलुंगे पुल बनाए ।

भूकम्पले गाउँमा क्षति पुगेको सुने । उनको मन थामिएन । उनी राहत सामग्री र नगद लिएर अमेरिकाबाट पुगे जन्म थलो । पीडामा उनीहरुलाई मल्हम लगाए, भन्छन्, यो मन त मेरो नेपाली हो ।  भुकम्पपछि ७० हजार डलरको राहत सामग्री बोकेर गाउँ पुगे । एक करोड १० हजार त नगद बाडे । कुनै परिवारले पाँच लाखसम्म नगद पाए । भूकम्पले भत्केको विद्यालयको पुनर्निमाणमा सहयोग गरे । अमेरिकामा पैसा त अरु नेपालीले पनि कमाएका छन् । तर आफ्नो देश र जन्मथलोलाई माया गर्ने विरलै छन् । देशलाई पीडा हुदा जसको मन आहत हुन्छ । उनको मन्त्र छ, खान पुगोस । दिन पुगोस । र, त गरीव विपन्नलाई समस्यामा सहयोग गर्न हरदम तत्पर रहन्छन् । परदेशमा भएपनि मनमा जसको देश छ । जसको मुटुभरी छ, देश प्रेम । उनी छन्, यस्तै ।

उनको गाउँ स्याङ्मामा टुकी र झरोमा निर्भर थियो । उनले ५५ हजार डलर खर्चेर जलविद्युत आयोजना निर्माण गरे । र, गाउँ झिलिमिली बनाए ।

उनी संसारभरी शेर्पा समुदायलाई चिनाउने अभियानमा छन् । उनले ‘ब्रिजिङ वल्र्डस्’ नाम दिईएको आफ्नो बायोग्राफीमा शेर्पा समुदायको हिमालसंगको सम्बन्ध र शेर्पाहरुको ईतिहास उजागर गरेका छन् । अमेरिकाका २२०० पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकका रुपमा छानिएको उनको पुस्तकले द ईरिक हफर अवार्ड र कोलोराडो बुक अवार्ड हात पारेको छ । उनको पुस्तकको आगामि प्रकाशन बेलायतको चर्चित पेगाश पब्लिकेसन्सले प्रकाशन गर्ने घोषणा गरेको छ ।

अमेरिका फैलिएको शेर्पा चायको कथा

पेम्वा व्यवसायीक कामले प्लेनमा यात्रा गरिरहन्थे । प्लेनमा वाल स्ट्रिट दिईन्थ्यो । उनी त्यो अद्योपान्त पढ्थे । एक यात्राका क्रममा उनले स्टार बक्सका मालिकको कथा पढे । उनी प्रभावित भए । उनको दिमागमा पनि एउटा आईडिया फु¥यो । उनले सोचे, पाहुनालाई स्वागतमा चिया दिने नेपालीको संस्कार छ । त्यही चिया बेचेर विदेशी अर्वपती भएका छन् । त्यो काम मैले किन   नगर्ने ?

उनी आफ्नो रेष्टुरेण्टको भान्छाभित्र पसे । उनले चिया बनाएर हेरे । त्यसको स्वाद चाखे । चिया त सधै खान्थे । आमाले दिने चियाको कपबाट उनको हरेक बिहानी शुरु हुन्थ्यो । उनले चियामाथि प्रयोग गरेको दिन थियो । त्यसैदिन उनले निधो गरे– आफूले खाने चिया संसारलाई बेच्छु ।

चियाको बजारको अध्ययन गरे । चिया उद्योग खोल्नका लाईसेन्स चाहिने । लाईसेन्सका लागि त्यही विषयमा अध्ययन गरेको हुनुपर्ने । उनले दुई जना अमेरिकनलाई पढ्न पठाए । त्यसपछि उनले चियाको नाम जुराए–शेर्पा चाय । र, खोले उद्योग ।

पहिलो उत्पादन दुई वटा कफि पसलमा पठाए । राम्रो रेस्पोन्स पाए । उनले थप पसलहरुमा शेर्पा चाय राखे । सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाए । उनी उत्साही भए ।

पहिलो वर्षमा शेर्पा चियाको कारोवार सामान्य रह्यो । दोस्रो वर्ष नै चियामा शेर्पा चियाले ६७,००० डलरको कारोवार ग¥यो । गतवर्ष २.७ मिलियन कारोवार गरेको शेर्पा चियाको कारोवार यस वर्ष ४ मिलियन डलर नाघ्ने अनुमान छ । अर्को वर्ष छ मिलियन र त्यसपछि उत्पादन बृद्धिसंगै कारोवार पनि जम्प हुने शेर्पाको विश्वास छ । केही वर्षभित्र शेर्पा चियाको वार्षिक कारोवार ५० मिलियनको पु¥याउने उनको लक्ष्य छ । केही मिलियन डलरबाट शुरु गरेको शेर्पा चिया उद्योगको भ्यालु हाल ४० मिलियन पुगेको छ ।

हाल दैनिक छ सय ग्यालेन चिया उत्पादन हुने गरेको छ । केही समयमै तीन गुणा बढि (१८०० ग्यालेन) उत्पादन गर्ने गरी उद्योगको क्षमता बृद्धि गरिदैछ । एउटा फ्लेवरबाट शुरु गरेको शेर्पा चियाका यतिबेला सात वटा फ्लेवर बजारमा उपलब्ध छन् ।

होर्लपुलका ५० वटा राज्यका ५१५ वटा स्टोरमा शेर्पा चिया बिक्री भईरहेको छ । त्यस्तै क्रोगरका अमेरिकाभरी २७०० स्टोर छन् । जसमध्ये दुई सय बढि स्टोरमा शेर्पा चिया उपलब्ध छ । त्योसंगै अमेरिकाका झण्डै तीन हजार स्टोरमा शेर्पा चिया पाईन्छ । अवको एक वर्षमा अमेरिकाका १० हजार स्टोरमा पु¥याउने उनको लक्ष्य छ ।

एक दशकअघि बोल्डरस्थित शेर्पा रेष्टुरेण्टमा ताप्केमा तताएर शुरु गरिएको शेर्पा चियाको उत्पादन उद्योग हाल लुईस भेलको ७२०० फिटमा फैलिएको छ ।

गोविन्द कोईरालाले शेर्पा चाय उद्योगको उत्पादन प्रमुख हुन् । नेपालमा पेम्बा शेर्पाको ट्रेकिङ अफिसमा काम गर्ने उनी त्यहाँको अफिस बन्द भएपछि दुई दशकअघि अमेरिका आएका हुन् । अमेरिकामा आएपछि शेर्पा रेष्टुरेण्टमा काम गर्दै आएका कोईरालाले शेर्पा चिया सञ्चालनकै लागि रेष्टुरेण्टको जागीर छोडेर माईक्रो वायोलोजी पढे । र, उनैले शेर्पा चियाको नेतृत्व सम्हाले ।

यसअघि अमेरिकामा तीन जना नेपालीले कुकुरको खाना बनाउने कम्पनी हिमालयन डक्च्यु चलाएका थिए । नेपालीहरुले चलाएको यो नै सबैभन्दा ठूलो उद्योग मानिन्थ्यो । पछिल्लो समय चिया अमेरिकाको सबैभन्दा ठूलो बजार ओगट्ने उत्पादनमा दरिएको छ ।

उनी प्रत्येक महिना ३० हजार डलरको नेपाली चिया पत्ती किन्छन् । फिदिमबाट हरेक दुई महिनामा दुई सय बोरा चियापत्ती नेपालबाट लुईसभेल आईपुग्छ । अन्य चिया भन्दा नेपाली चिया महंगो छ । उनी चाहन्छन्, नेपालीका हातमा परोस । त्यसैले उनी महंगो भएपनि नेपाली चिया नै किन्ने गरेको बताउछन् ।

उनको सम्पूर्ण कम्पनीको नेटवर्थ अमेरिकामा एक प्रतिशत भित्र हुन आउछ । अमेरिकामा ५० मिलियनभन्दा माथिको नेटवर्थ एक प्रतिशत भित्र पर्छ ।

उनको प्रगती लोभलाग्दो छ । उनको सफलताले नेपालीलाई मात्र नभएर सबैलाई प्रेरित गर्छ । उनलाई हेरेर सपना देख्छन्, नेपालीहरु । उनको संघर्ष र सफलताले भन्छ, मान्छे कुन भूगोलमा जन्मियो त्यसले अर्थ राख्दैन । सफलताका लागि संघर्ष र अथक मिहिनेत आवश्यक छ ।

समुदाय, जात र बर्गमा नेपालीहरुको अल्झिएको उनको बुझाई छ । भन्छन्, जवसम्म मान्छेहरु त्यो सोचबाट बाहिर निस्किन सक्दैनन । तव सम्म न केही सिक्न सक्छन् । न प्रगती गर्छन् ।

One thought on “पेम्बाको उडान

  1. Thanks for sharing this amazing story with me and this amazing story make me very inspired thank you 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस