१२ देशमाथि अमेरिकाले लगायो यात्रा प्रतिबन्ध

द एभरेष्ट पोष्ट
२३ जेठ २०८२ १३:५८
१२ देशमाथि अमेरिकाले लगायो यात्रा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । सुरक्षा खतरा औल्याउँदै अमेरिकाले १२ देशका नागरिकमाथि पूर्ण र ७ देशमाथि आंशिक यात्रा प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ घोषणापत्रमा हस्ताक्षर गर्दै ‘वाह्य आतंकवादी’ र अन्य खतरालाई मध्यनजर गर्दै यात्रा प्रतिबन्धको घोषणा गरिएको भनेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । सुरक्षासम्बन्धी खतराबाट अमेरिकालाई जोगाउन आवश्यक परेकाले यस्तो कदम चालिएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआतसँगै कडाइ गरिएको आप्रवासन नीतिअन्तर्गत १२ मुलुकका नागरिकमाथि यात्रा प्रतिबन्धको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि ट्रम्प प्रशासनको आदेशमा सयौं भेनेजुएली आप्रवासीलाई आतंकवादी गिरोहको सदस्य भएको आशंकामा एल साल्भाडोर लखेटिएको थियो । नयाँ घोषणाअनुसार केही विदेशी विद्यार्थीहरुलाई पनि अमेरिका प्रवेशमा रोक लगाउने र कतिपयलाई उनीहरुकै मुलुक फिर्ता पठाइएको छ ।

यी हुन् यात्रा प्रतिबन्ध लागेका देशहरु

राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । यी देशका नागरिकलाई आउँदो जुन ९ तारिखसम्म अमेरिका प्रवेशमा निषेध गरिएको छ ।

यी बाहेक ७ मुलुकका नागरिकमाथि भने अमेरिकाले आंशिक प्रतिबन्ध घोषणा गरेको छ । आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

सामाजिक संजाल एक्समा पोस्ट गरिएको एक भिडियोमा राष्ट्रप्रति ट्रम्पले भनेका छन्, ‘हामी त्यस्ता मानिसहरूलाई हाम्रो देशमा प्रवेश गर्न दिन्नौं जो हामीलाई हानि पुर्‍याउने उद्देश्य राख्छन् ।’ साथै उनले यो सूचीमा फेरबदल हुन सक्ने संकेत समेत गरेका छन् ।

तर, अमेरिकी अद्यागमनले जुन ९ भन्दा अगाडि जारी भएका भिसा रद्द नगरिने जनाएको रोयटर्सले लेखेको छ ।

पूर्ववर्ती नीति र वर्तमान बहस

ट्रम्पको अघिल्लो कार्यकाल अर्थात् सन् २०१८ मा मुस्लिम बहुल सात देशका नागरिकमाथि यस्तै यात्रा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पको उक्त आदेशलाई अमेरिकी सर्वोच्च अदालतले समेत सदर गरिदिएको थियो ।

तर, सन् २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथिको प्रतिबन्ध हटाएका थिए । ट्रम्पले जारी गरेको प्रतिबन्धलाई बाइडेनले ‘राष्ट्रिय विवेकमाथिको धब्बा’को संज्ञा दिएका थिए । ट्रम्प प्रशासनले यात्रा प्रतिबन्ध घोषणा गर्नुमा मुख्य यी तीन कारणलाई आधार बनाएको छ ।

जसमा यी १२ मुलुकमाथि आतंकवादी गतिविधिको व्यापक उपस्थिति, भिसा सुरक्षा सम्बन्धी सहयोगको कमी र आगन्तुकहरूको पहिचान तथा आपराधिक इतिहास प्रमाणित गर्न असमर्थता भन्दै आशंका जनाइएको छ । यद्यपी अझै पनि भिसा समयावधि सकिएपश्चात पनि अमेरिकामै बसिरहने दर अत्यधिक रहेको ट्रम्प प्रशासनको दाबी छ ।

कोलोराडोको घटनाको दृष्टान्त दिँदै ट्रम्प

यात्रा प्रतिबन्धको औचित्य पुष्टि गर्न कोलोराडोको बौल्डरमा हालै भएको एक घटनालाई ट्रम्पले उदाहरणको रुपमा प्रस्तुत गरेका थिए । कोलोराडोमा इजिप्टका एक नागरिकले प्रदर्शन भइरहेका बेला भीडमा पेट्रोल बम प्रहार गरेका थिए ।

अनुसन्धानका क्रममा ती व्यक्ति भिसा सकिएर अमेरिकामै लुकेर बसेको तथ्य खुलेको थियो । तर, ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्ध सूचिमा इजिप्ट भने समावेश छैन ।
प्रतिबन्ध घोषणापछि भेनेजुएलाका आन्तरिक मन्त्री डियोसदादो काबेलोले अमेरिकालाई ‘फासिस्ट शासन’ भन्दै आलोचना गरेका छन् ।

उनले भेनेजुएलाली नागरिकहरूलाई अमेरिकामा बस्नु जोखिमपूर्ण भन्दै चेतावनी दिएका छन् । सोमालियाले पनि अमेरिकी प्रतिबन्धको प्रतिक्रिया दिँदै समन्वय गर्ने बताएको छ ।

अमेरिकास्थित सोमाली राजदूत दाहिर हसन अब्दिले भने, ‘सोमालियाले अमेरिकासँगको दीर्घकालीन सम्बन्धलाई महत्व दिन्छ र उठाइएका चासोहरू समाधानका लागि संवाद गर्न तयार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस