जिम्मेवार प्रतिपक्षका रूपमा संसद गतिरोध अन्त्य गर्ने प्रयास गर्छौं : माओवादी

द एभरेष्ट पोष्ट
२३ जेठ २०८२ १२:१७
जिम्मेवार प्रतिपक्षका रूपमा संसद गतिरोध अन्त्य गर्ने प्रयास गर्छौं : माओवादी

काठ्माण्डौँ- नेकपा माओवादी केन्द्रले संसदको अवरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको पदाधिकारी बैठकले संसद गतिरोधको समाधान खोज्न सिर्जनात्मक र रचनात्मक ढंगले अघि बढ्ने निष्कर्ष निकालेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि भने, ‘हामी जिम्मेवार प्रतिपक्षका रूपमा समाधान निकाल्न पूर्ण रूपमा प्रतिबद्ध छौं। त्यसका लागि हामी सिर्जनात्मक र रचनात्मक रूपमा प्रस्तुत हुनेछौं।’ हाल गृहमन्त्री रमेश लेखकसमेत संलग्न भएको भनिएको भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै माओवादी केन्द्रसहितका विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। संसदको अवरोध कायमै रहेकाले बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।

प्रवक्ता सापकोटाका अनुसार, भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ भन्ने माग नै उनीहरूको प्रमुख एजेन्डा हो। ‘छानबिनको वातावरण कसरी तयार हुन्छ भन्ने कुरामा सरकारको भूमिका महत्वपूर्ण हुन्छ, त्यसकै आधारमा हामी पनि अघि बढ्नेछौं,’ उनले भने।

सरकार र अन्य विपक्षी दलहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै सापकोटाले थपे, ‘हाम्रो ध्यान कुनै व्यक्तिविशेषमाथि होइन, मुख्य कुरा छानबिन हो। सदनको अवरोध हटाएर छलफलको सकारात्मक वातावरण बनाउन आवश्यक छ।’

भिजिट भिसा प्रकरण गम्भीर र संवेदनशील विषय भएको भन्दै उनले संसद र बाहिर दुबै तहमा आवश्यक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औंल्याए। ‘छानबिन र छलफलका लागि सकारात्मक वातावरण बनाउन आजको बैठकमा सहमति जुटेको छ,’ उनले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस